निर्मलाको नियति !

मैले
यति कुरुप आकाश
आजसम्म देखेकै थिएन ।
आज म माथिको
आकाशमा घाम छैन
जून छैन, तारा छैन
आकाशमा हावा छैन आज
वर्षा गराउने एक टुक्रा बादल छैन
उडिरहेका छैनन् आज आकाशमा चरा
परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी
पुतली या कुनै सुगन्ध छैनन्
आकाशमा त आज
बारुदको मुस्लो उडिरहेको छ
बेला बेला मेघले झैं
छातीमैं बमको चट्याङ हानेर
बमवर्षक बिमानहरु
लस्करै उत्तरदक्षिण उडिरहेछन्
यो निर्मल आकाशमा
मैले यत्ति कुरुप दृष्य
कहिल्यै सोचेकै थिइन ।
घरघरमा अगेनामा
शत्रुता बलिरहेको छ
गुनको नून बिर्सेर अर्थात्
आगो पैंचो ल्याउने लैजाने
छिमेकी बीचमा अनि
एउटै कुवाको एउटै धाराको
पानी खाने गाउँलेबीचमा
आज कुनै बेइमानले
विष घोलिदिएको छ
नयाँ चश्मा भिराइ दिएको छ
अनुहार नमिलेको निहँुमा
भाषा नमिलेको निहुँमा
भेष फरक भएको निहँुमा शत्रुता र
एक अर्कामा बद्लाभाव जन्मेको छ
यति स्वच्छ आकाशको प्रकाश
आज यति भद्दा अनि कुरुप होला भनेर
मैले जिन्दगीमा कहिल्यै सोचेको थिएन ।

नदेख्नु पर्ने कुरा देख्नलाई नै सायद
पाएका हौंला हामीले यी दुईदुई आँखा
हाम्रा बुद्धका आँखा थिए ती त खोसिए
हाम्रो प्यारो अस्मिता थियो त्यो पनि लुटियो
यस्तो लाग्छ, एउटी गरिव कोखमा जन्मेकी
कुनै अभागी युवतिको वैंश जस्तो रहेछ हाम्रो रहर
जो कुनै पनि बेला ठूलाठालूबाटै बलत्कृत हुन्छिन्
अबैध सन्तानहरू जन्मन्छन्
तर कुनै पिता देखिने छैनन्
कानूनले दिएको पिता बिनाको नागरिकताको
प्रमाणपत्र हुनेछन् हाम्रा हात हातमा
अभागी निर्मलाको आकासमा
कहिल्यै सहनाईको धून नबज्दै
एकदिन उनी बूढीआमा हुनेछिन् ।
निर्मला !
तिम्रो निधारमा
तिम्रो सिउँदोमा
तिम्रो आकाशमा
अर्थात् तिम्रो भाग्य
यति अभागी होला
यति कुरुप होला भनेर
रामाराम मैले सय मनमा
एक मन पनि सोचेको थिएन ।

भाद्र ९, २०६९ विराटनगर नेपाल ।

Similar Posts

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • चरा, तिर्खा, पानी र शहर

    – नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…

Leave a Reply