| | | |

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा

चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम् (२०७०), बहारसंग आधुनिक गीत एल्बम् (२०७२) र मन र माटो गीतसंग्रह (२०७३) मा मेरा सांगीतिक सिर्जना पाठक वा श्रोतामा पस्केको छु ।

मैले करिव २०३० सालतिर पहिलो गीत कथेर सरमग सिक्दै संगीत क्षेत्रमा प्रवेश गर्दा यो क्षेत्र जति रोमाञ्चक लाग्दथ्यो फर्किहेर्दा त्यो सोचेजस्तो रहेन । आरम्भमा मेरो ठूलो लक्ष्य पनि थिएन केवल एकदिन म पनि रेडियोमा गीत गाउँछु भन्ने चाहनासम्म थियो । त्यो धोको मेरो पूरा भयो । अलि पछि पलाएको चाहना थियो केही सुन्दर सौगात गीतसंगीत जगतलाई दिने तर त्यो चाहना भने अझै पूरा गर्न सकिन ।

ताप्लेजुङ जस्तो दुर्गम जिल्लाबाट त्यसबेला काठमाडौं जानु चानचुने अवस्था थिएन । धेरै बाधा व्यवधान नाघेर घरपरिवारको ठूलो सपनाको भार बोकेर चिकित्साशास्त्र जस्तो कठिन विषय अध्ययन गर्न २०३४ सालमा म काठमाडौं गएको थिएँ । गीतसंगीतमा लाग्ने समय मसित थिएन । तापनि मनमा सल्केको सांगीतिक चाहनाको आगो निभाउन बेलाबेला रेडियो नेपालको प्राङ्गणमा प्रवेश गरें । २०३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिएँ आफ्नो शब्द रचना प्रेम भट्टचनको संगीतमा गाएँ ।

त्यसबेला लोकगीत प्रतियोगितामा साथी पारसमणि बराल र गणेश आचार्यलाई मैले आफ्नो संकलनको ‘हिमालैमा’ भन्ने बोलको गीत गाउन दिएँ । पछि पारसमणिलाई मेरो संकलनको ‘फर्केर आउ’ बोलको लोकगीत रेडियो नेपालमा रेकर्ड गराएँ । त्यो गीत रेडियोमा निकै बज्यो । त्यसबेला मैले सि.के. रसाइलीको संगीतमा ‘आज मलाई मेरो आँगन सिङ्गो एउटा संसार भो’ बोलको आधुनिक गीत रेकर्ड गराएँ । उक्त गीत रेडियोको ईन्द्रेनी कार्यक्रममा बजेको सुनें । अलिपछि पढाइ सकेर म ताप्लेजुङ आफ्नै जिल्लामा जागिर खान गएँ । यसरी रेडियो नेपाल धाएर गीत रेकर्ड गर्ने थप अवसर मैले पछि पाइन ।

रेडियोमा आधुनिक गीत आफूले रेकर्ड गराउन नसके पनि मेरो रचना ‘विवशताले बाँधिएको मान्छेको जीवन’ बोलको गीतलाई सूर्य थुुलुङले रेडियो नेपालमा रेकर्ड गर्नुभयो । म पहाडमा रहँदा बेलाबखत उक्त गीत रेडियोमा बज्दा रमाइलो लाग्दथ्यो । गीत रेकर्ड भएर बज्न थालेको करिव एकदुई सालपछि त्यो गीतको एउटा अन्तरालाई परिवर्तन गरेर २०३८ सालमा पुनः रेकर्ड गरियो । पंचायतकालमा गीतमा सेन्सरसीप हुने कारणले गर्दा ‘तिम्रो एक नजरले मनमा अनेक लहर उठ्छ’ भन्ने अन्तरा परिवर्तन गर्ने अवस्था आयो । तापनि गीत रेडियोमा निकै बज्यो ।

तर एउटा अन्तरा फेरेपछि मात्र  रेडियोमा बजेको गीत सुन्दा मेरो भित्री मन दुखेको थियो । करिव तीनदशक पछि आफ्नै प्रयासमा एक निजी स्टुडियोमा उक्त पुरानो अन्तरा ‘तिम्रो एक नजरले’ राखेर ‘विवशताले बाँधिएको मान्छेको जीवन’ बोलको गीत पुनःरेकर्ड गरें र बहारसंग एल्बममार्फत श्रोतामाझ साझा गरें ।

