| | |

मैवाखोलाले बगाएको दासीको प्रेमकथा

डा. नवराज सुब्बा

परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो ।

संस्मरणात्मक लेखको रुपमा घटनालाई प्रस्तुत गर्दैछु । परिघटनाको विश्वसनीयता र आधिकारिकता कायम रहोस् भनी यसका पात्रहरुको परिचय, सन्दर्भ, परिवेश जानकारी दिएको छु। यो लेख सामाजिक अध्ययनार्थ कुनै शिर्षकबाट साभार गरिएको रचना होइन । यद्यपि सामाजिक अध्ययनका विद्यार्थी, अनुसन्धातालाई सघाउने विषयवस्तु हो ।

पृष्ठभूमिः कुनै साहित्यकारका लागि यो घटनाक्रम एउटा प्रेमकथा बनाउन सकिने राम्रो प्लट नै हो । यसमा काल्पनिकता मिसाएर, बिम्व थपेर, अलङ्कारले एक सुन्दर प्रेमकथा बनाउन सकिन्छ । तर मभित्रको अनुसन्धान चेतनाले मलाई त्यसो गर्न दिएन । स्थानीय भूगोल, प्रकृतिक अवस्था, समुदायको अस्तित्व जीवन्त बनाइराख्न घटनाक्रमलाई जस्ताको तस्तै राख्न उचित सम्झें । हुन त यसमा मैले मुख्य पात्रको बिम्व कल्पना गार्दागर्दै केही मात्रामा भावना मिसिन गएको छ । यसमा सचेत हुँदाहुँदै पनि मैले घटनालाई प्रभावकारी बनाउन पाठकलाई साहित्यिक स्वाद पस्केको छु।

कथाका मुख्य पात्रसित यो लेखकको भेट भएको होइन अर्थात् आफैले देखेको पनि होइन । उनको परिवारसित सम्बन्धित व्यक्तिसित मात्र यो कलमको साक्षात्कार भएको हो । पारिवारिक सन्दर्भमा कुरा चल्दा घटना चाल पाएको हो । यो कुरा मनका कुनामा गाँठो परेर बसेको रहेछ । त्यो घटनासंग जोडिएका परिवार जीवितै छन् । घटना घटेको स्थल पनि उस्तै छ तर कथा हराएको छ ।

औचित्यः दासप्रथा नेपालको इतिहासमा काला अक्षरले कोरिएका छन् । यो एक सामाजिक–आर्थिक कुरीति थियो । यस्तो अँध्यारो दिन हटेको आज धेरै भएको छैन । नेपालमा दासप्रथा हटाउन राज्यले चालेको अन्तिम कदम कम्लहरी प्रथा उन्मुलन थियो । यो प्रथा हटेको आज करिव दुई दशक भयो । आम रुपमा समाजमा चलेको दासप्रथा आजभन्दा करिव एक शय वर्षअघिसम्म व्याप्त थियो । यो कहाँ कुन समुदाय वा परिवारमा कुन रुपमा बसेको थियो भन्ने जानकारी हामीलाई कम छ । अतः पूर्वी नेपालको तम्बरखोला र मैवाखोलाका दोभानमा बसेका एक नेवार परिवारमा करिव एकशय वर्षअघि ब्याप्त दासप्रथाको एक मार्मिक घटनाले मानवतालाई छुनेछ ।

तात्पर्यः आठराई चाँगे मैवादोभानको करिव एक शय वर्षअघिको एक दास दम्पत्तिको मार्मिक सामाजिक इतिहास नमरोस् । मानवताको पाठ सिकाउने उक्त सत्यकथा मैवाखोलाको भल पहिरोमा नबगोस् वा पहिरोमा त्यत्तिकै नपुरिओस् । एक दुर्गम स्थानको सांस्कृतिक विशेषता नमेटिओस् । शिर्षकमा कथा भनिए तापनि मैवादोभानमा घटेको यथार्थपरक सूचना अभिलेखन गर्नु नै प्रस्तुत लेखको मूल तात्पर्य हो ।

