| |

मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा

विषय–प्रवेश
मधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)।

अध्ययनको औचित्य
माथिको परिभाषाले के साँच्चै स्थान नामाकरणका आधार समातेको छ त ? मधेशको हिन्दू देवता जनाउने शब्दार्थ मानिसको नामको रुपमा प्रयोग भएको देखिन्छ । सामान्यतयाः मधेश शब्दले भूगोललाई चिनाउँने हुँदा मध्यप्रदेश (हिमालयपर्वत र विन्ध्यपर्वत बीच) भनेर इङ्गित गर्ने गर्दछ । यी दुई पर्वतबीच पर्ने विशाल भूभागलाई मधेश (मध्यप्रदेश) भनेर चिनाएको छ । दुई पर्वतबीचको समथर भूभाग आज नेपालमा केवल २०–२५ किलोमीटर चौडाइ रहेको तर भारतमा हजारौं किलोमीटर भूभाग पर्दछ । परिभाषाले नेपाल र भारत मध्ये कुन क्षेत्रको भूभाग भनेर नभनेकाले विन्ध्यसम्मको समथर भूभाग सबै मधेश मान्नुपर्ने हुन्छ । तर भारतीय प्राचीन साहित्य र प्रचलनमा विन्ध्यपर्वत उत्तरी समथर भारतीय भूभागमा कतै मधेश शब्दको प्रयोग देखिदैन । यो परिभाषाले मानिसलाई गाउँखाने कथाले झैं अल्मल्याइदिएको छ । जसको अर्थ स्वयम् कथाकारलाई मात्र थाहा हुन्छ वा उसले मात्र ब्याख्या गरिदिन सक्छ । तर देशको भूगोलको परिभाषा गरिंदा यसरी अल्मलिने ब्याख्या गराइले सधैं मानिसको जिज्ञाशा शान्त हुँदैन ।

तर्क–वितर्क
माथि प्रज्ञा प्रतिष्ठानको परिभाषा गराइले पहाडलाई परिभाषा गर्नुपरेमा हिमालय पर्वत, बिन्ध्याचलपर्वत, कुरु र प्रयागबीच पर्ने उबडखाबड परेको अग्लोहोचो नदीनाला भएको मध्यप्रदेश भन्ने बाटो खुल्ला गरेको छ । यो परिभाषाले वास्तविक पहाडको परिभाषा दिन सक्दैन । किनभने पहाडभित्र धेरै पहाड छन् जसले स्थानीय बोली र विशेषता बोकेर उभेका हुन्छन् ।

मानिसको नाम, कुनै स्थानको नाम स्थानीय बोली, घटना, विशेषता आदिबाट व्युत्पन्न हुने गर्दछन् । अर्थात् कुनै स्थानको नामपछि नाता खोज्दै जाँदा स्थानीय जातीयता, स्थानको विशेषता, आदिवासी भाषा, संस्कृति आदिको गन्ध आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशाले गरेको परिभाषामा न आदिवासी जातीयताको गन्ध छ, न प्राचीनताको मौलिक नाता छ, न त स्थानलाई एकिन गरी देखाइएको नै छ । यो परिभाषा गोलमटोल उत्तर जस्तो, कुनै कुटनीतिक जवाफ जस्तो मात्र छ । जसरी विराट राजाको नामबाट विराटनगर रह्यो, मावाराङको नामबाट मोरङ रह्यो, जसरी रंगोली अपभ्रंश भएर रंगेली भयो, म्हेच्छबाट मेच, मेचे, मेची भयो उसैगरी भोट–बर्मेली भाषा को (जसको अर्थ नदी) ध्वनिबाट तिब्बतमा मूल भएको नदीको नाम कोशी रहन गयो (Pande,1986) जसलाई पछि संस्कृति साहित्यले कौशिक ऋषिसित जोडे पनि आदिवासी, स्थानीयताको नाता जेठो मानिन्छ । यसरी मधेश क्षेत्रमा रहेका विभिन्न स्थानको नामाकरण त्यहाँका आदिवासी भाषा, संस्कृति र पहिचानबाट निःसृत हुने अनि सिङ्गो भूभाग जनाउन धार्मिक महिमायुक्त दूरका दुई उच्च हिमाल उभ्याउनु भनेको टाठाबाठाले सोझासाझालाई अल्मल्याए झैं दुनियाँ अल्मल्याउने काम हो जसलाई अब सच्याउन जरुरी छ ।

