मेरो जीवन यात्रा

  • नवराज सुब्बा

मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ । मेरो जन्म आजभन्दा ४७ वर्षन्दा अघि दुर्गम पूर्वी हिमाली ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको हो । मेरी आमाको नाम नरमाया सुब्बा र बूबाको नाम आइतराज सुब्बा हो । हाल मेरो परिवारमा श्रीमति, दुइ छोरा, एक बुहारीका अतिरिक्त सासु र भतिज गरि सात जना छौं ।

मैले मेरो गाउँकै सरस्वती माध्यमिक विद्यालयमा शिक्षा आरम्भ गरें । र एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरें । उसबेला गाउँबाट पहिलो श्रेणीमा एस.एल.सी. बिरलैले मात्र पास गर्दथे । एस.एल.सी. मा मैले राम्रो स्थान ल्याएकाले मलाई काममाडौंमा गएर उच्च शिक्षा हासिल गर्न सबैले हौसला दिए ।

वि.स.२०३४ सालमा काठमाण्डौं गएँ । क्याम्पसको प्रवेश परीक्षामा सामेल भएँ र महाराजगञ्ज क्याम्पसमा भर्ना भएँ । त्यहाँ मैले छात्रवृत्ति पनि पाएँ । करिव ३ वर्ष जति पढे पछि म आफ्नै गाउँमा स्वास्थ्य चौकीमा प्रमुख भएर आएँ । र करिव ३ वर्ष जति मैले आफ्नै गाउँको सेवा गरें । यसरी म कलिलै उमेरदेखि स्वास्थ्य सेवामा लागें । २०३७ सालमा स्वास्थ्य मंत्रालयको पाँचौं तहको सहायक पदबाट सुरु गरेर हाल म दशौं तहको अधिकृत पदमा पुग्न मैले धेरै ठूलो संघर्ष गर्नुपर्‍यो ।

जागिरकै दौरानमा मैले आफ्नो अध्ययनलाई पनि निरन्तर जारी राखें । त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य र नेपालीमा स्नातकोत्तर गरें । राष्ट्रसेवामा समर्पित छु यसले मात्र आफ्ना सिर्जनात्मक प्रतिभा थिचिन नमानेर साहित्यिक सिर्जना भएर उम्रन खोज्छन् । यसैले साहित्य सिर्जनाको क्षेत्रमा पनि उत्तिकै समर्पित हुन खोज्दछु ।

हुन त म बाल्यकालदेखि नै कक्षाकोठा भित्रको एक जेहेन्दार छात्र मात्र नभएर विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ । बाल्यकालमा कविता, निवन्ध लेखेर प्रतियोगिताहरूमा सहभागी हुन्थें र विजयी पनि भएँ । म गीत गाउँथें, कतिपय गीतमा संगीत पनि भरें । तर यो मेरो गायन क्षेत्र चाहिँ अहिले टुट्यो । अहिले म गीत रचना मात्र गर्छु ।

खेलकूदतर्फमलाई फूटबल र ब्याडमिण्टन खूब मन पर्छ । केटाकेटीमा यति फूटबल खेलें कि मेरा खुट्टाका चोट नलागेका कुनै औंला थिएनन् । ब्याडमिण्टन खेलमा मैले विद्यालयमा मलाइ सिकाउने गुरुलाई पनि हराएँ, र उनले तेह्रथूम जिल्लाको आठर्राई सक्रान्तीमा लाग्ने मदन मेलामा प्रतियोगितामा भाग लिन पठाए । त्यहाँ मैले मेरा अभिभावक उमेरका खेलाडीहरूलाई हराएँ । मलाई सानो फूच्चे देखेर होला सबै दर्शकले मेरै पक्षमा हुटिङ गरि खेलमा प्रोत्साहित गरे । क्याम्पस स्तरमा पनि म आफ्नो क्याम्पसको ब्याडमिण्टन च्याम्पियन नै थिएँ । यो पनि अहिले टुट्यो ।

क्याम्पस जीवन ३०३४-३७ सालतिर म महाराजगंज क्याम्पसबाट निस्कने भित्तेपत्रिका ‘सुनगाभा’को सम्पादक थिएँ । यसमा विशेष साहित्यिक सामग्रीहरू प्रकाशित गरिन्थ्यो । लामो समयसम्म प्रतिवन्धित रहेको विद्यार्थी यूनियन २०३६ सालमा पुनस्थापित भए पछि म क्याम्पसको विद्यार्थी यूनियनमा पनि निर्वाचित भएँ । यसरी क्याम्पसमा पनि साहित्यिक र साँस्कृतिक कार्यक्रमको संयोजन गर्ने गर्दथें । यसबेलातिर अर्थात् २०३५ सालतिर मेरा मित्र सूर्य थुलुङको स्वर र संगीतमा एउटा आधुनिक गीत रेडियो नेपालमा रेकर्डिङ गरें । मैले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा पनि भाग पनि लिएँ । मेरो रचनाको गीत त्यसबेला रेडियो नेपालबाट प्रकाशित हुने ‘झंकार’ पत्रिकामा पनि प्रकाशित भएको थियो ।

