नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

त्यसबेला धेरैले ‘ठूली ठूली’ भनेर मलाई आशिर्वाद दिए । कसैले ‘जम्दार हुनु’ ‘सुब्दार हुनु’ भनेर आशिर्वाद दिए । कसैकसैले ‘जर्नेल हुनु’ ‘कर्नेल हुनु’ भनेर पनि आशिर्वाद दिए । तर मलाई भने सानोमा पाइलट बन्ने इच्छा थियो । किनभने कहिलेकाहीँ हाम्रो गाउँमाथिको आकाशमा हवाइजहाज, हेलिकप्टर उड्ने गर्दथ्यो त्यो देखेपछि मलाई भित्रैदेखि पाइलट हुने इच्छा जागेको थियो । ‘पछि तँ के हुन्छस् हँ ?’ भनेर कसैले सोद्धाखेरि म सोही इच्छा प्रकट गर्ने गर्दथें । त्यो थाहा पाउने कतिपयले मलाई ‘पाइलट हुनु’ भनेर पनि आशिर्वाद दिएका थिए । तर त्यो पूरा भएन ।

मेरो घरमा दोकान पनि थियो । दोकानमा ग्राहकहरू शिव बिडी, गणेश बिडी किन्दथे । कसैले आशा चुरोट, गैंडा चुरोट र हुनेखानेले चाहिँ याक चुरोट किन्दथे । र त्यो सल्काउन कतिपयले मलाई ‘आगो ले ले ! नवराज !’ भन्दथे । म पनि बडो फुर्तिकासाथ चुल्होमा पुग्दथें; आगो लिन । आज्ञाकारी बालकझैं चुल्होबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिन्थें । कहिले बल्दै गरेको दाउरा तानेर खुरुखुरु ल्याइदिन्थें । कहिलेकाहीँ त आमाले भर्खरै बल्न थालेको दाउरै उठाएर लुरुलुरु ल्याइदिन्थें । यसरी आगो झिक्दा अगेना निभेमा आमाको खप्की खानु पर्दथ्यो, त्यसैले त्यो काम प्रायः म आमाको आँखा छलेर गर्ने गर्दथें । त्यसबेला आगो पुर्‍याए पछि म उपर बर्सने आशिर्वाद पाएर म बुझिनबुझि फुरुङ्ग हुन्थें ।

उसबेला म सायद चुल्होबाट आगो जेनतेन ल्याउनसक्ने त्यस्तै चारपाँच वर्षो बालक हुँदो हुँ । त्यसबेला कहिले काहिँ मलाई मनमा एकप्रकारको जिज्ञाशा उठ्ने गर्दथ्यो- ‘कस्तो हुन्छ होला ? त्यो सूर्तीको स्वाद’ भनेर । एकपटक मैले उनीहरूले फालेका ठूटा उनीहरू उठेर गएपछि सल्काएर चाखें । तर, अहँ मलाई त्यो बन्दै मीठो लागेन । मलाई त्यसको स्वाद पटक्कै मन परेन ।

मलाई सानोमा मिठाइ असाध्यै मन पर्थ्यो । घरैमा दोकान भएकोले चोर्दै भए पनि म मिठाइ अलि बढी नै खान्थें । मुखको सरसफाई नपुगेर होला सानैमा मेरो दाँत किराले खायो । त्यसबेला अहिले जस्तो अस्पताल जाने र उपचार गर्ने चलन थिएन । घरैमा घरेलु उपचार गर्ने गरिन्थ्यो र केही नलागे पछि मात्र अस्पताल खोजिन्थ्यो । फेरि त्यसबेला अहिले जस्तो गाउँगाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी हुदैनथे । म त्यसबेला आफ्ना पीर ठूलालाई भन्न डराउँथें । ‘तैले मिठाइ धेर खाएर त त्यस्तो भएको हो नि !’ भनेर उल्टै बाआमाको गाली गर्दथे, त्यसैले रोगलाई खप्न सकुन्जेल म आफैं खप्दथें । बरू निको पार्न आफै अनेंक प्रयत्न गर्दथें । दाँत दुखेको ठाउँमा के लाउँदाखेरि, के गर्दाखेरि अथवा के खाँदाखेरि जाती होला भनेर छट्पटाइरहन्थें । दाँत दुखेर खपिनसक्नु भएको बेला ‘दुख्यो !’ भनेर म बाआमालाई भन्न खोज्दथें तर घरमा राखिएको फलामको किला च्याप्ने सनासोले दाँत च्यापेर जबर्जस्ती फुकालिदेलान् कि भन्ने डर थियो । एकदुइपटक यस्तै सनासाले दाँत च्यापेर फुकाल्दा मलाई सारै दुखेको थियो । त्यसबेला मेरो गाउँ हाङपाङ ताप्लेजुङमा अहिलेको जस्तो सुइ लगाएर अर्थात गिजा लट्याएर दाँत उखेल्ने चलन थिएन ।

