Manko Majheri
मनको मझेरी- निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर ।
Book Download
यस निबन्धसंग्रहभित्र जम्मा २० वटा निबन्ध संग्रहित छन् ।
१ नयाँ नेपालको चित्र
२ तस्वीरमा पोखिएका कविताहरू
३ श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई
४ आमाका रूपहरू
५ तरकारी बेच्ने महिला
६ हाक्पारे सङ्गीत
७ गीतसङ्गीत भित्र देश र जीवन खोज्दै
८ जन्तरेसरको टक्करी ट्वाक
९ ती एक जोडी परेवा
१० धन्यबाद धराबासी
११ जदौ दाहाल यज्ञनिधि
१२ साहित्यकार इमान्दार हुन्छ
१३ स्रष्टाप्रति समाजको अपेक्षा
१४ टेलिफोन र थुतुनो
१५ पशुप्रति मानव सम्वेदनशीलता
१६ पुस्तकालय
१७ बैंकक शहरमा कोइलीको स्वर
१८ भेगाइको अनुभूति र प्राप्ति
१९ सम्झनाको तरेलीमा प्रधानबा
२० तालु ।
माथिका निबन्धहरू मध्ये पाठकद्वारा रुचाइएको एउटा निबन्ध नमूनास्वरुप प्रस्तुत छ ।
श्रद्धाञ्जली एउटी लिम्बूनीलाई
– नवराज सुब्बा
ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै ।
एउटी साइलीबूढी वा लिम्बूनीबूढी थिएन् ताप्लेजुङ हाङपाङ हाइस्कुलको खेलमैदानै मुन्तिर । त्यसबेला म उनलाई श्रद्धा भन्दा पनि डरपूर्वक साइलीबजू भन्दथें । उनी हामीजस्ता स्कुले विद्यार्थीका खलनायिका बनेर सधै विद्यार्थीलाई पीडा दिने गर्दथिन् । खेल्दाखेल्दै भकुण्डो मैदानबाट तल उनको बारीमा खस्यो भने हाम्रो मुटु ढुक्ढुक् हुनेगर्दथ्यो । बुझनुपर्दथ्यो साइलीबजूको हसियाले अब भकुण्डो प्वाल पर्यो । कि त बुझनुपर्दथ्यो बूढीले टिपेर घरमा लगेर लुकाइन् । भकुण्डो माग्न गए चल्ला हुर्काउने पोथी कुखुरीले कसैलाई खेदाए झैं हातमा हसिया उझयाउदै विद्यार्थीलाई गुटुटु लखेट्थिन् । त्यसबेला विद्यार्थीको भागाभाग हुनेगर्दथ्यो । यस्तै त्रासबीच पनि हामी प्रायः दिनहु फुटबल खेल्नेगर्दथ्यौं । हाम्रो विद्यालयका दुइटा खेलमैदान थिए । एउटा ठूलो र अर्को सानो मैदान । ठूलो मैदानमा हामी केटाकेटीले त्यत्ति खेल्नै नपाइने । त्यसैले सानो मैदानमा गएर खेल्नुपर्दथ्यो जहाँबाट भकुण्डो सिधै बूढीको बारीमा खस्ने गर्दथ्यो । उसबेला लाग्दथ्यो ती महिला कत्ति शक्तिशाली कत्ति निर्दयी कत्ति छुच्ची तर आज त्यसवेलाकी त्यस्ती क्रूर ब्यक्तिको पीडा, मनोविज्ञान म बल्ल बुझदैछु । बुझनखोज्दैछु वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नु पर्दोरहेछ । फूलमा पलाएका काढाको अर्थ पनि बुझ्दैछु र श्रद्घाञ्जलि स्वरुप केही शब्द कोर्दैछु ।