गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा
यस्तो विज्ञापन बज्न थाल्यो जसलाई परिवारमा बसेर सुन्न वा हेर्न नमिल्ने भो भनेर पत्रपत्रिकामा प्रतिक्रिया आयो । गणतन्त्र आएपछि एउटा यस्तै गीत सुपरहिट भएको छ जसलाई मैले पनि पचाउन सकिराखेको छैन र गीत आउनासाथ रेडियो बन्द गर्न बाद्य भएको छु । कुनै तन्त्र र यो प्रवृत्तिबीच कुनै सम्बन्ध त छैन, केवल कालखण्ड देखाउनमात्र उल्लेख गरें ।
सम्झन्छु, एकताका “निलो चोली” भन्ने उपन्यास पनि युवाबीच अत्यन्तै लोकप्रिय थियो मुनामदन जत्तिकै । फरक के भने मुनामदन चोकचोकमा भेला भएर गाउन सकिने तर “निलो चोली” चाहिँ कोठामा चुक्कुल लाएर पढ्नु पर्ने । निलो चोली आज धेरैलाई थाहा नहुन सक्छ तर यो प्रवृत्तिका साहित्य विभिन्न खालका चोली वा फ्रक भएर अझै पनि गाउँ, सहर वा साइबरमा छ्याप्छ्याप्ती छन् । फरक के मा छ भने आफ्नो परम्परा मुनामदन अझै एक्लैले धानेको छ तर निलो चोलीका स्वरुप फेरिनु परेको छ । लोकप्रियता र सस्तो लोकप्रियताको मापन गर्दा आकाश र पातालझैं लाग्छन् ।
एउटा कुरा म के भन्न चाहन्छु भने, बन्दूक चलाउने मानिस स्वच्छन्द त परै जाओस स्वतन्त्र पनि हुनु हुँदैन । कलम चलाउने मानिस स्वच्छन्द र स्वतन्त्र हुनुपर्छ तर उत्तिकै जिम्मेवार र इमान्दार पनि हुनपर्छ, यो सामाजिक अपेक्षा हो । निर्माता, मिडियाले पनि बजारलाई मात्र केन्द्रविन्दु बनाएर सामाजिक दायित्व र कलाको अस्मिताप्रति कुठाराघात गर्न हुँदैन ।