धन्यवादको माला ! (नवराज सुब्बा)
त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले भाईे रहेछन् अर्थात् ताप्लेजुङ हाङपाङ निवासी जो मेची क्याम्पस भद्रपुरमा एम.ए. नेपाली दोस्रो वर्षा पढ्दै रहेछन् । मैले जागिरको क्रममा आफ्नो गाउँ छाड्दा उनी बालखै थिए, यसैले उनले आफ्नो बूबाको नाम लिए पछि मात्र मैले उनलाई चिने चूडामणि बराइली भनेर ।