|

आत्मासितको साक्षात्कार रहेछ कविता

डा. नवराज सुब्बा ।

जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति मात्र हुन् भनेर आफैसित तर्किएँ । तर आफूले चाहेर लेखिने र नचाहेर नलेखिने चीज होइन रहेछ कविता । जसरी नमरौं भनिन्छ मरिन्छ, अब त मरे हुन्थ्यो भन्यो बाँचिन्छ, त्यस्तै रहेछ कविता, जति दिन बाँचिन्छ लेखिन्छ । मैले मेरो धुकधुकी ठानेको छु कवितालाई । आत्मा ठानेको छु सिर्जनालाई । कसैले मलाई भेट्न खोजे, छाम्‍न खोजे म कवितामै भेटिन्छु, आत्माको तहमैं भेटिन्छु ।

विगत २०७२ साल वैशाखमा नेपालमा ठूलो भूकम्प आएताका कवितासङ्ग्रह आधाउधि लेखिसकेको रहेछु । २०७७ सालमा कोरोना कोभिड १९ महामारीको दोस्रो लहर चल्दा हाम्रो हालत निकै बिग्रियो । भूकम्पको चोट र महामारीको पीडा र बीचमा राजनीतिको रापले मान्छेको दोहोलो काड्दा रचनाको चापले सङ्‍ग्रहको आकार लियो । एक दशकको अनुभूतिलाई एउटा मालामा उन्दा उचित होला भन्‍ठानें ।

भनिसकें, २०७२ सालको भूकम्प भन्दा निकै जेठा कविता बलबहादुरको कथा, न्यूटन र स्याउ यसभित्र छन् । मलाई कता कता डर के लाग्छ भने नेपाली पाठकले बीसौं शताब्दीसम्म पहाडमा ढुवानीका एक मात्र साधन ढाकर वा ढाक्रे थिए भन्ने कुरा आजका पुस्तालाई अचम्म लाग्दो हो । आजको पुस्ताले बलबहादुरहरूको पुरूषार्थ देखेकै छैनन् ! किनभने आज गाउँगाउँमा मोटर बाटो पुगेका छन् । पिठ्यूँमा बोक्ने चामल, नून, तेल, कपडा आदि गाडीले ल्याइदिएका छन् । धरानबाट साँगुरी भन्ज्याङ, धनकुटा टेकुनालाको भीर र उकालो, तीनजुरे पहाड, गुफापोखरी, गोर्जाटार, दोभान जस्ता भरीयाका पदयात्रालाई मोटरबाटो नागबेलीले पुरिदिएको छ । त्यहाँ हिडने बलबहादुर, उनको ढाकर र तोक्मा आज हराए । आज बलबहादुरहरूका रूप र भूगोल फेरिएका छन् । उनीहरू प्रवासीभूमि र मरूभूमिमा जोतिएका छन् । उसले ढाकर थन्क्याए पनि उहिले र अहिलेका बलबहादुरहरूका मेहनत र पसिनाको रङ्‍ग र सुगन्ध भने उस्तै नै छ । त्यसैले यो कवितालाई मैले जतनसाथ यस सङ्‍ग्रहमा सजाएको छु ।

२०७७ सालदेखि विश्‍वमा कोरोना महामारीको ताण्डवनृत्य देखायो । नेपालमा त्यसको झण्डै एक वर्षमा दोस्रो लहर आउँदा अस्पतालमा विरामीले बेड र अक्सिजन नपाउने हाहाकार भयो । जनता सुरूदेखि पीडित छँदै थिए उता स्वास्थ्य प्रणाली पनि विरामीको चापले अस्तव्यस्त हुन पुग्यो । ‘जब पर्यो राती अनि बुढी ताती’ भनेझैं राजनीतिक पार्टी र सरकारको किचलो अचाक्ली बढ्यो । देश हाँक्ने दलहरू सिद्धान्तहीन, विधिविधानहीन भए । फलस्वरूप दलहरू विसङ्‍गतिको दलदलमा फसे । जनताले भरोसा गर्ने ठाउँ नपाएर एक्ला र निरीह जस्ता भए । अब मुलुकको अस्तित्व सङ्‍कटमा पर्ने हो कि भन्ने चिन्ता थपियो । यसरी मुलुकमाथि मडारिएको अनिष्‍ठ बादलको छाया कवितामा पर्नु स्वभाविक छ ।

