नदी निदाएको बेला

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदैछु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन् टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !

साभारः बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह २०६५

Similar Posts

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • श्रद्धाञ्जलि !

    हिमाल हेर्दै तिमी कति खुसी हुन्थ्यौ तस्बिर टागेर भित्तामा कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी सायद सोच्दथ्यौ होला म पनि हिमालजस्तै अग्लो हुन पाउँ

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

Leave a Reply