स्थानीय स्थल नामाकरणमा स्थानीय जनजीब्रो, विशेषता, घटना आदि गाँसिएको हुनेगर्दछ भन्नेमा दुईमत नहोला । यो विश्वव्यापी मान्यता पनि हो । यो मान्यता विपरित मधेशको परिभाषा बुन्न बाह्र हातको टाँगो बनाए झैं गरी स्थानभन्दा दूररहेका दुई हिमाल दुई तीर्थस्थल खोज्नु पर्ने अवस्था किन आयो ? यो पक्कै हिमालय पर्वत र विन्ध्याचल पर्वतको महिमाबाट प्रभावित कुनै साहित्यकारले वस्तुगत अध्ययन नगरी कोठामा बसेर हिन्दू धर्मशास्त्रको आड़मा टेबलमा नक्सा हेरेर कोरिएको परिभाषा हो भन्न संकोच मान्नु पर्दैन । यो परिभाषा सूर्यविक्रम ज्ञवाली प्रधान सम्पादक रहेको समितिले २०४० सालमा नेपाली शब्दकोशमा प्रकाशित परिभाषा हो जसलाई आजसम्म प्रज्ञाप्रतिष्ठानले निरन्तरता दिएको देखिन्छ । 

हिमालय र बिन्ध्याचल पर्वत कृतिम खडा गरिएको
आजकल राजनीतिक एवम् बौद्धिक जगतमा मधेस शब्दलाई संस्कृत शब्दकोश तथा नेपाली शब्दकोशको आधारमा मध्य प्रदेशको योग मधेस भनी ब्याख्या गरिएको छ । हिमालय र बिन्ध्याचल पर्वत श्रृङ्खला र कुरु, प्रयागको मध्य भागमा पर्ने देश मधेश नामाकरण गरिएको हो भनी आश्वस्त पार्न खोजिएको छ ।

बिन्ध्याचल पर्वत भारतको करिव मध्यभागमा पर्दछ । इतिहासमा विन्ध्याचल र हिमालय पर्वत श्रृङ्खलाबीच अनेक प्रदेश वा राज्य थिए जो आज पनि असंख्य उल्लेख्य स्थान बनेका छन् । वैदिक कालदेखि बेलायती शासनकालसम्म भारतमा करिव ५६५ राज्यहरु अस्तित्वमा थिए । बिन्ध्याचल पर्वत र हिमालय पर्वतबीच पर्ने भूभागमा महाभारतकालीन मत्स्य देश विराट (विरथ), कोशीबराह, चतरा, बौद्धकालीन शकराज्य, किरातकालीन काठमाडौं उपत्यका नेपालको नाम उल्लेख्य रुपमा आउँछन् तर मध्य–प्रदेशको उल्लेख पाइन्न । यति मात्र नभएर भारतमा पनि हिमालय र बिन्ध्याचल पर्वतबीच अनेक राज्य थिए तर इतिहासमा ती कुनै क्षेत्र मध्यप्रदेश, मधेश भनिएनन् । आखिर नेपालको तराई क्षेत्र मात्र मधेश (मध्यप्रदेश) नामले किन चिनियो ? तराई भनेर नेपालको मधेशलाई किन चिनियो ? यी सवालको जवाफ खोतल्न केही तथ्य र तर्कको सहारा लिनु पर्ने हुन्छ ।