ती दुईचार पुराना गीतले मात्र एल्बम निकाल्न गीत संख्या नपुग्ने अवस्था थियो । यद्यपि सांगीतिक इतिहासको धरातलमा उभिएर वर्तमानको आकासमा नयाँ सम्भावना खोजी गरें । मेरो पहिलो कवितासंग्रहमा ‘जीवन मेरो शब्दकोशमा’ वि.स. २०६३ सालमा प्रकाशित भयो । त्यसमा मेरा केही पुराना गीत संग्रहित थिए । तिनै सिर्जना बोकेर मैले संगीतकारको खोजी गर्दै जाँदा एकदिन युवा संगीतकार साजन राईसंग भेट भयो । उहाँले मेरा केही पुराना गीतरचनालाई संगीत गरेर सुनाउनु भयो । उहाँको संगीत सिर्जनाबाट म प्रभावित भएँ । पछि उहाँसित मिलेर देशभक्ति गीतहरु सिर्जना गरियो । त्यसमध्ये ‘नेपाली नेपाली हामी नेपाली’ बोलको गीत चर्चित भयो ।

एल्बम निकाल्न सजिलो थिएन । मैले पुराना मित्र शक्ति बल्लभलाई पनि सम्झें । उहाँले थप केही देशभक्ति गीत संगीतबद्ध गरिदिनुभयो । चलेका गायकको स्वरमा गीत रेकर्ड गराएपछि साजन राईले गाएर उँचाइमा पुगेको देशभक्ति गीत ‘नेपाली नेपाली’ बोलको गीत सहित दश गीतहरुको पहिलो गीतिसंग्रह ‘देशको माया’ एल्बम् निकालें ।

विराटनगरको साहित्यिक माहोलमा म भिज्दै थिएँ । बेलाबखत कार्यक्रमहरुमा गजलवाचन सुन्दथें । मलाई ताली खाने वा गाली गर्ने गजल भन्दा पनि प्रेमील भावका गेयगजल कोर्न मन लाग्यो । नेपाली संगीत क्षेत्रमा गजल लेखेर काव्य र संगीत दुवैको सेवा गर्ने अभिलाषा मनमा लुकेको छँदैथियो । यो कार्यमा मलाई संगीतकार शक्ति बल्लभले पनि प्रोत्साहित गर्नु भयो । नौवटा गजल शक्ति बल्लभलई संगीत भर्न दिएँ । विभिन्न कलाकारहरुको आवाजमा स्वरवद्ध गराएँ र ‘लुकेको रहर’ नामक एल्बम निकालें ।

जनस्वास्थ्य क्षेत्र मेरो कर्मभूमि हो । यसमा मैले देखेको यूवा र किशोरकिशोरीको स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य स्थितिसित म पूर्ण परिचित र आबद्ध थिएँ । यसैले आजका किशोरकिशोरी तथा यूवालाई दुर्व्यसनबाट बचाउन मैले यही गीतसंगीतलाई पनि एक साधन बनाएर सानो योगदान गर्ने विचार गरें । दुर्व्यसन विरुद्धको गीत रचना र संगीत गरी सुमित खड्काको स्वरमा रेकर्ड गराएँ । अघि मैले पहिले रेडियोमा बज्ने सूर्य थुलुङको स्वरको विवशताले बोलको मेरो रचनाको गीत (सेन्सर भएको) सहित राखेर आफ्ना रचनालाई विभिन्न कलाकारहरुका साथमा राखी तेस्रो एल्बम ‘अमूल्य जीवन’ बजारमा ल्याएँ ।

मेरो शब्द रचनामा साजन राई, नितु गोस्वामी, सिरता राईको स्वर रहेको संगीतको ‘नेपाली नेपाली हामी नेपाली’ बोलको गीतले बजारमा निकै तरङ्ग ल्यायो । यही लहरलाई समातेर अघि बढ्ने काममा अर्का प्रतिभाशाली राष्ट्रिय गीत गायक सुमित खड्कासित मेरो भेट भयो । उहाँले पनि मलाई देशभक्ति एल्बम निकाल्न उत्प्रेरित गर्नुभयो । देशमा जातीय राज्यको मागभित्र देश विखण्डन उन्मुख रहेको आवाज सुनिन थाल्यो । यही परिप्रेक्षमा मैले ‘हामी पहिले नेपाली’ बोलको गीत र यसै लहरमा गीतहरु लेखें । यसरी बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत र सुमित खड्काको स्वरमा मैले चौथो एल्बम ‘हामी पहिले नेपाली’ बजारमा ल्याएँ ।

