कविता लेख्न बस्दा
|

कविता लेख्न बस्दा

कविता
— डा. नवराज सुब्बा

म सधैं कवि हुँदिन—
कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,
जसको झोलामा चिठीहरू छन्
तर ठेगाना भने मेटिइसकेको छ।
म जब शब्दहरू टिप्छु,
ती अक्षर हुँदैनन्—
खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,
जहाँ हावा र खोलाको सललको संगीतले
आफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ।

चौतारीमा बसेको त्यो समय
अहिले पनि मभित्र जिउँदै छ—
हावाले पातहरूलाई सम्झाउँदै
मलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,
र म सोच्छु,
यो गफ हो कि प्रार्थना,
कि कुनै अधुरो कविताको धड्कन।
म जब मन परेका कुरा लेख्छु,
मेरो मन यति हलुका हुँन्छ कि—
यो त बादलजस्तै बन्छ,
जसले आफ्नो बोझ बिर्सेर
आकाशको टाढा-टाढा कुनासम्म
तिमीलाई खोज्न निस्कन्छ।

तर, मायालु,
यता यो समय एक निर्दयी पाठक हो—
यसले सबैभन्दा प्रिय कविताहरूलाई पनि
पानामा अलपत्र छोडिदिन्छ।
अब त शब्दहरू
अलि बढी एक्ला लाग्न थालेका छन्,
जस्तो न्याउलीको स्वर,
जसलाई सुन्ने कानहरू
सुदूर पहाड र खोला पारि छुटिइसकेका छन्।

म लेखिरहन्छु—
तर हरेक पंक्तिको अन्त्यमा
एउटा मौनता टाँसिएको हुन्छ,
जसले भन्छ:
“तिमी पढ्ने आँखा अब
यो संसारको पृष्ठमा छैनन्।”
र त्यसपछि
म आफ्नो कवितालाई आफैंले मोडेर
हावामा उडाइदिन्छु—
सायद,
कुनै अज्ञात पहाड र खोलामा
तिमी अझै पनि
मेरो अक्षरहरू पर्खिरहेकी छौ।

#कविताप्रेमी #कवि

Similar Posts

  • आत्महत्या गर्न अघि

    दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र !

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • कम्लहरी

    कम्लहरी

    मलाई
    माघीसँग डर लाग्छ आमा !
    मलाई यो माघमा
    तिम्रो न्यानो काख छाडेर
    महाजनको घरमा
    जान पटक्कै मन छैन !

    भोक लाग्नुको अपराधमा
    आङ ढाक्न खोज्नुको सजायस्वरूप
    जानुपर्‍यो मैले परायाघर

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !