गाँजा खेतीले देशमा समृद्धि कदापि आउँदैन !

– डा. नवराज सुब्बा

आजकल नेपालमा केही गैरसरकारी संस्थाले सांसदलाई समेत प्रभावित पारेर गाँजा खेती गरेर देशलाई समृद्ध बनाउने भ्रामक खेतीमा देशलाई धेकेल्दै छन् । गाँजा नशालु दुर्व्यशनकारक वस्तु हो । भलै शिवरात्रीमा यसको प्रयोग हुन्छ, यसको औषधीय गुण आयुर्वेदमा ग्राह्य मानिन्छ तर खेती गरेर देशलाई समृद्ध बनाउँछु भन्नु मानिसलाई विदेशमा बेचेर रेमिटेन्सले देश धनि बनाउँछु भन्ने विदेशी चालकै एक रुप हो । आज धनि देशले गरिव देशको साधनस्रोतलाई युद्ध नगरी यी यस्तै हत्कण्डा अपनाएर त्यहाँका मानिसलाई प्रभावित पारेर हात पार्ने गर्दछन् ।

भारतमा हाल फिल्मी नायक सुशान्त सिं राजपुतको आत्महत्या घटना उनकै प्रेमिकाको लागुपदार्थ प्रयोगसित गाँसिएको देखिएको सिबिआईको अनुसन्धानबाट खुल्दैछ । लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सुर्तिजन्य पदार्थ सेवन यी यस्तै अपराध घटना, घरेलु हिंसासित गाँसिएर आउँछन् । सडक दुर्घटना, हत्या अपराध सित जोडिन्छन् । लागुपदार्थ, सूर्तिजन्य पदार्थ, नशालु पदार्थले जीवनलाई जोखिमपूर्ण स्थितिमा धकेल्छ भन्ने कुरा अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

हाल अन्तर्राष्ट्रिय व्यापारी समूहले गरिब मुलुकलाई दुरुपयोग गरेर विभिन्न प्रलोभनमा पारेर गाँजा खेती, अफिम खेती गरेमा खरिद गरिदिने र यसले देशको समृद्धि आउने लालच देखाएर प्रभावमा पार्दछन् । गाँजा खेती गरेपछि यसमा लाग्ने परिवारका सयमध्ये पाँच जनाले लतमा फसे भने यसले देशलाई दूरगामी प्रभाव पार्दछ । त्यसबाट हुने व्यापारको फाइदाले कहिल्यै क्षतिपूर्ति नहुने नोक्सानी देशले भोग्नु पर्नेछ ।

यसलाई बुझ्न चीनको अफिम युद्ध इतिहास जान्नुपर्दछ । पश्चिमा मुलुकले व्यापारको बहानामा चीनमा त्यहाँका मानिसलाई अफिम खान र खेती गर्न सिकाए । उनीहरुले अफिम खेतीबाट देशको समृद्ध हुने सपना चीनमा पनि बाँडेका थिए । त्यहाँका राष्ट्रवादी चिनियाँले लागुपदार्थको दुव्र्यसनले ग्रस्त समाजको गिर्दो अवस्था देखेपछि अफिम खेती विरुद्ध आवाज उठाए र पश्चिमेली विरुद्ध युद्ध गरे । अफिम युद्धमा चीनले हङकङ, मकाओ एकशय वर्षको लागि पश्चिमालाई लिजमा दिए मात्र बेलायतले युद्ध रोक्ने स्थिति आयो । वाध्य भएर चीनले ती भूमी बेलायतलाई सयवर्षको लागि लिजमा दिन सम्झौता गर्यो । आज हङकङ, मकाओ चीनले फिर्ता पाएको छ । यद्यपि अफिम युद्धदेखिको प्रतिशोध समेतले आजसम्म चीन र बेलायत, पश्चिमको सम्बन्ध शत्रुतापूर्ण छ ।

जेहोस्, हामीले इतिहासबाट सिक्ने हो । छिमेकी मुलुकबाटै धेरै कुरा सिक्न सकिन्छ । निकासी गर्ने कुलतजन्य वस्तुको खेतीको सानो अंशमात्र देशभित्र प्रयोग भएको खण्डमा हामीले भोलि युद्धले प्रभावित मुलुकले भोगेको दशा भोग्नु पर्ने स्थिति आउन सक्छ । यसैले हामीले कसैको लहै लहैमा लागेर नशालु वस्तु उमारेर समृद्ध बन्ने सपना त्यागौं । मानवजातिलाई घातक वस्तुले हामीलाई समृद्ध बनाउँद्ध भन्ने कुरा भ्रम मात्र हो । आज संसारमा कुनै पनि देश यस्ता कुवस्तु उमारेर बेचेर धनि भएका छैनन् । अरुलाई मनोरञ्जन गराउने अबैध रुपमा खुलेका पटका उद्योगमा दुर्घटनामा वर्षेनी हजारौं मानिस प्रभावित भएको घटना पनि छिमेकी भारतको दृष्टान्तले देखाउँछ । यस्ता खतराजन्य वस्तुको प्रयोग गरेर मनोरञ्जन गर्ने प्रवृत्ति यस्ता उद्योग वा खेती गर्ने प्रवृत्ति मानव जातिको लागि घातक छन् भन्ने माथिका उदाहरणबाट स्पष्ट हुन्छ ।

गाँजालाई जडिबुटिको रुपमा सीमित खेती गर्नु सम्भव छँदैछ । तर गाँजा नगदे बालीको रुपमा खेती गरेर देशलाई समृद्ध बनाउने सपना देख्ने अभियन्तालाई छिमेकी मुलुक चीनमा उन्नाइशौं शताब्दीमा पश्चिमाविरुद्ध भएको अफिम युद्ध अध्ययन गर्न म आग्रह गर्दछु । इतिहासमा पश्चिमाको प्रभावमा यस्ता वस्तुको उपयोग र खेतीको मूल्य आज चीनले चुकाइरहेछ । चीनलाई बेलायत र पश्चिमाले हेर्ने दृष्टिकोणको निर्माणमा अफिम–युद्ध कोशेढुङ्गा बनेको छ । यसैले गाँजा खेती गरेर नेपाल र नेपालीको भविष्यलाई अनिश्चयको भुमरीमा धकेल्नु हुँदैन । किनभने लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सूर्तिजन्य पदार्थलाई प्रबर्धन गर्नु भनेको देशको भविश्य र जनस्वास्थ्यसित खेलबाड गर्नु हो ।

मत्स्यदेश मदेश आजको मधेश
A Corona-melted Heart