यसरी छुट्टियो मेवाखोलाबाट  फयङ साँबाको मूल हाँगा आठराई हाङपाङमा

यसरी छुट्टियो मेवाखोलाबाट फयङ साँबाको मूल हाँगा आठराई हाङपाङमा

फयङ साँबा वंशावली २०८१

डा. नवराज सुब्बा

फयङ साँबाको फेदको हाँगो मेवाखोलाबाट हाङपाङ छुट्टिएर गयो र अन्यत्र समेत हाँगाबिँगा विस्तारित भयो। यस उपशीर्षकमा फयङ साँबा हाङपाङमा कहिले कसरी आए अनि उनीहरूले त्यहाँ अन्य जातिका लिम्बूसित के कस्तो व्यवहार गरे भन्‍ने चर्चा गरिएको छ।

कहिले र किन

ऐतराज फयङ (पुस्ताक्रम २९) द्वारा संकलित तथा नवराज सुब्बा फयङ (पुस्ताक्रम ३०) द्वारा प्रकाशित फयङ साँबाको वंशावली २०५६ मा उल्लेख भएअनुसार मेवाखोला साँबा गाउँबाट फयङ साँबा वि.सं. १८०६ तिर हाङपाङ आएका थिए। (Phayang AR, 2056)  तर फयङ साँबाका एक जानकार टेकबहादुर फयङले पन्चनन्द वही थेबा (पुस्ताक्रम २६) को भनाइलाई आधार मानेर फयङ साँबाहरू वि.सं. १८०० सालतिरै आफ्नो थुम मेवाखोला साँबा छाडेर हाङपाङ आएका हुन्।

उक्त भनाइलाई हालसालै साँबा मिङ्स्रा सङचुम्भोको मुखपत्रले पनि समर्थन गरेको पाइन्छ। मुखपत्रानुसार साँबाहरू वि.सं. १८०० सालदेखि मेवाखोलाबाट चैनपुरमा लिम्बू सेनामा सहभागी हुन गएका थिए। (Samba Ningshra, 2018) उनीहरूले लिम्बुवान कमाण्डर काङ्सोरे (काङ्सु राय) लाई सहयोग गरे। गोरखाली लिम्बुवान युद्धमा छलकपटद्वारा आफ्ना सरदार काङसोरेलाई गोरखालोले षड्यन्त्रपूर्वक मारिदिए। साँबा परिवारका शिपा र फाक्ते गोरखा-लिम्बुवान युद्धमा सहिद भए। जुन कुरा सङचुम्भोले मुखपत्रमा उल्लेख गरेको छ।

त्यसपछि दुःखित बनेका लिम्बूमाथि गोरखालीले थप चलाखी गरे। गोरखाली सेनाका नेतृत्वकर्ता रामभद्र थापा मगरले पटक पटक लिम्बुवान आक्रमण गर्दा पनि हत्याउन नसकेपछि लिम्बूका सरदारलाई उनीहरूको वंशावली झिकाए। उक्त वंशावली अध्ययनपछि गोरखाली पक्षले लिम्बूका पुर्खा र गोरखाली सिँगाली थापा मगरका पुर्खा एकै भएकाले अब युद्ध नलडौँ भने। गोरखाली र लिम्बूबीच सम्झौता भयो। (Chemjong, 1074)

किरात इतिहास अनुसार वंशावलीमा काशी वंशका लिम्बू र मगर सेनवंश–सम्बन्ध देखिएपछि लिम्बू पक्ष युद्ध रोक्न राजी भएका थिए। सोही आधारमा फेदाप, तम्बरखोला र मेवाखोलाका लिम्बूले गोरखालीबीच सहमति भयो र नुनपानी सन्धि भयो। यद्यपि, गोरखाली–लिम्बुवान युद्ध गोरखालीको पक्षमा गयो। वि.सं. १८३१ सालमा गोरखालीले लिम्बुवान हात पारे। (Chemjong, 1074)

फयङ साँबाहरू चैनपुरमा जाँदा आउँदा बीच बाटोमा पर्ने हाङबाङ (हाङपाङ) राम्रो जग्गा देखेर जंगल फडानी गरी बसेको साँबा फयङका बुढापाकाको भनाइ छ। अन्य लिम्बू जातिका जानकारले पनि चुँवाखोला क्षेत्र साँबाको खुर्पेठ्याक हो भनेका छन्। (S. PhyangAngbuhang, personal communication, January 11, 2018) संखुवासभाको चैनपुर ऐतिहासिक घटनाक्रममा ओहोर–दोहोर गर्दागर्दै मेवाखोलाका फयङ साँबा संखुवासभा, आठराई हाङपाङ, पाँचथर क्षेत्रमा फैलिए।

को को छुट्टिए

यस क्रममा तुम्याहाङ त्या तर्फका पन्चकन्दा (पुस्ताक्रम २४) का छोरा धनकर्ण  (पुस्ताक्रम २५) र चासमुखी (पुस्ताक्रम २५) एवं तुम्याहाङ हिरी तर्फका शाहीवाल (पुस्ताक्रम २४) का कान्छा छोरा इरूहाङ (पुस्ताक्रम २५) मेवाखोला र चैनपुरको बीच पर्ने हाङपाङ चुँवामा खुर्पेठ्याक गरी बसे। (Phayang AR, 2056; TB. Phyang, personal communication, August 15, 2019) सोही ताका धनकर्ण संखुवासभा चैनपुर ओहोरदोहोर गर्उदा नले उतै कान्छी श्रीमति विवाह गरे जसबाट भएका सन्तान उतै फैलन गए। यसरी धनकर्णका जेठी श्रीमतिका सन्तान हाङपाङमा र कान्छी श्रीमतिका सन्तान संखुवासभामा रहन गए। स्मरण रहोस्, जेठीपट्टिका सन्तान हाल लिम्बू र कान्छी पट्टिका सन्तान राई थरमा विलय भएका छन्।

तथ्य र प्रमाणले वि.स. १८०० आरम्भदेखि गोरखा–लिम्बुवान युद्धकालसम्म फयङ साँबा आफ्नो मूलथलो मेवाखोलाबाट चलायमान भएको बताउँछन्। संखुवासभा, पाँचथर छुट्टिएर गएका फयङ साँबा वंशावलीको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गर्दछन्। (Phayang MH, 2019; Phayang RB, 2019) अतः १८०० सालदेखि १८०७ सालसम्मको अवधिमा उल्लेख्य संख्यामा फयङ साँबा मेवाखोलाबाट हाङपाङ लगायत अन्य क्षेत्रमा छुट्टिएर गएका देखिन्छन्।   

पन्चकन्दा (पुस्ताक्रम २४) का छोरा धनकर्ण (पुस्ताक्रम २५) र चासमुखी (पुस्ताक्रम २५) एवं शाहीवालका कान्छा छोरा इरूहाङ (पुस्ताक्रम २५)  सोवुवा खोला र चुँङ्वा खोलाको दोभानदेखि उँभो दक्षिण हाङपाङको मध्य भूभागको जंगल फँडानी गरेर चारकिल्ला बाँधेर बसे। त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘साँबाको खुर्पेठ्याक’ भनियो। उसबेला हाङपाङ गाउँमा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिङ्सोबामा सुनेबा थरका आदिवासी लिम्बू बसोबास गर्दथे। आफ्नो थातथलो मेवाखोलाबाट हाङपाङमा आएर फयङहाङ साँबा खुर्पेठ्याकमा बस्‍ने लिम्बू भए तापनि उक्त स्थान हाङबाङ र सुनेबाले पहिल्यै ओगटेको गाउँ हो। त्यसैले हाङपाङमा फयङ साँबा बिजिल्ले लिम्बू कहलिए।

जग्गामा किचलो

आठराई हाङपाङमा साधन स्रोतलाई लिएर पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूबीच झगडा भइरहन्थ्यो। त्यसमाथि फयङ साँबा लिम्बूको उपस्थितिले लिम्बूबीच तनाव उत्पन्‍न भयो। हाङपाङका फयङ साँबाको सुभाङ्गी मेवाखोलामा रहेकाले हाङपाङमा जग्गा व्यवस्थापन मिलाउन उनीहरूले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बन्‍न डाके र सुभाङ्गी दिलाए। (TB. Phyang, personal communication, August 15, 2019)

जग्गाकै विषयमा फयङ साँबा र यक्सोसित वि.सं. १८०७ सालमा किचलो पनि भयो। साथै, फयङ साँबा र यक्सोबीच मिलापत्र भयो। (A.B. Phyang, personal communication, April 22, 2018; D.R. Phyang, personal communication, January 16, 2018)

तुलनात्मक विश्लेषण गर्दा हाल चलिरहेको पुस्ताक्रम ३३ र हाङपाङ छुट्टिएर आएका पुस्ताक्रम २५ बीचको अन्तर ९ पुस्ता हुन्छ। वि.सं. १८०० लाई आधार मान्ने हो भने २०७६ सालसम्म गणना गर्दा २७६ वर्ष हुन्छ। काल र पुस्ता हिसाब गर्दा करिव ३० वर्षको पुस्ता देखिएकाले हाङपाङमा १८०० सालताका मेवाखोलाबाट छुट्टिएको तथ्य तर्कसम्मत देखिन्छ। अतः वही थेबा पन्चनन्द (पुस्ताक्रम २६) ले फयङ साँबा १८०० सालमा हाङपाङ आएको दावीलाई सही मान्न सकिन्छ। किनभने उनी शाहीवाल (पुस्ताक्रम २४) का नाति हुन्। (TB. Phyang, personal communication, August 15, 2019)

