कर्णालीको आँसु

डा. नवराज सुब्बा

झुल्किएको छैन बिहान अझै,  

ओठमा हिउँको कठोर सिप्रा जमेको छ ।  

किनकि घामको स्पर्श यहाँ,  

समयभन्दा धेरै ढिलो आइपुग्छ । 

यो मन कहिले आशाले तात्छ,  

कहिले निराशाको पर्खालमा कठोर बन्छ ।  

बाँच्न त बाँचेको छु भन्छु,  

स्वासले अझै हार मानेको छैन ।  

मेरा पीडा कर्णालीझैँ बगिरहेछ,  

नुनिलो भेलमा बिलाइरहेछ ।  

एउटा झिनो भरोसाले मात्र,  

टेक्न खोज्दैछ यो थकित देह ।

राज्यको कृपाले छरिएका  

नुनिला पसिना र आँसुहरू,  

यी दुई हातले थाप्दै थाप्दै  

घुट्को निल्न बाध्य छौँ ।  

शिरमा बोकेका छौँ—  

बिस्मृतिको भारी,  

जसले थिच्दै लगेको छ  

आशाका हरिया बिहानी ।  

कति धेरै मन्त्री पायो कर्णालीले,  

तर कसैले पु‍¥याएन कर्णालीलाई  

न्यानो अँगालो, पेटभरि चामल ।  

नुनको स्वाद अझै सपना जस्तै छ ।

जसरी आकाशमा झुन्डिएको जून,  

छुन खोज्दा हरेकपटक टाढिन्छ ।  

जसरी उर्दँदै आएको छाल,  

प्यास नमेटिँदै बिलाएर जान्छ ।

त्यसरी नै आशाका दियोहरू,  

हावाले फुक्दा निभ्दै जान्छन्।

समयको भेलमा तैरिएर,  

सपनाहरू बालुवा बन्छन्।  

ओठमा मुस्कान टाँसिए पनि,  

मुटुभित्र बन्धकी दुखाइ छ ।  

खसेका आँसुका थोपा जस्तै,  

हराउँछन् सपनाहरू चुपचाप ।  

छायाँझैं पछ्याउँछ पीर,  

पानीसँग बगेर पनि तुरेन 

हावासित बहेर पनि गएन।  

मनको आकाश खुल्ला छ तर,  

घामले पाइला खै अझै टेक्दैन ।  

Similar Posts