खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता शर्त रहेछ । सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा संचालित एक जनस्वास्थ्य कार्यक्रममा सामाजिक, आर्थिक अवस्था उकास्न हामी पराले त्यान्द्रो बाँडिरहेछौं । यही अभियानमा हामी छौं । आशाले बोलिसके पछि मैले मनमनै सोचें– केवल तीनहजार र व्यवसायिक तालिमले मात्र उनको जीवनमा यत्रो परिवर्तन ! कार्यक्रम समापन पछि चिया पिउँदा पिउँदै मैले साझेदार संस्थाका मित्रसित फेरि अघिको कुरा कोट्याएँ । उनले मलाई बताए– आज बिभिन्न संस्थाहरूले व्यवसायिक तालिम र साधन उपलब्ध गराए पनि दिएका सिलाई मेसिन घरधरमा थन्किएका अवस्थामा छन् । यद्यपि आवश्यक परेका अर्थात् लक्षित समूहको सही पहिचान गरेको खण्डमा त्यसको सही उपयोग हुँदो रहेछ र राम्रो प्रतिफल आउँदो रहेछ, यो त्यसैको दृष्टान्त हो ।

आजको यो उपभोगवादी जमानामा सडक किनारमा च्याऊझैं उम्रेका सेकुवा कर्नरमा एकजोडी एकछिन खान बसे भने सजिलै तीनहजार रुपैया चट् पार्छन् । तर त्यही रकम कसैको जीवनको भेलमा बग्दाबग्दै भेटिएको आशारुपी परालको त्यान्द्रो पनि रहेछ जसले जीवनमा साँच्चै परिवर्तन ल्याउँदो रहेछ । यसरी सहारा खोज्ने सही हात पहिचान गर्नु आजको चुनौति भएर उभिएको अवस्था म देखिरहेछु । जेहोस्, खुशीको आँखु कुन बेला कसरी आउँदो रहेछ, मैले बुझें । यो देखेपछि अर्थात् यति कुरा बुझेपछि मेरा पनि आँखा रसाए ।

असार २९, २०६९ विराटनगर नेपाल । .

Similar Posts

  • गीतसंगीतः मेरा मूल्य र मान्यता

    – नवराज सुब्बा कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै…

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

  • रिक्सावाला

    नवराज सुब्बा अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् । खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें ।…

  • मेरो जीवन यात्रा

    नवराज सुब्बा

    मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

Leave a Reply