विधिः यो जनश्रुति र अनुभवमा आधारित लेख हो । घटनाका प्रत्यक्षदर्शीसंग कुराकानी भएको थियो । उक्त घटनालाई कालान्तरमा थप सामग्रीको आधारमा विश्लेषण गरिएको छ ।

घटनाक्रमः यो घटना पाठकलाई कतै सुनेको वा पढेको कथा जस्तो लाग्न सक्दछ । त्यसैले सर्वप्रथम घटनास्थल र सम्बन्धित परिवारबारे जानकारी दिनेछु । मलाई यो परिघटना सुनाउने पात्रको परिचय दिनेछु । पात्रलाई मनमनै ब्यूँताउँदै छु ।

ताप्लेजुङ जिल्लाको आठराई हाङपाङबाट उत्तरतिर फर्कदा हिमालको फेद हुँदै तम्बरखोला र मैवाखोला बगेको रमाइलो प्राकृतिक छटा देखिन्छ । उत्तरका हिमश्रृङ्खलाबाट बग्दै आएका ती दुई नदी मिसिएको स्थानलाई याङमाने वा मैवादोभान भनिन्छ । यो सुन्दर दृश्य हेर्दा कता कता त्रिशूल आकृतिको झल्को आउँछ ।

मैवादाेभान

त्यहाँ नजिक गएर हेरौं । मैवाखोला दक्षिणपूर्वको भूभागलाई याङमाने भनिन्छ । यो चाँगे गाउँमा पर्दछ । मैवाखोलाउत्तर र तम्बरखोलादक्षिणको समथल भूभागलाई महादेवटार भनिन्छ । महादेवाटारमा पहिले एउटा विशाल शिवालय थियो । शिवालय परिसरमा पाटी, पौवा तथा बगैंचा थिए । त्यसैले त्यो टार महादेवटार नामले प्रसिद्ध भयो । महादेवटारमा टाढाटाढाबाट साधुसन्त आउने गर्दथे । त्यहाँ बसेर आराधना गर्ने गर्दथे । हाल उक्त शिवालय, पाटी, पौवा, बगैंचा भग्नावशेष बनेको छ । अव शिवालय इतिहासको गर्भमा पुगेको छ । धार्मिक स्थल हाल अतिक्रमित भएका छन् । यो ठाउँ अहिले मेरिङदेन खाम्लुङ गाउँमा पर्दछ । जेहोस् यी दुवै स्थान व्यापारिक केन्द्रको रुपमा स्थापित छन् ।

अहिले बताउन लागेको परिघटना आजभन्दा करिव एक शय बीस वर्षअघिको हो । घटना भोग्ने तथा बताउने मेरा ससुराबा हुन् । ससुराली जाँदा मैले थाहा पाएँ कि परिवारभित्र एउटा नमीठो घटनाले परिवारलाई सदा पोल्ने गरेको छ ।

मेरा ससुरा बा स्वर्गीय रामबहादुर श्रेष्ठलाई म अहिले झल्झली सम्झिरहेको छु । उहाँ बाल्यकाल हुँदा घरमा दासदासी राख्ने चलन रहेछ । यही क्रममा मेरा ससुरा बाको परिवारमा पनि एकजना दम्पत्ति दासदासी रहन्थे । बाको भनाइबाट थाहा भयो त्यसबेला ती दासदासीको अवस्था घरमा पालेका गाईवस्तुझैं थियो । उनीहरुलाई घरमालिकले चाहेबमोजिम बेचबिखन गर्ने गरिन्थ्यो । मेरा ससुराबा त्यसबेला चार पाँचवर्षका बालक थिए । उनका अनुसार ती दासदासी आफ्ना घरमालिकलाई आफ्नो दम्पति नछुटाइदिन अनुनयविनय गरिरहन्थे ।

