क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

डा. नवराज सुब्बा

नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर सुन्न हामी नेपाली बाध्य हुनुपरेको छ । अब यसको जिम्मेवारी क–कसले लिने हो ? उक्त प्रतिवेदन अनुसार वर्षेनी क्षयरोगीको मृत्युदर बढ्दो छ र मृत्यु संख्या हजारौका दरले उर्लंदो छ । केन्द्रले प्रदेश वा स्थानीय तहलाई दोष दिने अनि स्थानीय वा प्रदेशले केन्द्रलाई अपजस दिएर मात्र अब पुग्दैन । स्वास्थ्यकर्मीले नेतालाई अनि नेताले स्वास्थ्यकर्मीलाई दोष देखाएर पुग्दैन । राजनीतिक प्रणाली वा व्यवस्थालाई दोष दिएर पनि यसरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । संघियताको मर्म अनुरुप स्थानीय जनताको सेवा प्रदायक तह गाउँ वा नगरपालिकाले हो, यसले यसमा चिन्ता तथा जिम्मेवारी लिने कि नलिने? लिने भए कहिले लिने? कसरी लिने? यो सवाल आज जनस्वास्थ्य क्षेत्रमा गम्भीरतापूर्वक उठेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पनि बढेको छ ।

फगिङ मेसिन भोट मेसिन नबनोस्

डा. नवराज सुब्बा

लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २ थानका दरले वितरण भएको देखेर यो पङतिकार अचम्ममा परेको छ । हिजो आफू जिल्ला जनस्वास्थ्य कार्यालयमा रहँदाको एउटा अनुभव बाँड्न खोज्दैछु । उसबेला मोरङमा जम्मा २ थान फगिङ मेसिन थिए । त्यसले पूर्वाञ्चलका तराई जिल्ला मात्र हैन धनुषासम्मलाई धान्दथ्यो । चितौनमा भएको डेंगु महामारीमा समेत मोरङले फगिङ मेशिन र प्राविधिक सहयोग दिएको थियो । गाउँ–गाउँमा औलो प्रभावित क्षेत्रमा विषादी छिट्काउलाई लामखुट्टे मार्ने अभियान सम्झने र बुझ्नेहरुले विभिन्न दलका नेताहरु मार्फत यता पनि उता पनि छिट्काउ गरिदिनोस् भन्दथे, कहिले आएर लामखुट्टेले धेरै दुःख दियो यहाँ आएर धुँवा उडाइदेऊ भन्दथे । तर विरामीको तथ्यांक, विषादी छिट्काउ र फगिङको फायदा, वेफाइदा, निर्देशिका र मापदण्ड सम्झाइबुझाइ गरेर चित्त बुझाउन उसबेला हामीलाई हम्मेहम्मे पर्दथ्यो । चित्त बुझाएजस्तो गरे पनि कतिपयद्वारा काम नगरिदिएको वा आलटाल गरेको आदि आक्षेप पनि लगाएन्थ्यो । विराटनगर महानगरपालिकामा पनि उसबेला फगिङको उत्तिकै जनदवाव आउँथ्यो । नगरपालिका व्यवस्थापनले पनि धेरै दवावको सामना गर्नुपर्दथ्यो र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सहयोगमा एकाध फगिङ गर्ने गर्दथ्यो । आज अचम्म छ, विराटनगर महानगरपालिकाले पाएका ६ मेसिन विभिन्न ६ वडामा भागबण्डा गरेको समाचारले बुझिन्छ । यति सानो नगरक्षेत्रमा भोली आवश्यक पर्दा जुनसुकै वडामा पनि मेसिन प्रयोग केन्द्र वा पालिकाबाटै गर्न सकिन्थ्यो । यसबाट थाहा हुन्छ कि राजनीतिक भागवण्डाको नेपाली संस्कार अब जनस्वास्थ्य कार्यक्रममा पनि अभ्यास हुन थालेका छन् । जेहोस्, अब त सबैका हातमा पर्याप्त मेसिन पुगेका छन् । यसैले फगिङ, मेसिन र यसका काम, असर तथा संभावित जोखिमबारे केही जानकारी बाँड्ने जमर्को गर्दैछु, ताकि भोलिको दिनमा फगिङ मेशिन भोट मेसिन नबनोस् ।