काव्यलेखनको यात्रा यहाँसम्म आइपुग्दा मैले आत्मसमीक्षा गरें । मेरा रचनाको प्रभावपरकता तथा भावपरकताको आत्मसमीक्षा गरें । काव्यमा उठाएका विचार, भाव र शिल्पलाई आफैले मूल्याङ्‍कन गरें । समकालीन कवितासित आफ्ना रचना तुलना गरें । आफूलाई कविको लहरमा उभ्याएर आफैले खोजें आफूलाई । मैले कविता, कवि र कवित्वलाई सुम्सुमाएँ, छामें । साहित्यिक बजार र वातावरणमा घुमफिर गरें । नेपालको राजनीति जस्तै साहित्यिक वातावरण पनि प्रदूषित पाएँ । मैले आरम्भमा अक्षर पढेर लेखक र साहित्य क्षेत्रको जुन परिकल्पना गरेको थिएँ वास्तविक मैदानमा उत्रदा भिन्‍न पाएँ ।

मानवशास्त्र र मनोविज्ञानका चस्माले आफूलाई पढि हेरें, दुनियाँतिर आँखा घुमाएँ । जोकोहीलाई नपच्‍ने एउटा अनौठो तथ्य फेला पारें । अध्ययनक्रममा मैले कवित्व र जोखना हेराइ तुलनीय पाएँ । समन वा धामीले आत्मा वा ईश्‍वरसित साक्षात्कार गर्ने क्षमता राख्दछ । अलौकिक शक्ति हासिल गर्न तथा अरूलाई प्रभावित तुल्याउन धामीले अनौंठा कृयाकलाप गर्ने गर्दछन् । उसले विभिन्न भावभङ्‍गीमा प्रस्तुत गर्दछ । पहिरन पनि बेग्लै किसिमको लगाउँछ । उसभित्र कवित्व र मनोविज्ञानको शक्ति हुन्छ । जोखना हेर्दाहेर्दै ऊ अर्धचेतन तथा अचेतन अवस्थामा पुग्दछ । मनोविज्ञान, आत्मवाद, जीववाद, तथा मानवशास्त्रीय दृष्किोणबाट हेर्दा समन वा धामीले जोखनामा संस्कृति, मनोविज्ञान, मन, आत्माका श्रृङ्‍खला पार गरेर एउटा निचोड पस्कन्छ । उसैगरी एक कविले पनि मनभित्र भावनालाई उरालेर जोखनासित कार्य-व्यापार गरी एउटा बिम्व टिप्दछ र सिर्जनामा उतार्दो रहेछ भन्ने थाहा भयो । यद्यपि धामीको जोखनाको तुलनामा कविको भावना र आत्मासितको लगाव तुलनात्मक रूपमा सतही हुन्छ ।

अब कवि, कलाकारका शैलीको टिप्पणी गरौं । कलाकार केस पाल्न रूचाउँछ उता कवि पनि दाह्री पाल्न मन पराउँछ । कलाकार कानमा गहना कुन्डल झुन्ड्याउन मनगर्छ उता कवि चुरोट पिउन, नसा सेवन गर्न, गम्भीर मुद्रामा बस्‍न रूचाउँछ । एकप्रकारले हेर्दा कवि कलाकारका व्यवहार असामाजिक लाग्छन् तर उनीहरू समाजलाई बाटो देखाएको ढोंग पिटेर थाक्दैनन् ।

