मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा

विषय–प्रवेश
मधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)।

अध्ययनको औचित्य
माथिको परिभाषाले के साँच्चै स्थान नामाकरणका आधार समातेको छ त ? मधेशको हिन्दू देवता जनाउने शब्दार्थ मानिसको नामको रुपमा प्रयोग भएको देखिन्छ । सामान्यतयाः मधेश शब्दले भूगोललाई चिनाउँने हुँदा मध्यप्रदेश (हिमालयपर्वत र विन्ध्यपर्वत बीच) भनेर इङ्गित गर्ने गर्दछ । यी दुई पर्वतबीच पर्ने विशाल भूभागलाई मधेश (मध्यप्रदेश) भनेर चिनाएको छ । दुई पर्वतबीचको समथर भूभाग आज नेपालमा केवल २०–२५ किलोमीटर चौडाइ रहेको तर भारतमा हजारौं किलोमीटर भूभाग पर्दछ । परिभाषाले नेपाल र भारत मध्ये कुन क्षेत्रको भूभाग भनेर नभनेकाले विन्ध्यसम्मको समथर भूभाग सबै मधेश मान्नुपर्ने हुन्छ । तर भारतीय प्राचीन साहित्य र प्रचलनमा विन्ध्यपर्वत उत्तरी समथर भारतीय भूभागमा कतै मधेश शब्दको प्रयोग देखिदैन । यो परिभाषाले मानिसलाई गाउँखाने कथाले झैं अल्मल्याइदिएको छ । जसको अर्थ स्वयम् कथाकारलाई मात्र थाहा हुन्छ वा उसले मात्र ब्याख्या गरिदिन सक्छ । तर देशको भूगोलको परिभाषा गरिंदा यसरी अल्मलिने ब्याख्या गराइले सधैं मानिसको जिज्ञाशा शान्त हुँदैन ।

तर्क–वितर्क
माथि प्रज्ञा प्रतिष्ठानको परिभाषा गराइले पहाडलाई परिभाषा गर्नुपरेमा हिमालय पर्वत, बिन्ध्याचलपर्वत, कुरु र प्रयागबीच पर्ने उबडखाबड परेको अग्लोहोचो नदीनाला भएको मध्यप्रदेश भन्ने बाटो खुल्ला गरेको छ । यो परिभाषाले वास्तविक पहाडको परिभाषा दिन सक्दैन । किनभने पहाडभित्र धेरै पहाड छन् जसले स्थानीय बोली र विशेषता बोकेर उभेका हुन्छन् ।

मानिसको नाम, कुनै स्थानको नाम स्थानीय बोली, घटना, विशेषता आदिबाट व्युत्पन्न हुने गर्दछन् । अर्थात् कुनै स्थानको नामपछि नाता खोज्दै जाँदा स्थानीय जातीयता, स्थानको विशेषता, आदिवासी भाषा, संस्कृति आदिको गन्ध आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशाले गरेको परिभाषामा न आदिवासी जातीयताको गन्ध छ, न प्राचीनताको मौलिक नाता छ, न त स्थानलाई एकिन गरी देखाइएको नै छ । यो परिभाषा गोलमटोल उत्तर जस्तो, कुनै कुटनीतिक जवाफ जस्तो मात्र छ । जसरी विराट राजाको नामबाट विराटनगर रह्यो, मावाराङको नामबाट मोरङ रह्यो, जसरी रंगोली अपभ्रंश भएर रंगेली भयो, म्हेच्छबाट मेच, मेचे, मेची भयो उसैगरी भोट–बर्मेली भाषा को (जसको अर्थ नदी) ध्वनिबाट तिब्बतमा मूल भएको नदीको नाम कोशी रहन गयो (Pande,1986) जसलाई पछि संस्कृति साहित्यले कौशिक ऋषिसित जोडे पनि आदिवासी, स्थानीयताको नाता जेठो मानिन्छ । यसरी मधेश क्षेत्रमा रहेका विभिन्न स्थानको नामाकरण त्यहाँका आदिवासी भाषा, संस्कृति र पहिचानबाट निःसृत हुने अनि सिङ्गो भूभाग जनाउन धार्मिक महिमायुक्त दूरका दुई उच्च हिमाल उभ्याउनु भनेको टाठाबाठाले सोझासाझालाई अल्मल्याए झैं दुनियाँ अल्मल्याउने काम हो जसलाई अब सच्याउन जरुरी छ ।

