नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदैछु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन् टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !

साभारः बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह २०६५

Similar Posts

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

Leave a Reply