कवि, कलाकारप्रति समाजको धारणा रोमान्चक बढी छ । समाजले कवि, कलाकारलाई मनोरन्जनको पात्र वा साधन बढी मान्दछ । बजारले पनि कलालाई एउटा वस्तु मान्दछ । यसका सर्जक कवि र कलाकारलाई पनि उही स्तरमा राख्दछ । यसैले राज्यले पनि कवि कलाकारलाई अलिकति दाम, पुरस्कार, मानसम्मान दिएर व्यवस्थापन गरिदिन्छ । साहित्यको रचनागर्भ र रचनामा तथा साहित्यकारको भूमिकालाई राज्य तथा समाजको व्यवहारले हस्तक्षेप गरेका छन् । आज बजारले कवि कलाकारका सिर्जनात्मक प्रतिभाको अवज्ञा मात्र गर्दैन, बिकाउ सामग्री लेख्‍नलाई प्रोत्साहित गर्छ । शक्तिको आडमा स्रष्टालाई पुरस्कार र मानको लालीपप देखाएर प्रसस्ती गाउन वा लेख्‍न लगाउँछ । यसरी आज कवि, कलाकार तथा सिर्जना वस्तुतुल्य बनेका हुन् । यतिसम्म कि, पैसा, शक्ति र पहुँचको बलमा चाटुकार स्रष्टाकै बुई चढेर कतिपय मानिस लेखक बनेका छन् । असली लेखक कुन नकली लेखक कुन छुट्याउन आज पाठकलाई हम्मे परेको छ । यसैले म आज बजारमा उपलब्ध साहित्य सामग्रीमा भरोसा गर्न सकिरहेको छैन ।

मनमा अनेक प्रश्‍न छन् जसको उत्तर म निरन्तर खोजिरहेको छु । विज्ञान, साहित्य, संस्कृति, मानवशास्त्र र मनोविज्ञान अध्ययन गर्दा मेरा जिज्ञाशा केही शान्त भएका पनि छन् । कविता लेख्दा एकप्रकारको शक्ति कहाँबाट कसरी आउँदो रहेछ भन्‍ने पनि थाहा भयो । संक्षेपमा भन्‍नुपर्दा मभित्र उत्पन्न हुने उर्जा र शक्तिलाई मैले धामीको जोखना हेर्ने कला र शक्ति तुलनीय पाएँ । यसमा मलाई सङ्‍कोच छैन, गर्व छ । यो कवि वा कवित्व धामीझाक्रीकै फरक रूप रहेछ । विश्‍वविद्यालयबाट आधुनिक शिक्षामा उपाधि हासिल गरेका कविलाई पुरातन धामीको जोखना शक्तिसित तुलना गरेको कसैलाई नपच्ला । तर मेरो अध्ययन र विश्‍लेषणले भन्छ- कवि धामीझाक्रीको कान्छो भाइ हो ।

समन वा धामीको कवित्व वा अलौकिक शक्तिले लोककथा, लोकगाथा, लोकसाहित्यको सिर्जना र संस्कृतिको निर्माण भयो । लोक धुकधुकी, लोकसाहित्यको आधारमा आधुनिक साहित्य निर्माण भएका हुन् । यसैले आधुनिक साहित्यको जग बसाल्ने प्राचीन कवि वा धामीझाक्रीको अस्तित्वलाई अश्‍वीकार गर्नु अल्पज्ञानको द्योतक हो । यति सुकिला मुकिला पुस्ताका त्यति अशिक्षित वा अन्धविश्‍वासी पुर्खा हुनै सक्दैनन् भन्नु पनि मानवशास्त्रीय चेत नखुल्नु हो । धामीझाक्रीले अवलम्बन गरेका आत्मवादी र जीववादी दृष्टि वा शक्तिबिना जो कोही मन, भावना, आत्मा, परमात्मा तहमा पुग्‍नै सक्दैन । अतः समन वा धामीको जीवन दर्शन र तिनका अभ्यास मेरा लागि एक आकर्षण, मानक र आदर्श पनि हुन् । धामीको जीवन दर्शन मेरो एक प्रिय आदर्श हो । एउटा धामी निस्फल कर्म गर्दछ, दाम, नामको आशा गर्दैन । अरूले खुसीले दिएकोमा जसरी धामी सन्तुष्ट हुन्छ, उसै गरी पाठकले जे जति शुभकामना दिन्छन् त्यसैमा मैले पनि चित्त बुझाउनु पर्दछ ।