हिमालय र बिन्ध्याचल पर्वतका बीचमा अरु पनि धेरै विशाल मैदानी भूभाग नेपाल भन्दा भारतमा बढी छन् । यी दुई पर्वतबीच हजारौं किलोमीटरको समथर मैदानी भूभाग छन् तर नेपालभित्रको करिव २०–२५ किलोमीटरको पेटी (जो चारदशकअघि जंगलले ढाकेको थियो) लाई मात्र मधेश (मध्यप्रदेश) भनिएको छ । प्रज्ञा प्रतिष्ठानको शब्दकोशको परिभाषा अनुसार त भारततिरका हजारौं किलोमीटर समथर भूभागलाई पनि मधेश (मध्यप्रदेश) भन्ने पर्ने हो तर त्यहाँ किन कुनै भूभाग मधेस नामाकरण भएनन्? चारदशक अघि प्रायः जंगलै जंगलले ढाकेको भूभाग औलो नियन्त्रणपछि करिव तीनचार दशक यता जंगल फाँडेर द्रुत गतिमा छोटो अवधिमा विहार, उत्तरप्रदेश लगायत भारत तथा नेपालको पहाड, हिमालबाट झरेर घना आवादी बनेको तराई (मदेश) क्षेत्रलाई मध्य (बीचको) देश मध्य–प्रदेश मान्नु पर्ने कुनै तथ्य र प्रमाण भेटिन्दैन ।

भारतको मध्य–प्रदेश र नेपालको मध्य–प्रदेश अमिल्दा बिम्ब
भारतको मध्य भागमा पर्ने मध्य प्रदेश विन्ध्याचल पर्वत श्रृङ्खलाभन्दा केही दक्षिणतर्फ पर्दछ । भारतको राजनीतिक इतिहासमा मध्य प्रदेशको नामाकरण र स्थापना भारत स्वतंन्त्र भएपछि सन् १९५६ मा भएको थियो । भारतको राज्य पुनर्गठन विधान (The States Re-organisation Act of India, 1956) अनुसार मध्य भारत, विन्ध्या प्रदेश र भोपाल मिलाएर मध्य–प्रदेश गठन गरिएको थियो ।

भारतको मध्य प्रदेश भारतको नक्सामा मध्यभागमा परेको एक प्रदेश भएकाले नाम मध्य प्रदेश राखिनु स्वभाविक छ । तर यता नेपालको मधेश (मध्यप्रदेश) न इतिहासमा मध्य भागमा थियो न हाल नेपालको मध्य भागमा नै पर्छ कसरी मध्यप्रदेश हुन गयो ? यसैले यो मधेशको परिभाषामा मध्यप्रदेश आधारहीन छ केवल धार्मिक महिमाबाट प्रभावित भावनामा आधारित छ ।

भारतको मध्यप्रदेशसित नेपालको मधेसको नाता स्थापित हुने खालको कुनै राजनीतिक र सांस्कृतिक परिघटना जनाउने ऐतिहासिक तथ्य र आँकडा भेटिन्दैन । यसैले मधेश संज्ञा व्युत्पत्तिमा भारतको मध्य प्रदेशको पनि हात छैन । हात छ त केवल संस्कृत र नेपाली शब्दकोशको, हात छ त धार्मिक महिमा, भावना र कल्पनाले थिचिएर लेख्ने कलमको ।

आदिवासीलाई मन नपर्ने शब्द हो मधेश
आदिवासी थारु, धिमाल, सतार आफूलाई मधेशी मान्दैनन् । उनीहरुको दृष्टिमा यो क्षेत्रमा पछिबाट विहार, उत्तरप्रदेश, भारतबाट छिरेका मानिस हाल नेपालको तराई जिल्लामा बहुसंख्यक भए । उनीहरु नै आफूलाई मधेशीको रुपमा उभ्याउँछन् भन्ने मधेशमा बसोबास गर्ने आदिवासीको भनाइ छ । यसरी उक्त स्थानका आदिवासीले नचिनेको, मन नपराएको शब्द मधेश थोपर्ने काममा राज्यसत्ता पनि लागिपरेको देखिन्छ ।