मेरो लोकगीतप्रतिको माया र लगावले मलाई सदा घच्घच्याउँथ्यो । मेरो संकलनमा रेडियोमा रेकर्ड भएका तथा प्रतियोगितामा गाइएका गीत लोप हुन लागेको देखेर यसलाई पुनःरेकर्ड गरी पुनःर्जीवित गराएँ । लोकलयमा आधारित आफ्ना तथा अरुका केही गीतसहित ‘हिमालैमा हिउँ’ शिर्षकको लोकगीत एल्बम् मेरो पाँचौ प्रस्तुतिको रुपमा बजारमा आयो ।

पुराना सिर्जनालाई मर्न नदिने कार्य अधुरै थियो जसलाई तीव्रता दिन थालें । जीवनको पहिलो गीतरचना ‘ए बहार’ बोलको गीत रेकर्ड गराएँ । एकदिन रेडियो नेपालमा सुरुमा रेकर्ड गरी पुनः सेन्सर भएको शब्दलाई पुनः राखेर ‘बिवशताले बाँधिएको मान्छेको जीवन’ बोलको गीत सूर्य थुलुङजीकै स्वरमा रेकर्ड गराएँ । आफूले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गाएको गीत ‘गुलाफको थूँगाभित्र’ बोलको गीत पनि रेकर्ड गरें । र मेरा एक समयका संगीतका सहयात्री प्रेम भट्टचनको नासो संगीतलाई मर्न दिइन । अघि महाराजगंज क्याम्पस पढ्दाका अर्का पुराना मित्र एन्ड्रयू सिथलिङको सांगीतिक कोशेलीलाई आफ्नै स्वरमा ‘गमलाको छातीभरी’ बोलको गीत रेकर्ड गरें ।

आरम्भिक सांगीतिक प्रयासका अधूरा पाइला मेटिनबाट जोगाउन मलाई झण्डै तीनचार दशक लाग्यो । एक किसिमले भन्नुपर्दा यसमा म सन्तुष्ट छु । तर मनमा एउटा कुरा भने अलि खड्किएको छ । वि.स. २०३६ सालतिर सिके रसाइलीको संगीतमा रेडियो नेपालमा ‘आज मलाई मेरो आँगन’ बोलको गीत रेकर्ड गर्ने अवसर पाएँ जुन गीत रेडियो नेपालको ‘ईन्द्रेनी’ कार्यक्रममा बजेको सुनें तर उक्त गीतको रेकर्ड हात पार्न सकिन । रेडियो नेपालमा रेकर्ड भएको मेरो पहिलो आधुनिक गीतको स्थायी मात्र सम्झना छ । उक्त गीत सुन्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ तर रेडियो नेपालमा त्यो छ कि छैन थाहा छैन ।

मैले एल्बम निकाल्दा सहकार्य गरेका सबै कलाकार साथीहरुलाई आज सम्झेर आभार प्रकट गर्दछु । सबैलाई मुरी मुरी धन्यवाद दिन्छु । हुन त मलाई अझै एल्बम निकाल्न हौसला दिने कलाकार साथीहरु छन् । तर म अहिले ओथारे अवधिमै बसेर धैर्य गर्दैछु । अन्य सिर्जना र अनुसन्धानमा हाल ब्यस्त छु । कुनै दिन सांगीतिक यात्राको पाटो पुनः पल्टाएर सुन्दर सिर्जनाका फूलपात शिरमा सिउरेर संगीतलाई माया गर्ने श्रोतामाझ झुल्कने बाचा गर्दै विदा भएँ । कोरोनाको महामारीमा ज्यूज्यान जोगाउनु होला शुभकामना ।

Similar Posts

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

    मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले मेरो ध्यान खिच्यो । क्यामेरा झिकें र त्यतैतिर लम्किएँ, अनि ऐंगल मिलाउँदै केही सट लिंदै थिएँ । यत्तिकैमा पछाडि मलाई कसैले कोट्याए जस्तो लाग्यो ।…

  • तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा)

    म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं

  • रिक्सावाला

    नवराज सुब्बा अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् । खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें ।…

  • |

    A Sample of the Literary Writers and Artists Market.

    Dr. Nawa Raj Subba. Artistic writing is called literature or creation. In literature, there is not only objective writing but also thematic imagination. Not all literature is thought or written. Sadhana or dedication is also needed for that. It is not enough to do sadhana; there should also be meaningful work. I believe creation should…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…