अलबिदा कुमार कान्छा !

करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत एरेञ्जको केही काम र स्वर रेकर्डको काम एकैदिन सक्ने गरि स्टुडियो बुक गरिएको हुँदा म स्वर रेकर्ड गर्ने बेलामा अर्थात् अपरान्हतिर मात्र गुञ्जन स्टुडियोमा पुगें । म पुग्न अघिदेखि नै नरेन्द्र प्यासी रेकर्डको लागि अभ्यास गरिरहनु भएको रहेछ । सोही स्टुडियोमा अघिदेखि नै मेरो गीत सुनेर बसिरहेका कुमार कान्छा स्टुडियो छिर्नासाथ मलाई चिरपरिचित आँखाले हेर्दै स्वागत गरेको भाव मैले उनको अनुहारमा देखें । उनलाई चिन्न मलाई मुस्किल परेन ।

मैले उनको मुहार र नेपाल टेलिभिजनमा एकदशक अघि प्रशारित हुने “प्रीत बिना यो जीवन…” भन्ने गीत गाउँदाको उनको भावमुद्राको परिदृष्य झल्झली सम्झना आयो, जुन गीत मलाई असाध्यै मन पर्दछ । भेट हुनासाथ गायक नरेन्द्र प्यासीले हामीबीच औपचारिक परिचय गराउनु भयो । निकै अघि देखिकै परिचितझैं गरेर कुमार कान्छा एकैछिनमा मसित खुलेर कुरा गर्न थाल्नुभो । मेरो गीतको शब्द र संगीत दुवैको प्रशंसा गर्नुभयो । उहाँले यो गीतको बारेमा टिप्पणी गरेको म कहिल्यै भुल्दिन- “धेरै पछि यस्तो गीत सुन्न पाइयो, आजकल गीत कमै सुनिन्छन, बधाई छ नवराजजी ।” मलाई खुशी लाग्यो । मैले उनलाई बिना कञ्जुस्याई धन्यवाद दिएँ र लज्जाबोध गरें र कुरा अन्तै मोडें ।

झण्डै दुइतीन घण्टा बसियो होला स्टुडियोमा । यस अवधिमा मैले त्यहाँ रेकर्ड गर्ने कामका अतिरिक्त त्यहाँको क्रियाकलाप र कुमार कान्छाका हाऊभाऊ पनि बडो अभिरुचिपूर्वक नियालें । दुइतीनजना युवाहरू अघिदेखि नै कुमार कान्छासित झ्याम्मिएका जस्ता देखिन्थे । निकैबेरसम्म त मैले उतातिर ध्यान दिइन कुनै व्यक्चिगत कुराकानी होला भनेर, तर निकैबेर पछि जब कुमार कान्छा अलि ठूलो स्वरमा बोल्न थाल्नुभो तब त्यहाँ बस्ने म लगायतको उहाँप्रति ध्यानाकषिर्त भयो । उहाँ ती युवा भाइहरुलाई सम्झाइरहनु भएको थियो – “भाइहो ! मुर्म्बई गएर मात्र भविश्य बन्दैन, पहिले यही आफ्नो गायकीलाई परिस्कृत बनाउनोस्, जब आफूमा दक्षताको विकास हुन्छ, तबमात्र मुम्बइ जानु राम्रो हुन्छ, नत्र त्यहाँ धेरै दुःख पाइन्छ ।” वहाँको कुरा सुनेपछि हामीलाई ती युवाहरुले के कुरा गरिरहेका थिए भनेर खुट्याउन गाह्रो भएन । हामीतिर र्समर्थनको लागि इसारा गरेको ठानेर हामीले पनि वहाँको भनाइको र्समर्थनमा टाउको हल्लायौं ।

आज त्यही कुमार कान्छा बित्नु भएको समाचार सुनेपछि म स्तब्ध भएको छु । उनको त्यो भनाई, उनको त्यो उज्यालो मुहार, डेढ दशक अघिको उनको गीत “प्रीत बिना…” र “सोध्न मन लाग्छ” जुन गीतको रकर्डिङको दिन हाम्रो पहिलो भेट भएको थियो तर यो नै अन्तिम भेट हो भन्ने थाहा भएन सोही गीत पनि म एकसाथ सम्झिरहेको छु । मैले मेरो कम्प्युटरमा संग्रह गरि राखेको फोल्डर खोल्दै उनीसित खिचाएका तस्वीर छान्दैछु अहिले । निकै अघिदेखि जुनबेलादेखि वहाँ अस्पतालमा मृत्युसित लडिरहनु भएको थियो उसैबेलादेखि केही लेख्न मैले गरेको विचारलाई आज थाम्न नसकेर यी श्रद्धाञ्जलीका हरफहरु कोर्दैछु ।

मानिस जन्मेपछि मर्नुपर्छ यो ध्रुवसत्य हो तर यो अल्पायु भो भन्ने मात्र मेरो गुनासो हो । तर मलाई यस अर्थमा सन्तुष्टि पनि छ कि उहाँको मृत्युमा म जस्तै धेरै फ्यानहरु रोएका छन् र मृत्युको मुखबाट उम्काउन उनलाई सक्दो आर्थिक सहयोग र भगवानसित प्रार्थना पनि गरेका छन् । नखोसिनु खोसिए पछि अब कोसित के मागौं र ! तै पनि ती महान गायक स्वर्गीय कुमार कान्छालाई उनका कैंयौं शुभचिन्तकहरुको मायाले उनको त्यो चीरनिद्रा शान्तमय होस् । दुखैदुखमा बाँचेको काँडैकाँडामा फूलेको उनको जीवनमा बगाउन बाँकी आँशु अब उनका शुभचिन्तकहरूले नै बगाइ दिनेछन् । जे नहुनु थियो अखिर भयो, कसैसित गुनासो नगरिकन जाऊ है कुमार कान्छा ! तिमीलाई दिने यो नवराजसित के नै छ र तैपनि तिमीलाई कुनै बेला छोएको यो मेरो गीत म सुनाउँछु सबै पाठक र श्रोताहरू मार्फत्, बिदा है कुमार कान्छा अलबिदा !

सोध्न मन लाग्छ प्रितम भेट्न मन लाग्छ
नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँ देखि हुन्छ
संसार साँच्चै घुम्छ भने भेट कैले हुन्छ ।

जति हिंडे पनि कतै पाउँदिन म चौतारी
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।

Song Audio>>> http://www.box.net/shared/8vk44vc41d

Similar Posts

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…

  • धन्यवाद तथा आभार प्रकट

    करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि…

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

Leave a Reply