मलाई यो पनि थाहा भयो, कवि आफूलाई जतिसुकै आधुनिक ठानोस् तर ऊ कहिल्यै पनि धामीझाक्री जस्तो महान हुन सक्दैन । धामीझाक्रीले आदिभौतिक ज्ञानको तहमा भावनामा खेलेर आत्मामा जसरी पौडी खेल्छ, त्यसको एक छेउ मात्र आधुनिक कविले गर्न सकेका छन् । धामीझाक्रीले आफ्नो जीवनको लगानी समाजको लागि निस्वार्थ रूपमा गरेका छन् । त्यसैले आज कुनै पनि धामीझाक्रीको घर गाउँमा खोज्दै जाँदा झुपडी मात्र पाउँछौं । उनीहरूले कुनै शासक र सत्ताको गीत गाएर कुनै पद, पैसा र प्रतिष्ठाको आस गर्दैनन् । उनीहरूको गुरूले नै भन्छ तिम्रो यो ज्ञान आफ्नो लागि काम लाग्दैन अरूका लागि मात्र काम लाग्छ । अरूको कुभलोमा यसको प्रयोग नगर । यो उसको जीवन दर्शन हो । तर कविको कलम आत्मकेन्द्रित, स्वार्थकेन्द्रित हुन्छ । कवि जे जति गर्छ स्वआनन्द, पद, पैसा र प्रतिष्ठाकै लागि गर्ने गर्दछ । धामीझाक्रीको जीवनमा आनन्द, सुख र स्वार्थ गौण हुन्छन् । कविमा मूल्य र मान्यतामा नि:स्वार्थ सेवा त्यति भेटिदैनन् । त्यसैले धामी र कविको साधन तथा साधना हेर्दा रूपमा समान देखिए तापनि सारमा भने ती दुईको साध्य फरक छ ।

धामीझाक्रीमा रहेको ज्ञान वाणी बनेर मुखबाट आउँछ । त्यो नै उनीहरूको शक्ति हो । उनीहरूको ध्यान नै साधनाको एक रूप हो । उनीहरू कहिल्यै पनि स्वार्थी मसी प्रयोग गर्न जान्दैनन् । यसैले हामी उनीहरूमा देवता उत्रेको विश्‍वास गर्दछौं । चाहे कसैले नमानोस्, यो समाजको जराजरामा धामीझाक्री परम्परा लुकेर बसेको छ । उसको अलिकति सिको मात्र हामी कविले आज गरेका रहेछौं । साँच्चै भन्‍ने हो भने उसको कला हामीले चोरेका रहेछौं । यसैले म आफूलाई कवि ठानेको बेला निसङ्‍कोच आत्मालोचना गर्दछु । मेरो यो काव्यमाला ‘जोखनामा वर्तमान’ लाई जोखनाकै एक प्रतिरूप हो ।

यस कवितासङ्‍ग्रह कविता, मुक्तक, छोंक र गीत संग्रहित छन् । यस काव्यसङ्ग्रहलाई विहङगम् दृष्टिले हेर्दा गाउँको चित्रण र स्वदेशको वर्णन छन् । प्राकृतिक र मानवसिर्जित आपदविपद्, जीवन र जगतका सुन्दर, विकृत दुवै विचार र भाव प्रकट भएका छन् । काव्यभित्र पूर्वीय वाङमयको दृष्टिले हेर्दा रस र अलङ्कारको प्रयोग भएका भेटिन्‍छन् । कविताका शब्दशक्तिमा अभिधा, लक्षणा र व्यञ्‍जना पाइन्छन् । जीवनोपयोगी सन्देश पनि काव्यमा गुट्मुट्याइएको छ । पाश्‍चात्य दृष्टिमा रचनाभित्र अस्तित्ववादी, अतियथार्थवादी र उत्तरआधुनिकवादी श्‍वर र शैली प्रस्तुत भएका छन् ।

यसमा संग्रहित कतिपय रचनाहरू अघि विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । अन्य कतिपय रचना सामाजिक सञ्‍जालमा पनि आइसकेका छन् । तिनलाई पाठकको प्रतिक्रियापश्‍चात् परिमार्जन गरेर सङ्‍ग्रहमा प्रस्तुत गरेको छु । धन्यवाद ।

Similar Posts

  • साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

    ‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको…

  • |

    Towards Immune Health

    Dr. Nawa Raj Subba Book Introduction This book is not just a theory but is a collection of practical counseling based on research findings on immune health. It has compiled new knowledges system presented in the chapters. The chapters are assessing immune health in the context of lifestyle focussing preventive measures. The book emphasizes the…

  • |

    बौद्धिक सम्पत्ति

    डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

  • सहिद सत्ता र स्वार्थ विरुद्ध

    डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…