२०३७ सालदेखि म देशको दर्ुगम जिल्लाहरूमा स्वास्थ्य सेवामा लागें । शहर पुग्न अर्थात् धरान पुग्न कस्सिएर हिंड्दा तीन दिन लाग्दथ्यो । मैले धेरै साहित्यिक रचना २०३०, २०४० र २०५० का दशकमा लेखें । यसलाई छपाउन धेरै प्रयत्न गरें तर यसको छेउटुप्पै भेटिन । गोपालप्रसाद रिमालले ‘कुनै एक दिन’ अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त भने थिएँ । कविता लेख्दै, राख्दै गरें । र २०३५ सालदेखि २०६१ सालसम्मका रचनाको ‘जीवन मेरो शव्दकोशमा’ कवितासङ्ग्रह २०६१ सालमा प्रकाशित गरें । नेपाली साहित्य जगतमा मैले कवितासङ्ग्रह ‘जीवन मेरो शव्दकोशमा’ र निबन्धसङ्ग्रह ‘मनको मझेरी’ प्रकाशित भएपछि भने मलाई पाठकहरू, स्रष्टाहरू र सञ्चार जगतले चिने र मेरा रचनाले निकै चर्चा पनि पाए ।

स्वास्थ्य चौकीमा औषधी व्यवस्थापन कार्यक्रम सफलतापर्ूवक सञ्चालन गरेर लगातार तीन वर्षप्रथम घोषित भएपछि २०४७ सालमा मैले ‘गोरखादक्षिणबाहु’ पाएँ । जीवनमा राजाबाट कुनैदिन तक्मा पाउँला भन्ने आशा त के कल्पनासम्म पनि मैले गरेको थिइन । तर रेडियो सुनेर अचम्म, खुशी र पछि गर्व लाग्यो । यो तक्मा मैले कसैको नाजायज सिफारिस वा कृपाले पाएको होइन भन्ने मलाई पूर्ण विश्वास छ । हाल आएर म त्यति सम्मानलायक नभए पनि मेरो साहित्यिक योगदानलाई हेरेर धेरै साहित्यिक प्रतिष्ठानहरूले मलाई सम्मान गरेका छन् । यो मेरो योगदान भन्दा बढी नै भयो होला जस्तो पनि लाग्छ । श्री मोहन रेग्मी स्मृति वाणी पुरस्कार, नवरङ्ग साहित्य प्रतिष्ठान सम्मान, नाट्येश्वर प्रतिष्ठान सम्मान मैले प्राप्त गरें । हालै बबरसिंह थापा स्मृति सम्मान पुरस्कार पनि मलाई दिने घोषणा गरिएको सुनेको छु । यसले मलाई मेरो साहित्यिक यात्रामा उर्जा थपेको छ अर्थात् जिम्मेवारीबोध गराएको छ ।

हालै सम्पन्न ‘प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ मा म प्रथम स्थान हासिल गर्न सफल भएँ । प्रतियोगितामा २७ देशका १०३ जना प्रतियोगीहरू थिए । विश्वस्तरमा भएको यस प्रतियोगितामा नेपालमा बस्ने नेपालीले उक्त प्रतियोगिता जितेकोमा अझ खुशी भएँ । यो घटना परम्परागत साहित्य जगतमा सूचना र प्रविधिको उपयोग भएको एउटा नयाँ सुरुवात थियो । यो केवल नयाँ परम्पराको उद्घाटन मात्र नभएर नयाँ आयामको विस्तार भएको ऐतिहासिक घटना हो भन्ने मैले ठानेको छु ।

अध्ययन अनुसन्धान मेरो रुचीको क्षेत्र हो । मैले सामाजिक क्षेत्रका विविध विषयमा अनुसंधान गरें र अझै पनि गर्दैछु । यो क्षेत्रमा कार्य गर्दा मलाई बौद्धिकता बढेको अनुभव हुन्छ । यसले सामाजिक क्षेत्रमा बेग्लै योगदान पुग्छ र सन्तुष्टि पनि मिल्छ । तर साहित्य सिर्जना गर्दा भने अझ आम जीवन र जगतको ज्यादै निकटता, हार्दिकपन मिल्दोरहेछ । यसैले पनि म यस जगतसित निरन्तर आकषिर्त छु ।

हाल म नयाँ कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ प्रकाशनको तैयारीमा छु । ‘नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली, दलित होस् वा तागाधारी हामी नेपाली’ बोलको राष्ट्रियगीत लोकप्रिय बनेपछि यसबाट उत्साहित भएर, हाल म अरू राष्ट्रियगीत र आधुनिकगीत रचना र रेकर्ड गर्दैछु । आशा छ, आगामी दिनमा म मेरा विद्वान पाठकहरूलाई नयाँ कवितासङ्ग्रह मात्र होइन म मेरा प्रिय श्रोताहरूलाई नयाँ गीतले पनि स्वागत गर्नेछु । धन्यवाद †

लेखन मिति- २०६४ चैत्र, साझामञ्च साप्ताहिक १८ बैशाख २०६५, अन्नपूर्ण दैनिक, बैशाख २०६५

Similar Posts

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब

    “आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ” र “नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली” जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल  “नवराज सुब्बाको प्रतिबिम्ब श्रव्यदृष्य अभिलेख भाग- १” विराटनगरमा लोकार्पण गरियो । वाणी प्रकाशनमा शुक्रबार आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल र वरिष्ठ कवि कृष्णभूषण…

  • फेसबुकबाट पुस्तक लोकार्पण

    श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो ।…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

    भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ ।…

Leave a Reply