फयङ साँबाको हाङपाङमा पहिचान

फयङ साँबा परिवारको चिहानडाँडा चुँवाखोला नजिक डाँडामा रहेको छ। उनीहरूको स्थानीय माङ्गेना गर्ने देवथान हाङपाङमा चुँवा वारी र पारी बनाएका छन्। हाङपाङमा बसोबास गर्ने यक्सो र आङबुहाङ थरका लिम्बूका पारिवारिक चिहानडाँडा र पूजास्थल छैनन्। तथ्य र प्रमाणका आधारमा फयङ साँबा हाङपाङमा हाम्बाङ, सुनेबा भन्दा पछि आएका र यक्सो, आङबुहाङ भन्दा अघि आएका जाति हुन्। फयङ साँबाहरू १८०० सालतिर हाङपाङमा आएर बसोबास गरेका थिए। (A.R. Phyang, personal communication, August 17, 1999; Phayang TB, 2019; Chemjong, 1974)

धनकर्ण (पुस्ताक्रम २५) का छोरा धर्मध्वज मुदेन (पुस्ताक्रम २६) चाहिँ भोटबाट नेपालमा नुन व्यापार गर्दथे। उनको घरमा पैसा राख्‍ने भकारी थियो। उनकी एकजना बुहारी आङबुहाङ् थिइन्। घरमा बुहारीसित रीस उठ्दा उनलाई तेरो माइतीमा मेरो पैसा राख्‍ने भकारी जत्रो पनि धानको भकारी छैन भनेर होच्याएको कुरा उनले माइतीलाई पोल लगाइन्। उसो भए त्यस्को भकारीमा आगो झोसिदेऊ भनेर माइतीले आवेशमा भनी दिँदा नभन्दै मन्द दिमागकी बुहारीले भकारीमा आगो झोसेर घर खरानी पारिदिइन्। आगोबाट बचेका कतिपय झ्याल ढोका र चौकोस पछि स्थानीय हाङपाङका प्रसाईंहरूले घर बनाउँदा किनेर लगे भनेर यो लेखकलाई आफ्नी बजु सञ्चरानीले बाल्यकालमा सुनाएकी थिइन्। यस घटनाक्रमबाट थाहा हुन्छ फयङ साँबा हाङपाङ आएपछि सामाजिक आर्थिक अवस्थामा उतारचढाव आएको थियो।

कुटुम्बेरी

फयङ साँबा र यक्सोबीच कुटुम्बेरी साइनो भएकाले सम्बन्ध नजिक रहेको देखिन्छ। किनभने फयङ साँबाले यक्सोलाई आफ्ना छोरीचेली र दाइजो स्वरुप जग्गा दिएको जानकार बताउँछन्। उदाहरणका लागि हाङपाङ चुँवा बस्‍ने हस्तवीरकी पत्नी, अम्बरबहादुर यक्सोकी आमा असलबहादुर फयङ (पुस्ताक्रम २८) की फुपू चेली हुन्। उनको अल्पायुमै निधन भएकोले खड्‍गबहादुर, अम्बरबहादुरका पिता हस्तवीरले पुनः मृतककी भदैनी विवाह गरे। त्यसैले अमरबहादुर र खड्गबहादुरकी आमा तथा कान्छी आमा असलबहादुर फयङ (पुस्ताक्रम २८) की चेलीहरू हुन्। यही वैवाहिक नाताले गर्दा खड्गबहादुर, अम्बरबहादुर यक्सो परिवार फयङ साँबा जग्गामा बसेका हुन् भनी स्थानीय जानकारहरूले बताए। (S. PhyangAngbuhang, personal communication, January 11, 2018; N.M. MudenchhongPhyang, personal communication, August 20, 2019)

छोरी चेलीलाई जग्गा दिएर ज्वाइँ राख्‍ने चलन यक्सो जातिमा पनि पाइन्छ। यक्सोले आफ्नी चेलीलाई जग्गादान दिएर गरी खान दिएका उदाहरण छ। एकजना यक्सो छोरीचेलीलाई सोबुवा बस्‍ने करणध्वोज मुदेन्छङ् साँबाले विवाह गरे। उनलाई यक्सोले आफ्नै जग्गामा ल्याएर राखे। उनका छोरा आनन्दधोज र नाति जसबहादुर हाङपाङ निवासी हुन्। यसरी करणध्वोजका दरसन्तान हाङपाङमा यक्सो परिवारले छोरीलाई दाइजो दिएको जग्गामा बसेका हुन्। (N.M. Mudenchhong Phyang; D.P. Mudenchhong  personal communication, August 20, 2019)