एकदिन एकजना अलि जाती खालका अभिभावकसमक्ष मैले मेरो व्यथा फुकाएँ । उनले किराले खाएको ठाउँमा बट्टेखैनी लगाऊ भनेर उनीसंगै भएको खैनी झिकेर दिए र लगाएँ तर झण्डै उल्टी आयो । छिमेकी साथी सन्तोषले भन्यो- ‘बिँडी खा न ! त्यसको धुवाँले किरा मर्छ’ । उसले उदाहरण स्वरूप ‘हेर फलाना मान्छे कत्ति सूर्ती खान्छ त्यसको कहिल्यै दाँत दुखेको देख्याछस् -‘ भनेर भन्थ्यो, मलाई पनि हो कि जस्तो लाग्यो ।

दाँतको त्यो पीडा दमन गर्न मैले निकै समयसम्म अनेक उपाय खोजें । एकदिन सहपाठी निलेलाई हाइस्कूलको खेलमैदानको एकान्त कुनामा अलि छेलिएर तर बडो ठाँटले बिडी तान्दै गरेको देखें । चुरोटको खरानी झार्न औंला पड्काउँदै अभिभावकहरूको दुरुस्त नक्कल गर्दै उसले पनि औंला फड्काएको देखेर म चकित परें । जीवनमा पहिलोचोटी कुनै विद्यार्थीले चुरोट खाएको देखें । यसबेला म त्यस्तै सात आठ वर्षो थिएँ होला । आर्श्चर्य, डर र उत्सुकता एकसाथ जाग्यो । ‘के खा’को ? किन खा’को ? कस्तो हुन्छ ?’ भन्ने सवालको जवाफमा उसले धेरै कुरा बतायो । ‘मैले फलाना सरको देखासिकी गरेको हुँ !’ ‘हेर, यो खायो भने जाडो भाग्छ, तेरै घरबाट त किनेर ल्याएको हो नि ! बरु तँ पनि झिकेर खा न ! हेर तेरो दाँतको किरा पनि धुवाँले मर्छ’ भनेर सिकायो । उसले सरलाई भन्देला भन्ठानेर हो वा किन हो मलाई धेरैबेर राखेर मजाले सम्झायो र भन्यो- ‘हेर भान्सामा भएका काठपात धुवाँले गर्दा किराले खाँदैनन्, त्यस्तै त हो नि दाँत पनि !’ भनेर सूर्ती खान मलाई उक्साउनसम्म उक्सायो । उसका कुराले म निकै प्रभावित भएँ र त्यसपछि मैले लुकिछिपी एक दुइ मूठा बिडी बाआमाका आँखा छलेर दोकानबाट चोरेर खाएँ ।

यसरी मैले सूर्ती खान थालेको एकमहिना जति पनि बित्न नपाउँदै दुर्घटना भयो (उसबेलाको लागि) । एकदिन हाम्रो सरस्वती हाइस्कूलमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । जसलाई हामी ‘नाटक’ भन्दथ्यौं । नाटक साँझमा हुने गर्दथ्यो । नाटक हेर्न पाइने भो भनेर त्यसबेला हामी स-साना विद्यार्थीका भुइँमा खुट्टा हुँदैनथे । ‘आज स्कूलमा नाटक छ’ भनेर आमालाई कन्याएर छिटो छिटो खाना बनाइमागेर साँझ नपर्दै हामी नाटकस्थलमा पुग्दथ्यौं । बेलैमा नाटक मञ्चन हुने स्थलमा पुगेर मञ्च तैयारी गरेको, माइक परीक्षण गरेको, कलाकारहरूको हाऊभाऊ, गुरुहरू र दाइदिदीहरूले चाँजोपाँजो मिलाएको हेर्न मजा लाग्दथ्यो । त्यसबेला केटामान्छे केटी बनेको अनि केटीमान्छे केटा बनेको हेर्न झन् रमाइलो लाग्थ्यो ।