दुर्भाग्यवश, एकदिन घरधनीले नोकरलाई बेचिदिए । आफ्ना दास पतिलाई अन्यत्र बेचिदिएपछि दासी बिलाप गर्न थालिन् । उनलाई निकै दिन कोठामा थुनेर राखियो । भाग्लीन भनेर उनलाई कोठाभित्रै खानेकुरा लगेर दिइन्थ्यो । घरछिमेकका बालबालिका नोकर्नीलाई झ्यालको च्यापबाट चियाएर हेर्ने गर्दथे । यसरी केही दिन बितेपछि नोकर्नीको धैर्यको बाँध टुट्यो । एकदिन उनले आफूलाई झ्यालबाट चियाउनेमध्ये एकजना बालकलाई सुटुक्क नजिकै बोलाइन् । उनको पटुकामा राखेको थैलीबाट एउटा सिक्का देखाउँदै ढोकाको साङ्लो खोलिदिएमा बालकलाई आफ्नो सिक्का दिने प्रलोभन देखाइन् । फलस्वरुप एक बालक (मेरा ससुराबाभन्दा जेठो दाइ)ले दासी थुनेको ढोकाको बाहिरबाट लगाएको साङ्लो सुटुक्कै खोलिदिए ।

यसरी ढोका खोल्नासाथ बालकको हातमा सिक्का थमाएर ती दासी महिला हावाको गतिमा हान्निदै रुँदै कराउँदै मैवाखोलातर्फ दौडिन् । दायाँबायाँ केही नहेरी बिछोड भएका आफ्ना पतिको नाम लिदैं खोलातिर दौडिन् । विक्री गरिएका पतिलाई अब यस जुनीमा भेट्ने उपाय कतै नदेखेपछि दासीले अब बाँच्नुको कुनै अर्थ देखिनन् । उनले तत्काल देहत्याग गर्ने निश्चय गरिन् ।

हेर्दाहेर्दै उनी मैवाखोला नजिकै रहेको झोलुङ्गेखेत छेउको बगरको ठूलो ढुङ्गामाथि उक्लिन् । एकफेर चारैतिर हेरिन् । आफ्ना घरमालिकलाई आत्मैदेखि सरापिन् । समाजलाई धिक्कारिन् । यो पापी समाजबाट विदा हुन अन्तिम पटक पापी दुनियाँ नियालिन् । अन्तमा आफ्नै जीवनलाई धिक्कारिन् । अलि पर देखिने महादेवको मन्दिरको गजुरलाई नमस्कार गरिन् । महादेवतुल्य आफ्ना पतिलाई अर्को जुनिमा पाउने दृढ चाहना भगवानसमक्ष प्रकट गरिन् । पग्लिएको मनलाई आत्माभित्र गाँठो पार्दै उनले मैवाखोलामा हाम फालिन् र लिन भइन् ।

हेर्दाहेर्दै उनको भौतिक शरीर त्यहाँबाट सिधै तल मैवाखोलाको कालिदहमा छप्ल्याङ्ग ढुङ्गाझैं खस्यो । एकछिन पानीको फिँजसितै ज्यान छट्पटायो र केहीबेरमा शान्त भयो । लास बग्दै तम्बरखोलामा मिसियो । यसरी एउटा प्रेमीको बिना कालगति असामयिक अन्त्य भयो ।

मान्छे भएर पनि दासी दम्पत्ति पशुतुल्य नारकीय जीवन बिताउन बाध्य थिए । त्यसमाथि पतिको विछोडको रापमा छटपटाएको दासीको लाससरी ज्यानलाई मैवाखोलाले हात थापिन् । सायद, अघि सीता मातालाई पनि धरती माताले यसरी नै शरण दिएकी थिइन् । धरतीको काखझैं मैवाखोलाले एक दासीलाई मैवाखोला माताले आफ्नो अङ्गालो भित्र हालिन् । जीवनको अन्त खोज्दै समीप आएका एक प्राणीलाई नदीले शरण दिए । उनले पापी दुनियाँको पापी नजर छल्दै दासीको शवलाई लुकाएर तम्बरखोलामा मिसाइदिएन् । उनको मृत शरीर गङ्गा नदीमा पुग्यो होला।