कालान्तरमा यिनै मुदेन्छङ साँबाका दरसन्तान र फयङ साँबाका दरसन्तानबीच कुटुम्बेरी सम्बन्ध स्थापित भयो। यो पङ्तिकारको पितृवंश फयङ र मातृवंश मुदेन्छङ साँबा हुन्। त्यसैले लेखक मावली साइनोले कतिपय यक्सोलाई मामा भन्छ भने कतिपय यक्सोलाई बुबाको साइनो खेद्दै लुङ्वा दाजुभाइ, काका, बडाबा आदि साइनोले सम्बोधन गर्ने गर्दछ।

खुर्पेठ्याक

साँबाको खुर्पेठ्याकबारे अन्य लिम्बूको भनाइ के छ? अध्ययन गरौँ। फयङ साँबा जंगल फँडानी गरेर पुर्खाले चर्चेका खुर्पेठ्याक जग्गा हाङपाङ चुँङ्वा दोभानदेखि दक्षिण क्षेत्रमा बसेका चुँङ्वा निवासी जाति हुन्। हाङपाङ निवासी सरला सुब्बा (आङबुहाङ) की सासु शंकरमाया तुम्रोक आङबुहाङको बाल्यकाल हाङपाङ चुँङ्वाको सुन्तलाबारीमा वितेको थियो। उनले आफ्नो बाल्यकालमा आफ्ना बाजेबाट थाहा पाएअनुसार चुँङ्वा जग्गा साँबाहरूले खुर्पेठ्याक जग्गा हो। उनले त्यही कुरा आफ्नी बुहारी सरलालाई सन्दर्भवश संस्मरणका रूपमा सुनाएकी थिइन्। (S. Phyang Angbuhang, personal communication, January 11, 2018)

हाङपाङ झरेका फयङ साँबाको पुर्खौली स्थल भने ताप्लेजुङ जिल्लाको मेवाखोला साँबा छँदै थियो। उनीहरूको पैत्रिक जग्गाको किपट अधिकार मेवाखोलामा नै कायम थियो। उनीहरूको माङ्गेना यक ताप्लेजुङ जिल्लाको मेवाखोला साँबामा रहेको लिङथाङ यक हो।

किपट

हाङपाङ निवासी ऐतराज फयङ (पुस्ताक्रम २९) अनुसार मेवाखोलामा साँबा जग्गा नापी हुनपूर्व मेवाखोला साँबाबाट मानिसहरू तिरो तिर्न हाङपाङ आउने गर्दथे। धर्मध्वज मुदेन (पुस्ताक्रम २६) ले भोटबाट नुन व्यापार गर्दा ओलाङचुङ गोलादेखि मैवा दोभानसम्म विभिन्‍न स्थानमा चौरी बाँध्‍न तथा बास बस्‍ने पाटीपौवाहरू बनाएका थिए। कालान्तरमा उक्त ब्यापार मार्गमा पर्ने ओलाङचुङ गोलामा नेपाल सरकारले भन्सार कार्यालय तथा पुलिस चेकपोस्ट स्थापना गर्ने निर्णय गर्‍यो। त्यसको लागि भवनको आवश्यकता पर्‍यो। सरकारले त्यहाँ प्रयोगविहीन रहेका पाटीपौवालाई उपयोग गर्न चाह्यो। ती भौतिक संरचना र जग्गाको स्वामित्वको खोजी गर्दै सरकारी प्रतिनिधि हाङपाङ आएर ऐतराज फयङ साँबालाई भेटे।

श्री ५ को सरकारको मागबमोजिम ऐतराजले ओलाङचुङ गोलादेखि मैवादोभानसम्म पर्ने पाटीपौवा र जग्गाको स्वामित्व सरकारलाई लिखित रुपमा हस्तान्तरण गरिदिए। (A.R. Phyang, personal communication, January 15, 1999) सो सन्दर्भमा टेकबहादुरले मेवाखोला साँबामा आफ्ना भागमा परेका जग्गाको किपट हक मेवाखोलामा रहेका दाजुभाइलाई नै सुम्पिदिएको जानकारी गराए। (T.B. Phyang, personal communication, August 15, 2019)

संक्षेपमा, १८०० सालतिर हाङपाङ आएका फयङ साँबा हाङपाङ बिसमुरेका हाङबाङ र सिंङसोबाका सुनेबा भन्दा नयाँ तथा यक्सो र आङबुहाङ भन्दा पुराना बासिन्दा हुन्। उनीहरूको चुँङ्वा क्षेत्रलाई साँबाहरूको खुर्पेठ्याक क्षेत्र भनिन्छ। स्मरण रहोस्, वनजंगल फँडानी गरेर बसेको क्षेत्रलाई खुर्पेठ्याक  भनिन्छ।

साभार- फयङ साँबा वंशावली २०८१ Email: [email protected] – Copyright (c) 2024 Nawa Raj Subba