हाल मधेश भनिएको क्षेत्रका कोशी पूर्व आदिवासी धिमाल, मेचे, कोचे, सतार, उँराव र कोशी पश्चिममा थारु, दनुवार, अहिर आदि हुन् । प्राचीनकालमा मिथिला, मत्स्य, बंग राज्यको अस्तित्वपछि त्यहाँ मेचे, कोच राज्य तथा पश्चिम तराईमा थारु राज्य रहेको इतिहासले बताउँछ । पछिल्लो ऐतिहासिक तथ्य अनुसार थारु बहुल तराई भारतीय बेलायती सत्ताले केही समय ओगटेर पछि नेपाललाई फिर्ता दिएको ऐतिहासिक प्रमाण बोल्छ । यी क्षेत्रमा औलो नियन्त्रण भएपछि भारत र नेपालको पहाडी क्षेत्रबाट अतिक्रमण भएर घना वस्ति भएको देख्ने हाम्रै पुस्ता साक्षी छँदैछ ।

तराई शब्द आदिवासी थारुसित सम्बन्धित
नेपालको दक्षिण पाटालाई किन तराई भनियो त्यो पनि बुझ्न जरुरी छ । कोशी पश्चिम थारु बहुल क्षेत्र हो । यो तराई शब्द थारु भाषाको ‘तर्’ (अर्थ तल्लो भूभाग) बाट बनेको हुनसक्ने बलियो संभावना छ । तराई शब्द प्राचीन शब्द नभएकोले भारतमा बेलायती शासनकालमा हिमालय नेपालको तल्लो भूभागमा बस्ने समूहलाई थारु भाषाको ‘तर्’ (तल्लो भेक) र अंग्रेजी ‘इयन’ (निवासी) योगले ‘तरयन’ अपभ्रंश भइ तराई भएको हुनसक्छ । आज एकथरी मानिस तराईको अर्थ, व्युत्पत्ति खोज्दै भारतको तिरहुतलाई जोड्ने निरर्थक प्रयास गर्ने गर्छन् । यद्यपि तराई नामाकरणमा वा व्युत्पत्तिमा यहाँकै आदिवासी थारु भाषा र संस्कृतिको प्रभावलाई नै विश्वसनीय आधार मान्नु पर्दछ ।

जोकोहीले सामान्य ढंगले गुगल सर्च गर्दा तराई भनेको उत्तर विहार तथा नेपालको दक्षिणी पाटो हो भन्ने देखाउँछ । यो क्षेत्र किरात रक्तगत अनन्या थारु बहुल आदिवासी क्षेत्र हो । यसर्थ तराई शब्द सोही क्षेत्रमा बसोबास गर्ने थारु समुदायको जनबोली र अंग्रेजी (भारतीय) अतिक्रमण र प्रभावले बनेको शब्द हो । यो भाषा विज्ञानका सिद्धान्त अनुरुप पनि छ । अर्को, नेपालको थारु बहुल तथा समीप तराई क्षेत्रलाई बेलायती शासनले केही समय ओगटेको थियो जुन पछि नेपाललाई फिर्ता गरियो (Regmi, 1969)। त्यही बेलायती शासन कालमा थारु शब्द र अंग्रेजी शब्दको संसर्गबाट तराई शब्द बिनिर्माण भएको हुनसक्छ ।