आज पनि बेलाबेला उही दासीको बिलौनाको प्रतिध्वनिझैं मैवाखोला र तम्बरखोला सुसाउँछन् । उनका बिछोडिएका पति जो गोरुझैं जोतिन हारेको जुनी जिउन बाध्य भएका थिए । उनको अतृप्त चाहना र अमर माया उनकी प्राणप्रिय पत्निको मुहार खोज्दै आँशुको असारे भल बनेर मैवाखोला बगिरहेछ । आफ्नी जीवनसखीलाई नदेखेर दासको मन तम्बरखोलाको भेलझैं बेलाबेला बहुलाउँछ ।

टाढाबाट हेर्दा सुन्दरझैं देखिने मैवाखोला र तम्बरखोलालाई नजिक गएर हेर्दा अर्कै देखिने रहेछ । यो कथा सुनेपछि मैले ती खोलाहरुलाई अर्कै देख्न थालें । खोला जति बग्छ मेरो मन छिया–छिया हुन्छ ।

परिवारमा परेको मानसिक प्रभावः उक्त घटनाले मैवादोभान बजारका सम्बन्धित परिवारजनमा मात्र हैन सिङ्गो मैवाखोला थुमको मुटु काँप्यो । घटनाले मानव जगतलाई स्तब्ध बनाइदियो । दासीको श्रापबाट मुक्ति पाउन सम्बन्धित परिवारले स्वस्तिशान्ति पूजाआजा गरे । उप्रान्त परिवारमा दासदासी नराख्ने सङ्कल्प गरे । सम्बन्धित परिवारजनले पछिसम्म खोलामा गएर श्राप बगाउने धार्मिक अनुष्ठान गरे । नभन्दै, दासदासीले सरापेको घरपरिवारमा पछि अनेकन प्राकृतिक विपत्ति आए । कहिले बाढीपहिरो त कहिले आगजनीले दुःख दियो । यस्ता प्राकृतिक प्रकोपलाई पनि दासीको श्रापसित गाँस्ने परम्परा बस्यो । यसरी एक ताल्चा भण्डेल परिवार मानसिक दवावमा प¥यो फलस्वरुप दुर्घटना सांस्कृतिक उपचार गालीश्राप बगाउने अनुष्ठानसित जोडिन पुग्यो ।

इतिहास तथा वंशावलीः नेपालको इतिहास झल्काउने विवरण ईन्साइकोपिडिया ब्रिटानिकामा पढ्न पाइन्छ । त्यहाँ गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्दाको साङ्गोपाङ्ग रुपरेखामा उल्लेख छ । संक्षिप्तमा, उपत्यका हात पारेपछि सन् १७७५ देखि १९५१ सम्म गोरखा विस्तार गर्ने शाह र उपत्यकामा रैथाने मल्ल, सम्भ्रान्त नेवारबीच स्वार्थको द्वन्द्व चल्यो । सन् १७७७ देखि १८३२ सम्म शाह राजा राजगद्दीमा देखिए तापनि दरवारबाट भारदारहरुले शासन चलाउँने गर्दथे । यही क्रममा थापा परिवारले सन् १८०६ देखि सन् १८३७ सम्म र राणा परिवारले सन् १८४६ देखि १९५१ सालसम्म नेपालमा शासन गरे ।

यही घटनाक्रमले भक्तपुरका नेवार जाति पनि प्रभावित भएका थिए । ताल्चा भण्डेल थरका नेवार भक्तुपरका मूल बासिन्दा हुन् । ताल्चा भण्डेल वंशावली (२०७२) अनुसार भादगाउँ अर्थात् भक्तपुरको भोलाछें र याछें टोलमा यिनीहरुको बसोबास छ । यिनीहरु जयस्थिति मल्ल (वि.सं. १४३७ देखि १५४२ सम्म) को दरबारमा भण्डारको जिम्मेवारी सम्हाल्थे । त्यही दरवारमा काम गर्दा उनीहरुले ताल्चा भण्डेल पदवी पाएका हुन् । हाल उनका दरसन्तानले आफ्नो थरका रुपमा यसलाई धारण गरेका हुन् ।

भक्तपुरमा शाहकालीन शासन कालमा गोरखा र स्थानीय नेवार समुदायबीच चलेको द्वन्द्वका कारण ताल्चा भण्डेलको एक समूह भक्तपुर छाड्न बाध्य भयो । सन् १७९८ (वि.स. १८५५) मा ताल्चाभण्डेलको एक हाँगो उपत्यका नाघेर पूर्वतर्फ लागेको वंशावलीले बताउँछ ।