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा

ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ ।

फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो पुस्ता पञ्चनन्द) को भनाइमा साँबाहरु वि.स. १८०० सालतिर आफ्नो थूम ताप्लेजुङ मेवाखोला साँबा छाडेर एक समूह हाङपाङ आएका हुन् । त्यो साँबा समूह सोवुवाखोलाको चुँङ्वा दोभानदेखि उँभो हाल हाङपाङको मध्य भूभागको जङ्गल फँडानी गरेर चारकिल्ला बाँधेर बसे । त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘खुर्पेठ्याक’ भनियो । उसबेला हाङपाङ गाउँको तल्लो भाग बिसमुरे जग्गामा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिंङ्सोबामा सुनेबा थरका लिम्बू बसोबास गर्दथे । हाङपाङमा आएर फयङहाङ साँबा त्यसबेला खुर्पेठ्याकमा मात्र हैन बिजिल्ले अर्थात् अर्कैको थूममा आएर बसेका लिम्बू जाति भए । साधनस्रोतलाई लिएर त्यहाँ पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूसित संभवतः साँबा लिम्बूको तनाव उत्पन्न भयो होला । साँबाहरुले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बनाउन खोजेर ल्याए (टेकबहादुर लिम्बू, २०७५) ।

हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा

भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु ।

ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी एक रोचक घटना इतिहासकार इमानसिंह चेमजोङले विजयपुरको किरातकालीन संक्षिप्त इतिहासमा बताउनु भएको छ । किराती राजा कामदत्त सेन (वि.स.१८१८–१८२६) को कार्यकालमा लिम्बूवानका एक आपुंगी राजा सेनवंशी सेच्छेने योङहाङ सुब्बाले याङवारोक थूमको हस्तपुर गढीमा चढाइ गरे । त्यहाँका शासन गर्ने आङबोहाङ सुब्बा मुहाङगेपलाई पराजित गरेर उक्त गढीमा योङहाङले दखल जमाए । त्यहाँबाट आङबोहाङ विस्थापित भइ कोही थेचम्बूमा आएर बसे, त्यहाँ उनीहरुलाई मेयङ्बो वंश भनिन्छ । कोही आठराई थूमको चाँगेमा आङबोहाङ वंश भएर बसे ।

सेनवंशी आपुंगी राजा सेच्छेने योङहाङ सुब्बाले लडाईमा आङबोहाङ मुहाङगेप राजालाई मारिदिएपछि उनका दुई नाबालक छोरा लाहाङ र हाङसामको विचल्ली भयो । त्यसबेला विजयपुरमा कामदत्त सेनकी रानी थाङसामाको माइति आङबोहाङ वंशका थिए । टुहुरा भदैहरुले दुःख पाएको खबर चाल पाएपछि उनले ती दुईलाई विजयपुर दरवारमा झिकाइन् र संरक्षण गरिन् ।

किन फालिए तम्बरखोलामा जनैका ढाकर

  • डा. नवराज सुब्बा

आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका उत्खननमा शिवको चिन्ह पशु, त्रिशूल आदिको प्रयोग भएको प्रमाण फेला परेको छ (शास्त्री, वि.स. २०६४) । कालान्तरमा भगवान शिवको जीवन-दर्शन र अन्तरनिहित शक्ति देखेरअसुरदेव वा किरातेश्वरलाई हिन्दूधर्मले अघोरी मान्दामान्दै पनि हिन्दूका आराध्य त्रि-देव मध्ये एक मानेको छ । यही शिवलाई किरातले थेबासाम, पारुहाङ, किरातेश्वर आदि नामले पूज्ने गरेको पाइन्छ । यद्यपि आर्यले किरातका लिम्बूका थेबासाम, पारुहाङलाई किरातेश्वर महादेव भनेर मान्यता दिएता पनि किरात लिम्बू आफूलाई हिन्दू मान्न चाहँदैन । आदिवासी किरातका पशुपति लगायतका देवस्थल र देवी-देवतालाई आर्यले हिन्दूकरण गरिदिए पनि किरात लिम्बू आफूलाई हिन्दू वा आर्य मान्दैन (थुलुङ, वि.स. २०४२) । उवाहाङले किरात ऋग्वेदको प्रचार गरे (चेमजोङ, वि.स. २०५९ ) । किरात दशैंमा मासु खान्छ, मीठोमसिनो खान्छ, लुगाफाटा फेर्छ, भेटघाट गर्छ तर पनि हिन्दूले झैं रातो टीका लगाएर गौरव गर्दैनन्, सवाल विचारणीय छ ।

यो आलेखको उद्देश्य पौराणिक तथा ऐतिहासिक तथ्यहरुको आधारमा आर्य सभ्यता र संस्कृतिले किरात लिम्बू संस्कृतिको सामाजिक आर्थिक क्षेत्रमा एवम् यस जातिको मनोविज्ञानमा के कस्तो प्रभाव कहिले कसरी पर्न गयो भन्ने अध्ययन हो । हिन्दू धर्मको एक पवित्र चिन्ह जनैको अवमूल्यन गर्ने वा अनास्था पैदा गर्ने वा कुनै धर्मावलम्बीको धार्मिक, साँस्कृतिक मूल्य र मान्यतालाई चोट पुर्याउने अभिप्राय होइन । यो एक विशुद्ध प्राज्ञिक र वौद्धिक मूल्य र मान्यतामा आधारित रहेर लेख्ने अभ्यास वा प्रयास मात्र हो । विभिन्न विद्वानहरुका ग्रन्थहरुलाई यसमा आधार मानिएको छ ।