संगीतकार साथीलाई पत्र

प्रिय सिथलिङजी
नमस्कार !
मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें । तपाईको यस कम्पोजमा धिरज श्रेष्ठले संगीत एरेञ्ज गर्नुभएको छ । तपाईलाई थाहै होला ३५/३६ सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्दा दुइतीनओटा टेक लिइन्थ्यो अनि त्यसमध्ये जुन राम्रो हुन्थ्यो त्यसलाई ओके गरिन्थ्यो । हेर्नोस् न आजकल प्रविधिले गर्दा गीत रेकर्ड गर्नलाई कति सजिलो भएको छ कति । कलाकारहरु तथा वाद्यवादक नभेटिकनै संगीत एरेञ्जरले सांगितिक ट्रयाकको निर्माण गरिदिन्छन् जसमा गायकले आफ्नो अनुकूल समयमा रेकर्ड गर्न सक्छ । कुनै हरफ गाउँदा अलि मिलेन भने फेरि त्यही अंश मात्र सुधार गर्दा मिल्छ आजकल पहिलेजस्तो पूरै गीत दोहोर्‍याउनै पर्दैन । यस अर्थमा सजिलो छ गीत रेकर्ड गर्न आजकल कलाकारलाई । सुविधायुक्त वातावरणमा यसरी गीत रेकर्ड गर्न पाउनुलाई मैले सुखद अवसर ठानेको छु ।

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।

हेर्नुस् न मैले दोस्रो अन्तरा चाहिँ मैले मेरो उमेर अनुकूल हेरफेर गरेको छु । मैले पहिले दिएको अर्थात् देखाएको शव्दमा केही फेरबदल भएकोमा अन्यथा नमानिदिनु होला है कतै आफै गीतकार र गायक हुनुको फाइदा उठाएछ भनेर ।

बाबरीको वासनाले जवानी त्यो ब्यूँझाइदेऊ
ढल्कीजान लागेको बैंशलाई फर्काइदेऊ ।

मैले गीत पनि गाएको देखेर होला “हैन यो मान्छे के के गर्न भ्याउँछ हँ -” भनेर धेरैले प्रश्न गर्छन मलाई । कोही चाहिँ यो त पहिले पहिले गीत गाउने मान्छे हो, आजभोलि गीत गाउँछ कि गाउँदैन होला भनेर जिज्ञाशा राख्छन् । “मैले आजकल त गाउन छाडें नि !” भनेपछि खिन्न मान्छन् कतिपय मेरा पुराना साथीहरु । प्रकाशोन्मुख एउटा गीतसङ्ग्रहको लागि शुभकामना तथा भूमिका लेख्न गणेश रसिकदाईलाई अनुरोध गरेको थिएँ । उहाँले भूमिका लेख्ने क्रममा आजकल नवराज किन गीत गाउँदैन भनेर जिज्ञासा राख्नु भएको देखेर मलाई कताकता जाँगर जागेर आयो अनि अधुरा रहरहरू पूरा गर्ने हौसला पनि मिल्यो । त्यसबेलामा मेरो अन्तरआत्माले पनि भन्यो- “नवराज तँ गीत गाइदे कमसेकम् तेरो स्वर पछिसम्म श्रोताहरुले चिनोको रुपमा प्राप्त गर्ने छन् ।” सायद यही अन्तरआत्माको आवाजले होला यति लामो अन्तरालमा सकि नसकि गीत गाउने प्रयत्न गर्दैछु ।

आज नेपाली संगीत जगतमा व्यवसायिकता बढेको छ । गीतसंगीतमा विविधता र संगीतको स्तर पनि बढेको छ यो राम्रो संकेत हो । संगीतमा लोकगीत र आधुनिक गीत एवम् सुगम संगीतमा नयाँ र सुरिला स्वरभएका स्रष्टाहरु आज नेपाली सांगितिक जगतले पाएको छ । म चाहि केवल एउटा शौकिन गायक मात्र हुँ मलाई श्रोताहरुले यही रुपमा चिनुन् भन्ने म चाहन्छु । साथै यसबाट के सन्देश जाओस् भन्ने चाहन्छु भने गीत गाउनका लागि व्यवसायिक रुपमा स्वर माझिएका कलाकारले मात्र होइन शौकिन कलाकारहरुले पनि गाउनुपर्छ जसबाट लोकगीत र आधुनिक गीतको विकासमा सघाऊ पुग्नेछ । सुनेर मात्र हैन गाएर संगीतलाई माया गरौं । गीत गाएर, गीत लेखेर, लोकगीत संकलन गरेर, कुनै पनि नेपालीले धन कमाएको छ जस्तो मलाई लाग्दैन बरु अलिअलि कमाएको पनि गुमाएको छ । यद्यपि नेपाली गीतसंगीतको भण्डार धनि भएको छ । स्रष्टाहरुले दाम नकमाए पनि केही नाम कमाएका छन् यसैमा सन्तोष मान्नु पर्ने स्थिति छ ।

जेहोस् हामीले गरेको सांगितिक सिर्जनाका कुरा भालि कसैले थाहा पाउने छन् सायद भन्नेछन् यी र्सजक को को हुन् – त्यसबेला हाम्रो परिचय दिनलाई हामी नहुन पनि सक्छौ । यही सिर्जना हाम्रो प्रतिनिधि हुनेछ जसले हाम्रो परिचयको सानो झलक दिनेछ यही गीत संगीतले । आजलाई यत्ति । विदा ।

उही मित्र
नवराज सुब्बा
२०६६।१२।२१

Similar Posts

  • |

    आत्मासितको साक्षात्कार रहेछ कविता

    डा. नवराज सुब्बा । जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • |

    बौद्धिक सम्पत्ति

    डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी…

  • रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा)

    भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

Leave a Reply