पृथ्वीनाराण शाहको गोरखा विस्तार क्रममा नेपाल (काडमाडौं) उपत्यकापछि पूर्वतर्फ खम्बुवान, लिम्बुवान क्षेत्रसमेत गोरखाली अधीनमा क्रमसः आयो । गोरखाली र लिम्बूवानबीच नुनपानी सन्धि सन् १७७४ (वि.स.१८३१) मा भएको थियो । त्यसपछि किरात लिम्बुवान क्षेत्रमा काठमाडौं उपत्यका तथा शाहअधीन क्षेत्रका मानिसलाई पूर्वी किरात लिम्बुवान प्रदेशमा बाटो खुल्यो ।

दरवारको भण्डारे भएकाले ताल्चाभण्डेल आर्थिक अवस्था राम्रै भएको अनुमान गर्न सकिन्छ । नेवार जाति स्वभावैले व्यापारमा निपूर्ण थिए । आफ्नो व्यवसायलाई अनुकूलको स्थानको खोजीमा ताल्चाभण्डेल परिवार आठराईको मैवाखोला दोभानमा पुगेर अडियो । तम्बरखोला र मैवाखोलाको संगमस्थलमा ब्यापारको लागि उपयुक्त थियो । त्यसबेला तिब्बतबाट ब्यापार हुन्थ्यो । यसैले ओलाङचुङ गोला भएर आठराई आउने मार्गमा दोभान पर्दछ ।

पहाडी क्षेत्रका दुई नदीको संगमस्थल भएकाले दोभान भनिन्छ । यो स्थान विभिन्न मूलबाटाहरु जोडिने केन्द्रमा पर्दछ । दुई खोलाका बीचमा परेकाले यहाँ बाढीपहिरोको जोखिम भने छ । वि.स. २०२५ सालको बाढीमा पहिलेको दोभान बजार प्रभावित भयो फलस्वरुप चाँगे गाउँको फेदमा पर्ने याङमानेमा उक्त दोभान सरेको थियो । प्राकृतिक विपदको जोखिम सहेर ताल्चाभण्डेल परिवार मैवा दोभानमा बसेको छन् । त्यहाँ उनीहरु स्थापित पनि भएका छन् ।

ऐतिहासिक पृष्ठभूमि हेर्दा ताल्चा भण्डेल दरवारसित सम्बन्धित देखिन्छन् । फलस्वरुप उनीहरू उपत्यकाबाट बाहिरिदा उपत्यकामा रहेको दासप्रथा किरात लिम्बुवान क्षेत्रमा ल्याएको आधार पाइन्छ ।

विवेचनाः आज हाम्रो पुस्ताले त्यस्ता दासदासी राखेको वा बेचविखन गरेको देख्न परेको छैन । इतिहास खोतल्दै जाँदा विभिन्न कालखण्डमा तत्कालीन सामाजिक अन्याय, अत्याचारमा परेर जीवनदेखि हारेका, समाजले लखेटेका, चीरहरणमा परेका असंख्य मानिसको आत्मिक पुकारका प्रतिध्वनि मैवाखोला, तम्बरखोला लगायत नदीका सुसेलीभित्र सुनिने गर्दछन् । त्यसैले होला पहाडका नदीनाला टाढाबाट हेर्दा जति सुन्दर र मनमोहक देखिन्छन् त्यसभित्र लुकेका आँखाले नदेखिने समाजको कुरुप तस्बिरले भने समाजलाई केही न केही सन्देश दिइरहेका हुन्छन् ।

उपसंहारः दासदासीमाथिको अत्याचार मानवताविरोधी कलङ्क हो । जसको दाग मेटिन असम्भवप्रायः छ । अब हामी यसबाट केवल पाठ सिकेर समाजलाई सही मार्गमा हिडाउन सक्छौं । समाजमा कैंयौं दास र दासीको नियति मैवाखोलाले झैं कैंयौं खोला र भीरपहराले चपाएका होलान् । आज इतिहासको कठघरामा समाज उभिएको छ ।

