झरी र रित्ता गाग्रीहरू

‘हरहर महादेव पानी देऊ देऊ
यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै
रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा
कैलाशमय कान छिचोल्न
गगनभेदी बन्दूक पड्काइयो
र मागियो झरी यसपाली खडेरीमा
पानी छिट्याएको देखेर
खुसीमा उफ्रिदै सबैले नुहाए
झरी रोकिएन
बाढी जताततै बग्यो बाटाबाटामा
डिल भत्कियो अनि भास्सियो सडक
हो, एकसाथ घर र मनहरू चर्किनसम्म चर्किए
हेर्दाहरेर्दै धेरैका घरबास बगायो झरीले
झाडापखाला महामारी फैलियो
त्यहीँ छेवैमा आगो र चिताका खरानी सुँघ्दै
धमिलो पानीमा रमाउँदै थिए माछाहरू
घरघरमा जाल बुन्दै थिए कोही
छेलिएर कोही बल्छी हाल्दै होलान् बाढीमा
यत्तिकैमा यसपालिको मनसुन थामियो
तर भेलचाहिँ घरघरमा पसिरह्यो र डसिरह्यो
उर्लिनु उर्लियो अन्तरविरोधी लहरहरू
मनमनमा !
अचम्म !
छट्पटाउँदै अतृप्त प्यासहरू
सडकमा अझै ओहोरदोहोर गर्दैछन्
धत्तेरी ! यसपालीको झरीले पनि
भरिएनछन् रित्ता गाग्रीहरू
न त घैंटोमा घाम नै लागेछ ।
प्रकाशोन्मुख “यात्रा आधा शताब्दीको” कवितासङ्ग्रह २०६८ बाट

Similar Posts

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • भूकम्पको प्रतिध्वनि (Poem)

    – डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

Leave a Reply