ऐना र मानिस

ऐना र मानिस

परिचय

“ऐना र मानिस”डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ।

कविता

एक समय थियो—
मानिसले हेर्थ्यो आफ्नो अनुहार
कुनै शान्त पोखरीको पानीमा,
या प्रियसीका आँखाभित्र,
जहाँ देखिन्थ्यो उसको असली रूप—
र सपनाको उज्यालोमा
निस्किन्थ्यो यात्रामा।

तर अब—
मानिसको हातमा छ ऐना,
र उसले हेर्छ
आफ्नो अनुहार होइन,
अरूको तेज, अरूको चमक।
र त्यो चमकमा
उसको मन जल्न थाल्छ,
जसरी शितल जूनको प्रकाशमा
एकोहोरो निभ्दै जान्छ दीप।

अब गुलाफको सुवासले
उत्तेजित हुँदैन उस्को मन,
काँडाले मात्र चिथोर्न्छ उसको संवेदना।
अनि उसले हेर्छ आकाशतिर
गनिरहेको हुन्छ
जूनका दागहरू,
मानौं हरेक सौन्दर्यभित्र
एउटा दोष खोजिरहेछ ऊ।
अरूको मुस्कानमा
गहिरिन सक्दैन उस्को आत्मा,
बरु जम्दछ
हिउँ बनेर—
ईर्ष्याको आगोभित्र।
उसका लागि
मुस्कान—
अब रहस्य हो,
माया—
एक संशय।
शान्तिमा त्रास हुन्छ उसलाई,
किनकि त्यो मौनताले
उसको भित्रको अशान्ति देखाइदिन सक्छ।

त्यसैले—
उसले रातो रङ दल्छ ओठमा—
संघर्षको,
र प्रत्येक बिहान
कोरिरहन्छ
युद्धको नयाँ नयाँ रेखा
आफ्नै निधारमा।
उ लडिरहन्छ—
आफ्नो भित्रको अँध्यारोसँग होइन,
अरूको उज्यालोसँग।
हराउन खोजिरहन्छ सबैलाई—

तर जब ऐना टुट्छ,
त्यसमा देखिन्छ
छरिएको, चकनाचुर
उसैको अनुहार।

#Nepali poetry analysis, #Dr. Nawa Raj Subba poem meaning #modern Nepali identity poem #Aina ra Manis

ऐना र मानिस कविताको प्रमुख अर्थ र सन्देश:

– ऐनाको प्रयोग मार्फत आत्मविश्लेषण र आत्मविस्मृतिको कथा, – ईर्ष्या, प्रतिस्पर्धा, र सामाजिक तुलना, – सौन्दर्य र प्रेम प्रतिको संशय, र आत्मविश्वासको ह्रास, – युद्धको प्रतीक बनेको सौन्दर्य— आत्मिक अशान्तिको उद्घाटन

Thuprai      Internet Archive      Publication

Similar Posts

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….