त्यो दिन साँझ परिसकेको थियो तर नाटक सुरू भैसकेको चाहिँ थिएन । मैदानको एक छेऊमा छेलिएर म, शंकर र योवन तीनभाई मजाले गफ हाँक्दै बिँडी तान्दै थियौं । हेडसर गणेशबहादुर राइको डेराबाट एकजना मानिस हातमा टर्चलाइट बालेर हामीतिर आयो । हामी हेडसरको डेरा र साँस्कृतिक कार्यक्रमस्थलको करिव बीचमा थियौं । दिउँसैदेखि दाइदिदीहरू हेडसरको डेरा र मञ्चमा ओहोरदोहोर गर्दै थिए । कोही विद्यार्थी दाई वा दिदी आएको होलान् भन्ठान्यौं र टर्चलाइटलाई उति ध्यान दिएनौं । तर अचम्म † त्यो र्टचलाइट त हामीतिरै पो तर्ेर्सियो । ‘को हँ’ भनेर सोध्ने टर्चलाइटवाला त कुनै दाइ नभएर हेडसर गणेशबहादुर राइ पो रहेछन् । उनको अनुहार अँधेरोमा देखिएन तर उनको आवाज र खप्की चिनिहाल्यौं । हत्तपत्त हातको बिडी पछाडी लग्दै अर्को हातले माडमुड गरेर आगो मार्दै त्यहाँबाट कुलेलम ठोक्यौं । त्यसबेला हाम्रो हंसले ठाउँ छाड्यो । किनभने हामीलाई थाहा थियो हेडसर अति कठोर हुनुहुन्छ, उहाँले बेतले हातमा हिर्काउँदाखेरि तर्तरी रगत आउँछ भनिन्थ्यो । हामी उहाँलाई सिधै हेर्न पनि डराउँथ्यौं ।

अब नाटक अर्थात् साँस्कृतिक कार्यक्रम हेर्ने हाम्रो उत्साह हावा फुस्केको भकुण्डोझैं चाउरीपर्‍यो र हामी सल्याकसुलुक पर्‍यौं । तैपनि नाटक हेर्न बिरालाझैं सुटुक्क दर्शकका बीचमा घुस्रियौं । कार्यक्रम सुरू हुने बेलामा विद्यार्थी यूनियनका सभापति लक्ष्मीप्रसाद प्रसाइले माइकबाट ‘एउटा अत्यन्त जरूरी सूचना’ भनेर उद्घोषण गरे । उनले भने- ‘आज केही विद्यार्थीहरूले विद्यालय परिसरमा अनुशासनहीन काम गरेको हुदा, ती विद्यार्थीहरूलाई भोलि कडासेकडा कारवाही गरिनेछ ।’ यो सूचना हामीलाई नै लक्षित गरेर प्रसारण गरेको जस्तो लाग्यो र सुनेपछि मलाई सपना हो कि विपनाझैं भो । ‘त्यसै त बुहारी भट्मास खाएकी’ भनेझैं त्यसै त यसअघि नै हराएको हाम्रो सातो त्यसमाथि त्यो सूचनाले त झन् अब हाम्रा बाँच्ने दिन गएछन् भन्ने लाग्यो र सारै निराश भएँ । त्यसै त्यसै रुन मन लागेर आयो । तर कसको सामू के भनेर रुनु र ! सायद, घरमा बाआमाका कुटाइ खाँदाखाँदा अनि स्कुलमा गुरुहरूका खप्की र कुटाइले होला मलाई हरेक दुखाइमा मरिन्छ कि भनेर डर लाग्दथ्यो । यसैले सायद मभित्र हिँसाप्रति सानैदेखि त्रास र त्यो भन्दा बढी घृणा उत्पन्न भयो । म बालक स्वभाविक रूपमा स्वच्छन्द भएर बाँच्न, हाँस्न र खेल्न खोज्दथें र किताबलाई गत्ता लगाएर राखेजस्तै गरेर जीवनलाई जानीनजानीकनै सारै जतन गर्दथें । तर आफ्ना पीडा आफ्ना बाआमालाई व्यक्त गर्न नसक्ने म लठुवा दिनभर साथीसंग भने रुञ्चे हाँसो मात्र हाँसें । सपनामा पनि कतिचोटी त म आफै मरेको देखें ।

हामीलाई भोलि के कारवाही होला भनेर स्कूल नजाउँ भन्ने पनि लाग्यो तर के गर्नु ! नगए बाआमाले नै कुटिहाल्छन् । सरहरूले त झन् के बाँकी राख्लान् र ! भन्ने लाग्यो । जेहोस्, नून खाएको कुखुराझैं स्कूल गइयो । र धेरै दिनसम्म सातो हराएको विरामीझैं भएँ म । राती नाटक हेर्दा पो तर्सिएर सातो गयो होला भनेर आमाले फेदाङ्बा लगाइ दिनुभयो ।

अहिले सम्झँदा लाग्छ; उसबेला हेडसरले तथा लक्ष्मीदाइले हामीलाई तर्साउनु भएको मात्र रहेछ । त्यसबेला घटेको यो घटना मेरो निम्ति उसबेला दुर्घटना भए पनि आखिर अहिले ओखती नै सावित भयो । जसले ममा भर्खरै सुरु हुन लागेको सूर्ती खाने कुलतलाई चटक्कै चुँडाइदियो । उसबेला हेडसरको खप्की नखाएको भए सायद म यतिबेला चुरोट खाइरहेकै हुन्थेंहोला । माइकबाट लक्ष्मीदाइले त्यसरी डर नदेखाएको भए यतिबेला चुरोट खाँदा लाग्ने रोगले सायद मलाइ पनि च्यापिसकेको हुन्थ्यो होला । वास्तवमा, ‘ओखती र अर्ती तीतो हुन्छ’ भनेको ठिकै रहेछ ।

एक स्वास्थ्यकर्मीको हैसियतले म धुम्रपानबारे लेखरचना पत्रपत्रिकामा छपाएर जनचेतना फैलाउने कोशिस गर्दछु । कहिलेकाहीँ विद्यालयमा गएर ‘धुम्रपान गर्नु हुँदैन, अर्थात् सूर्ती खान हुँदैन है भाइबैनी हो !’ भनेर धुम्रपानबारे विद्यार्थी भाइबैनीलाइ सम्झाउँने पनि गर्दछु । मलाई कसैकसैले भन्छन् ‘फलाना डाक्टर आफै चुरोट खान्छ तर अरुलाई नखाऊ भन्छ, नखाने चीज भए डाक्टरले चै किन खान्छन् त !’ उसलाई चित्त बुझाउने जवाफ मसंग छैन ।

आजकल स्वास्थ्यचेतनामूलक लेख लेखिरहेको बेला अर्थात विद्यार्थी भाइबैनीहरूसंग कुराकानी गरिरहेको बेला म समक्ष त्यही सवाल घुम्छ र मेरा अतीतको सम्झना एकसाथ आउँछ । धन्य ! म आफू सूर्ती नखाने भएँ र मात्र ! नत्र मलाई पनि विद्यार्थी भाइबैनीले ‘तपाई चै किन खानु हुन्छ त ?’ भनेर सोधेमा मसंग जवाफ थिएन । यस अर्थमा, म मेरो बाल्यकालको सूर्तीको स्वादलाई धन्यवाद दिन्छु । तर बाल्यकाललाई खोतल्दा भने मलाई त्यो सूर्तीको स्वाद अर्थात् त्यो घटनाले गिज्याएजस्तो लाग्छ र कताकता मनभित्र आफैलाइ कुरिकुरी पनि लागेर आउँछ ।

लेखन मितिः २०६५। भद्रपुर झापा । मिर्मिरे २०६५ जेठ अंक, साझामञ्च, २०-२६ चैत२०६५,

मेरो जीवन यात्रा
कवि नवराज सुब्बाको 'जीवन मेरो शव्दकोशमा' कृतिभित्र अन्तर्दृष्टि ( डा. कृष्णप्रसाद दाहाल )

Leave a Comment