संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् ।

जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै माध्यमहरू खोज्यो र सुन्दर कलाको जन्म भयो । गुफामा भेटिएका ओढारभित्र कुँदिएका चित्रहरू ढुँगेयुगका मानवीय संवेदनाका कलात्मक अभिव्यक्ति हुन् । उनीहरूले माटोमा, पातमा, बोटको फेदमा पनि आफ्ना भावनालाई कोरे वा लेखे होलान् । आफ्ना चिन्ह पछिसम्म अरूहरूले पनि हेरून् भनेर नै सायद कडा ढुङ्गाको भित्तामा चित्र कुँदे होलान् जो स्वाभाविक मानवीय आकांक्षा पनि हो ।

मेरो निजी अनुभूति र विचार

गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा
यस्तो विज्ञापन बज्न थाल्यो जसलाई परिवारमा बसेर सुन्न वा हेर्न नमिल्ने भो भनेर पत्रपत्रिकामा प्रतिक्रिया आयो । गणतन्त्र आएपछि एउटा यस्तै गीत सुपरहिट भएको छ जसलाई मैले पनि पचाउन सकिराखेको छैन र गीत आउनासाथ रेडियो बन्द गर्न बाद्य भएको छु । कुनै तन्त्र र यो प्रवृत्तिबीच कुनै सम्बन्ध त छैन, केवल कालखण्ड देखाउनमात्र उल्लेख गरें ।

रिक्सावाला

  • नवराज सुब्बा

अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।

खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ ।

नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

बलबहादुरको कथा

यतिञ्जेल
बलेले आफ्नो अनुहार
राम्ररी नियाल्नै भ्याएको छैन
एकदिन नागरिकता बनाउँदा
फोटो खिच्ने बेलामा एकछिन
आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो
अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि
फाँटवालाले दिएको नागरिकतामा
आफ्नो फोटो सरकारी छापसितै
नारिएको देखेर मुस्कुरायो
उपरान्त उसले हाँसेको देखिएन
विचराले हाँसोस् पनि कतिबेला
भारीले सधैं थिचेको चिच्यै छ
साहुको रिनले किचेको किच्यै छ
यही झोंकमा कहिलेकाही बले
गोरुलाई चुट्नु चुट्छ र पछि
पछुताउँदै सुम्सुम्याउँछ