प्राचीन ग्रन्थमा मत्स्य देशको उपस्थिति
विभिन्न संस्कृत श्रोतको आधारमा संस्कृतिविद खतिवडाले बताउनु भए अनुसार प्राचीन मिथिला राज्यमा राजा जनक (शिरध्वज) को अवसानपछि मिथिला बंग र मत्स्य राज्यमा विभाजित भयो । कोशी पूर्वको भाग मत्स्यदेश नामले स्वतन्त्र राज्य उदय भयो (Khatiwada, 2013)। प्राचीन संस्कृत साहित्यले हिमालय र बिन्ध्याचलको बीचको भूभागलाई कतै पनि मधेश नामले पुकारेको छैन । संस्कृतिविद् सोमप्रसाद खतिवडा अनुसार ऐतिहासिक रुपमा कोशी क्षेत्रलाई प्राचीन कालदेखि किरात प्रदेश नामले प्रख्यात थियो । यसको पूर्वीभाग लिम्बूवान र पश्चिमीभाग खम्बूवान नामले र कोशी नदीलाई संस्कृतमा कौशिकीगंगा नामले चिनिन्छ । कोशीक्षेत्र बराहक्षेत्र, कोकोहा क्षेत्र, चतरा नामले प्राचीन कालदेखि प्रख्यात थियो । संस्कृत साहित्यले सप्तकोशी क्षेत्रको चर्चा गरेको छ तर कतै पनि मधेश नाम उल्लेख छैन । हिमालय पुराण अनुसार पार्वतीको पसिनाबाट सप्तकोशी उत्पत्ति भएको आख्यानले समेत यो क्षेत्र महादेव शिव तथा किरात वंश सम्बन्धित भएको संकेत गर्दछ । सप्तकोशी गंगामा मिसिने स्थानलाई कुरुशिला भनिन्छ भनी चिनियाँ यात्री व्हेन–साँङ्गले समेत उल्लेख गरेका छन् ।

इतिहासकार इमानसिं चेमजोङले मत्स्यदेशका राजा विरथ (विराट) किरात–असुर वंशसित गाँस्नु भएको छ । भारतको उत्तर विहारलाई मत्स्य देश भनिन्थ्यो भनी इतिहासकार इमानसिं चेमजोङले पनि किरात इतिहास र संस्कृति पुस्तकमा बताउनु भएको छ (Chemjong, 2003a)। उहाँका अनुसार महाभारत कालमा यही मत्स्यदेशमा किरात राजा विरथ (विराट) राजको उदय भयो । पाँच पाण्डव वनवास बस्दा उनै विराट राजाको दरवारमा शरण लिएको कथा महाभारत महाकाव्यमा पाइन्छ । महाभारतमा मत्स्य राजा विराट नामले उल्लेख गरिएको पाइन्छ । यसरी रामायणकाल, महाभारतकालमा यो कोशी क्षेत्र मत्स्यदेश नामले प्रख्यात भएको पुष्टि हुन्छ ।

प्राचीन मत्स्य वंश अघि मेसोपोटेमिया बेबिलोनमा रहँदा शैव धर्म मान्दथे । यिनीहरु आर्य भन्दा अघि सिन्ध घाँटी सभ्यता हुँदै भारतवर्षमा पसेका थिए (Thulung, 1985) । उनीहरुको एक समूह उत्तरी बिहार अर्थात् नेपालको कोशी तराई भूभागमा मत्स्यदेश स्थापना गर्दा यिनीहरु शैव धर्म नै अवलम्बन गरेको हुनसक्छ । किनभने शैव धर्मलाई पछि सनातन धर्ममा समावेश गरी आर्यले पनि मान्न थालेका हुन् (Danielou, Alain & Gabin, Jean-Louis, 2003) । महाभारतमा शिवको आराधना गरिएको हिसाबले पाँचपाण्डव शिवलाई मान्दथे भन्ने बुझिन्छ । मत्स्यदेशका मत्स्यराज विराट पनि शिव मान्ने हुँदा समधर्मी भएको नाताले पाण्डव मत्स्य राजदरवारमा गुप्तवास माग्न पुगे होलान् भनी सहज अनुमान गर्न सकिन्छ । मत्स्यको शैव धर्मको प्रभावले त्यसबेला मदेश र मधेशमा त्यत्रो विवाद भएन होला । तर मधेशलाई शब्दकोशमा जुन ढंगले चारकिल्ला देखाएर बीचको सानो पाटोलाई मध्य प्रदेश भनेर इङ्गित गरियो त्यो चित्तबुझ्दो छैन । मधेशलाई मदेश वा मधेश मै सीमित राख्यौ भने यसले मत्स्यदेश र उनीहरुको कुलगुरु शिव (देवता) जनाउने मधेश अर्थमा प्राचीन तथ्य अनुकूल व्याख्या गर्न सकिन्छ तर मधेशलाई मध्य प्रदेश भनेर अर्थ लगाउन कदापि सकिन्दैन ।