इतिहास दोहोरिन्छ पनि भनिन्छ । हो, सारमा दासप्रथाको स्वरुप, पात्र र परिवेश आज फेरिएका छन् आज नेपाली जनता आफ्नै समाजमा दास नभएर के भो र! विदेशीका गुलाम र दलाल बन्न लाइनमा तँछाड मछाड गरिरहेका छन् ।

अब कथास्थलतर्फ फर्किऔं । वि.स. १९९० को महाभूकम्पमा मैवादोभान नजिक महादेवटारमा रहेको शिवालयमा क्षति पुग्यो । पुनरुत्थान तथा स्याहारसम्भारको अभावमा शिवालय र पाटीपौवा क्रमसः भत्किदै गए । सम्भवतः त्यहाँका तत्कालीन समाजले धार्मिक क्रियाकलाप भन्दा पनि स्थानीय सुरक्षा व्यवस्थालाई प्राथमिकता दिए । फलस्वरुप भत्किएका शिवालय र पाटीपौवाको जिर्णोद्धार गर्नुभन्दा त्यहाँका ढुङ्गा, ईटा तथा काठपात याङमानेस्थित मैवादोभानमा प्रहरी पोष्ट बनाउँदा प्रयोग भए । त्यसबेला शिवालय परिसरका ईटाढुँङ्गा वर्तमान प्रहरी पोष्ट भवनसम्म ओसार्ने हात अझैसम्म जीवित छन् ।

मैवादोभान आज व्यापारिक स्थलको रुपमा परिचित छ । इतिहासमा यो महादेवटार एक धार्मिक तीर्थस्थल थियो । यसको धार्मिक महत्वको गुनगान गाउने बुढापाका धेरै छन् । धार्मिक स्थल महादेवटारको मौलिकता, ऐतिहासिकता तथा पुरातत्विक अन्वेषण हुन आवश्यक छ । साथसाथै उक्त धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र सम्बर्धनतिर सबैको ध्यान जानुपर्दछ ।

सन्दर्भ सामग्री
1. पलिखे, भागवत, ताल्चाभण्डेल परिवारको वंशावली पुस्तिका, भोलाछें टोल र याछें टोल भक्तपुर, इटहरी, सुनसरी, ताल्चाभण्डेल परोपकार समिति, २०७२ ।
2. The Editors, Encyclopedia Britannica. History of Nepal. Accessed 26 March 2021. https://www.britannica.com/place/Nepal/History

Thuprai

Publications

म यहीँ छु (कथा)

Similar Posts

  • पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

    डा. नवराज सुब्बा लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु ।…

  • साँबा-पहिचानमूलक-संज्ञा

    डा. नवराज सुब्बा पृष्ठभूमि नेपालमा विभिन्न जातजातिका थर छन्। किरात लिम्बूका थरहरूको अध्ययन गर्ने क्रममा थर लेखाइ र बोलाइमा भने एकरूपता छैनन्। साँबा थरधारीबाट एकरूपताका लागि गम्भीर चिन्ता र अभ्यास भएका छैनन्। लिम्बू जातिको एक थर साँबा, सांबा र साँवा जस्ता शब्दहरूको लेखाइ वा बोलाइका अर्थ के लाग्दछन् यो जान्न महत्त्वपूर्ण हुन्छ। लिम्बू जातिमा कुनै…

  • |

    आठराई हाङपाङमा गणेशबहादुर राई

    डा. नवराज सुब्बा गाउँको पृष्ठभूमि  ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको…

  • WATCH Project- SWOT Analysis

    SWOT Analysis of WATCH project

    Under ToR with AIFO Italy which is one of the donors of WATCH, an assessment of the project was indertaken by this writer. WATCH is working in HIV/AIDS, social empowerment and income generation in Kathmadu, Rupandehi, Kapilvastua and Nawalparashi districts.

    SWOT Analysis on the basis of FGD with Rupendehi staff.

    Strengths 

  • गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

    – डा. नवराज सुब्बा नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो…