नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदैछु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन् टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !

साभारः बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह २०६५

Similar Posts

  • The Voice of Mukkumling

    Dr. Nawa Raj Subba The Voice of Mukkumlung: A Poetic Tribute to History and IdentityBy Dr. Nawa Raj Subba Mukkumlung, a sacred Limbu heritage site, reverberates with history, spirituality and struggle. Sacred stones around it sing the song of past generations who speak of Sirijanga and Yalambar with reverence. Mukkumlung is more than a place; it stands…

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

Leave a Reply