मलाई कविता मनपर्छ

कविता सुन्नु पर्ला
समय बेकार जाला भनेर
भागी भागी हिड्ने मान्छे म होइन
म त जता जता कविता छ
उता उता सोध्दै खोज्दै
सुन्न जाने मान्छे
सायद
तपाइ मलाई चिन्नुहुन्न होला
कविता सुनेर म तीन पटक हाँस्छु
यसैले म कविता खोजी खोजी सुन्छु

पहिलो पटक
अरुले ताली पिट्दै हाँसेको देखेर
म पनि ताली पिट्छु
र वाह वाह गर्दै हाँस्छु
दोस्रोपटक बल्ल बुझेर हाँस्छु
अनि तेस्रो पटक
अघि आफूले नबुझिकनै
बुझेको अभिनय गर्दै हाँसेकोमा
एकान्तमा एक्लै हाँस्छु

ए कविज्यू !
म राम्ररी चिन्दिन तपाईलाई
त्यसैले तपाईको कविता मनपर्छ
माफ गर्नुस्
अलि बुझदिन कविता
यसैले मलाई कविता मनपर्छ
कविता मलाई मनपर्छ ।

Similar Posts

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • कविता विचार गोष्ठी

    काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो । कवि सुब्बाको कविता सड्ग्रहमाथि चार जना समालोचक तथा कविहरुले कविताका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डा. कृष्णप्रसाद दाहालले कविताको भाषा र शैलीमा र समालोचक प्रा. लीला लुइँटेलले कविताको नारीपक्षमा कार्यपत्र प्रस्तुत गर्नुभयो…

  • चरा, तिर्खा, पानी र शहर

    – नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

Leave a Reply