मत्स्यदेशको रक्तगत अनन्या ऐतिहासिक किरातभूमि
छैटौं शताब्दीमा आठराई शासित किरात राज्य विघटन भइ दश लिम्बूवान गठन भयो । सातौं शताब्दीमा तिब्बत राज्यसत्ताको सहयोगमा माङ मावाराङद्वारा दशलिम्बूवान राज्यसत्ता हटायो र पश्चिममा खम्बुवान, बीचमा लिम्बूवान, पूर्वमा लाप्चान र दक्षिणमा भारतको पूर्णियासम्म विस्तारित मोरोङ राज्य स्थापित भयो । मावाराङले यसअघि आफ्ना समर्थक ७०० घरपरिवार लिएर रंगोली (हालको रंगेली) राजधानी बनाइ मोरोङ (हालको मोरङ) नामक क्षेत्र बसाएका थिए तर उनलाई दशलिम्बूवानले धपाए । उनी तिब्बत भागे र पछि स्रङ–चङ–गम्पोको सहयोगमा दशलिम्बूवानसहित विस्तारित क्षेत्र हात पारे । यसैलाई भारतीय इतिहासकार राहुल सांकृत्यायनले समेत भारतको बिहार सातौं शताब्दीमा केही समय तिब्बत अधीन थियो भनी उल्लेख गरेका छन् ।

यो मत्स्य क्षेत्रमा आर्य अतिक्रमणपछि यहाँका आदिवासीसित भाषा संस्कृति नमिलेकाले उनीहरुले आदिवासीलाई किरात–असुर, म्हेच्छ नामले बोलाए र उनीहरुको देशलाई साहित्यमा म्हेछदेश लेखे । यही मत्स्यदेश, म्हेच्छदेश, मेचदेश नै मदेश, मधेशको व्युत्पत्तिका आधार हुन् ।

मदेश मत्स्यदेश हो
जनजीब्रोमा टाँसिएको मदेश शब्दबाट अर्थ खोज्न सरल छ । जसलाई प्राचीन र ऐतिहासिक तथ्य र आँकडा मत्स्यदेशले साथ दिन्छ । मदेश शब्दलाई जीब्रोले स्वभाविक रुपमा अपभ्रंश भएर मधेश भन्दा अर्थमा भिन्नता आएको थिएन । लिखितमा ‘म’ अक्षरमा ‘ध’ मिसाएपछि ‘मध्य’ शब्दको परिकल्पना गरी ‘मध्य देश’ बनाइयो । कुन कुन भूभागको बीचको भूमि भनी बुझाउन हिमालय र बिन्ध्याचल जस्ता धार्मिक आस्था र भावना जोडिएका आकृति उभ्याइयो । जसरी भारतको मध्य प्रदेश छ उसैगरी नेपालको मधेश मध्य–प्रदेश भएको हौवा फैलाउने काम नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशबाट समेत भएको देखिन्छ । यसलाई बौद्धिक तथा प्राज्ञिक छलफलको विषय बनाएर आवश्यक अध्ययन अनुसन्धान गरेर परिभाषालाई परिमार्जन गर्न जरुरी देखिन्छ ।

विश्लेषण
आदिवासी थारु, धिमाल, सतार, उँराव, दनुवार आदि बस्ने भूभागलाई आज मदेश नामाकरण हुनमा मूलतः तीन आधार पाइन्छन् । पहिलो आधार हो प्राचीन कालदेखि उत्तर विहार कोशी क्षेत्रलाई मत्स्यदेश भनिन्थ्यो । महाभारतकालमा पनि पाँचपाण्डव गुप्तवास बस्न यही मत्स्यदेश आएको महाभारतमा उल्लेख छ । त्यसबेलाका प्रख्यात किरात मत्स्य राजा विरथ (विराट) राजाको राज्यमा पाँचपाण्डवले गुप्तवास बिताएको विवरण महाभारतमा पढ्न पाइन्छ । किरात मत्स्यका अन्य सत्य, किचक राज्य विराट राज्य नजिक (झापा, वंगाल) मा पर्दछन् (Chemjong, 2003a)। जहाँ पुरातत्विक उत्खनन भइरहेको देखिन्छ । यसकारण मत्स्यदेश प्राचीन शास्त्रसम्मत र पुरातत्वले पनि यसमा हात हालेको अवस्था छ । यही मत्स्यदेशको पहिचान बोधक छोटकरी स्वरुप मदेश हो जो अपभ्रंश भएर मधेश बनेको हो भन्ने मेरो पहिलो तर्क छ ।

दोस्रो तर्क के छ भने यी किरात–असुर भूमिमा बस्ने शासक र जनतालाई संस्कृत साहित्यले अनार्य वा म्हेच्छ जाति भनेको छ । यही म्हेच्छ शब्दबाट मेच र मेची बनेको इतिहासकारहरुको भनाइ छ (Chemjong, 2003a)। सोही आधारमा म्हेच्छदेश वा मेचदेश शब्दबाट मदेश बन्न जनबोली सहज हुनगएको इतिहासम्मत आधार नकार्न मिल्दैन । यही मदेश शब्द पछि अपभ्रश भएर मधेश भएको हुनुपर्दछ ।

तेस्रो, यसरी प्राचीनकालदेखि मध्यकालसम्म पनि यो क्षेत्र मत्स्यदेश र उनकै रक्तगत अनन्या किरात शासितभूमि रहेकाले मत्स्यदेश शब्दको प्रभाव लामो कालसम्म जीवन्त रह्यो । इतिहासको लामो कालखण्ड ब्याप्त मत्स्यवंश जनाउने मत्स्यको म अक्षरले उक्त देशलाई मदेश शब्दले चिन्न र बुझ्न इतिहास र जनबोलीलाई गहिरो छाप र सहजता प्रदान गर्यो । फलस्वरुप मदेश शब्द जनजीब्रोमा टाँसियो र इतिहासमा लेखियो । यही मदेश कालान्तरमा मधेशमा परिवर्तन भयो ।

निष्कर्ष
प्राचीन मत्स्यदेश र पछि मध्यकालीन रक्तगत अनन्या किरात वंशद्वारा शासित भूमिबोधक शब्द मदेश हो । यो मत्स्यकालीन नासो हो । मदेश मत्स्यदेशको जीवन्त साक्षी र ध्वनि हो । अर्कातिर ‘मधेश’ शब्दले यो क्षेत्र शिव प्रभावित भूमि भएको संकेत गर्दछ । मदेश र मधेशलाई उल्लेखित अर्थमा ब्याख्या गर्न प्राचीन ग्रन्थले साथ दिन्छन् । तर मधेशलाई मध्य प्रदेश भनी परिभाषित गर्न कुनै पनि तथ्य र आँकडाले साथ दिदैनन् ।

Similar Posts

  • |

    Intellectual Property

    Dr. Nawa Raj Subba. An object created by a person using his knowledge, wisdom, and art is called intellectual property. The creations produced in literature, music, art, prose, poetry, drama, and music are intellectual property. For example, writers’ stories, poems, and plays are their intellectual property. Likewise, any song is the intellectual property of the…

  • हामीलाई कस्तो खुशीको आवश्यकता छ?

    डा. नवराज सुब्बा मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ?…

  • सकारात्मकवाद

    डा. नवराज सुब्बा~ पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन साथै समाजलाई सदाचार बनाउन उक्त दर्शन र मार्ग मानिसले अपनाए होलान् । तेह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीका मानिसको चेतनास्तर अलि माथि उठेको देखिन्छ । त्यसबेला उनीहरुले…

  • सहिद सत्ता र स्वार्थ विरुद्ध

    डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर…

  • मृतक साहित्य

    Dr. Nawaraj Subba मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि…

  • नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

    अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका…