ग्रेटर लुम्बिनीबाट लिम्बुवान
📖 ग्रेटर लुम्बिनीबाट लिम्बुवानको जीवित ऐतिहासिक भूगोलतर्फ
- डा. नवराज सुब्बा
ग्रेटर लुम्बिनीको अवधारणाले इतिहास र सम्पदालाई एउटा पुरातात्त्विक स्थलमा सीमित गरेर हेर्दैन। लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम र पण्डितपुरजस्ता स्थल ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धबाट जोडिएका छन्। UNESCO ले यसै कारण ग्रेटर लुम्बिनी क्षेत्रलाई जीवित पवित्र स्थल अर्थात् living sacred landscape का रूपमा हेरेको छ। सेप्टेम्बर २०२६ को अन्तर्राष्ट्रिय सम्मेलनले पनि सम्पदा संरक्षण, स्थानीय समुदाय, वातावरण, धार्मिक अभ्यास र स्थानीय जीविकालाई एउटै भूगोलभित्र जोडेर हेर्नुपर्ने निष्कर्ष निकालेको छ (UNESCO, 2026a, 2026b)।
यही दृष्टि पूर्वी नेपालको किरात इतिहास अध्ययनमा पनि उपयोगी हुन सक्छ। यसको एउटा महत्त्वपूर्ण आधार Teyung, Tiling, Laoti र Limbu को लिम्बू जातिमा प्रचलित समाधि परम्परा र भूमिसितको सम्बन्ध अर्थात् Yakthung Disposal System in Relation to Burial Grounds अध्ययनले दिन्छ। उक्त अध्ययनले याक्थुङ लिम्बू संस्कृति र भूमिबीच गहिरो सम्बन्ध रहेको देखाउँदै तीन प्रकारका सांस्कृतिक स्थललाई विशेष महत्त्व दिएको छ। ती हुन्, Ipungden अर्थात् समाधिस्थल, Hang Yak अर्थात् ऐतिहासिक किल्ला वा दरबारसँग सम्बन्धित स्थल, र Mangenna Yak अर्थात् पुर्खागत वंश विकाससँग सम्बन्धित स्थल (Teyung et al., 2026)।
यो अवधारणाको प्राज्ञिक र दार्शनिक महत्त्व गहिरो छ। भूमि केवल मानिस टेक्ने माटो र बस्ने भौतिक भूगोल मात्र होइन; यो त वंशको बिउ, मृत्यु संस्कारको विधि, पुर्खाको सुवास, मुन्धुमी दर्शन र सामूहिक स्मृतिको सङ्गमस्थल हो। यही कारणले समाधिस्थलले केवल मृत शरीर विसर्जन गर्ने साधारण ठाउँको मात्र प्रतिनिधित्व गर्दैन, बल्कि यसले माटो र मनुष्यबीचको अनन्त सम्बन्ध तथा पुर्खाको ऐतिहासिक थातथलोसँगको अटुट नातालाई सधैं स्मरण गराइरहन्छ।
Teyung et al. (2026) ले प्रत्यक्ष अवलोकन, सामुहिक, समुदायका सदस्यसँग अन्तर्वार्ता तथा लिम्बू जनलाई गरिने समाधि परम्परा र समाथिस्थलसम्बन्धी अध्ययन गरेका छन्। मुख्य fieldwork धनकुटाको मुढे आहाले समाधिस्थलमा गरिएको थियो। तेह्रथुमको लालीगुराँस नगरपालिका आसपासका समाधिस्थललाई पनि अध्ययनमा समेटिएको छ। अध्ययनले मुन्धुममा समाधि र समाधि परम्पराको स्पष्ट स्थान रहेको र समाधिस्थलले याक्थुङ संस्कृतिको मूर्त तथा अमूर्त दुवै पक्ष बोकेको निष्कर्ष निकालेको छ।
❖ समाधिस्थल पनि ऐतिहासिक भूगोलको स्रोत
यस अध्ययनले पूर्वी नेपालको इतिहास अनुसन्धानमा एउटा महत्त्वपूर्ण र मौलिक प्रश्न खडा गरेको छ— कुनै क्षेत्रमा कुनै विशेष वंश वा समुदायको प्राचीन बसोबासको खोजी गर्दा केवल लिखित अभिलेखहरूमा मात्र भर पर्ने कि त्यहाँका समाधिस्थलहरूलाई पनि अनुसन्धानको प्रमुख आधार बनाउने?
यहीबिच समाधिस्थलहरूको प्राज्ञिक उपयोगिता स्पष्ट हुन्छ। उदाहरणका लागि, कुनै प्राचीन लालमोहर वा ताम्रपत्रमा निश्चित वंश र भूभागको नाम उल्लेख छ; त्यसै क्षेत्रमा सम्बन्धित समुदायसँग जोडिएको पुरानो ‘इपुङदेन’ (समाधिस्थल) विद्यमान छ; स्थानीय वंशस्मृतिले पनि सोही भूगोललाई पुर्खाको थातथलोका रूपमा स्वीकार गर्छ र त्यसैको नजिकै ‘माङ्गेना यक’ वा प्राचीन बस्तीका अवशेषहरू फेला पर्छन्। जब यी बहुपक्षीय प्रमाणहरू कालक्रम र भूगोलको कसीमा एकअर्कासंग मिल्न जान्छन्, तब तिनको संयुक्त र तुलनात्मक अध्ययनबाट ठोस निष्कर्ष निकाल्न सकिन्छ।
यद्यपि, केवल इपुङदेन भेटिँदैमा कुनै निश्चित वंशको प्राचीन उपस्थिति स्वतः प्रमाणित हुन्छ भन्ने होइन। समाधिको कालखण्ड (उमेर), त्यहाँ समाहित व्यक्तिको पहिचान, स्थलको ऐतिहासिक निरन्तरता, स्थानीय मौखिक इतिहास र उपलब्ध लिखित दस्ताबेजहरूको आन्तरिक तथा बाह्य परीक्षण गर्न अनिवार्य हुन्छ। तसर्थ, समाधिस्थल नै इतिहासको अन्तिम सत्य वा पूर्ण उत्तर होइन; यो त इतिहासका लुकेका कडीहरू पत्ता लगाउने एक महत्त्वपूर्ण स्थानिक र पुरातात्विक सङ्केत (Spatial Marker) मात्र हो।
❖ माङ्गेना यकले वंशलाई भूमिसँग जोड्छ
माङ्गेना यकको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व विशिष्ठ प्रकृतिको छ। Teyung et al. (2026) ले यसलाई पुर्ख्यौली वंशको विकासक्रम (ancestral clan evolution) सँग जोडिएको सांस्कृतिक भूगोलको एक महत्त्वपूर्ण आयामका रूपमा प्रस्तुत गरेका छन्। यस अवधारणाले वंशावलीलाई केवल नामहरूको निर्जीव सूचीमा सीमित राख्नुको सट्टा यसलाई जीवन्त भूगोल र थातथलोसँग जोड्ने सैद्धान्तिक आधार प्रदान गर्दछ।
कुनै वंश विशेषको माङ्गेना यक निश्चित भूगोलमा रहेको दाबीलाई केवल मौखिक परम्परा वा मुन्धुमी आधारमा मात्र सीमित गर्नु न्यायसंगत हुँदैन। बरु, त्यस क्षेत्रका प्राचीन स्थाननाम (Toponyms), समाधिस्थल (इपुङदेन), पुराना बस्तीहरू, किपट व्यवस्था, ऐतिहासिक लिखतहरू, बसाइँसराइको स्मृति तथा अन्य सम्बन्धित वंशहरूको मौखिक इतिहाससँग दाँजेर यसको वस्तुनिष्ठ परीक्षण गर्न सकिन्छ।
यसरी, माङ्गेना यकले वंश पुर्खा भूमि स्मृति बीचको अटुट र गहिरो अन्तरसम्बन्धलाई वैज्ञानिक ढङ्गले अध्ययन गर्ने एउटा भरपर्दो शोध-ढाँचा (Research Framework) उपलब्ध गराउँछ।
❖ हाङ यकले राजनीतिक भूगोलतर्फ लैजान्छ
इपुङदेनले मृत्यु संस्कार र पुर्खागत बसोबाससँग सम्बन्ध देखाउँछ भने Hang Yak ले राजनीतिक भूगोलको अर्को ढोका खोल्छ। Teyung et al. (2026) ले Hang Yak लाई ऐतिहासिक forts वा palaces सँग सम्बन्धित स्थलका रूपमा उल्लेख गरेका छन्।
यो अवधारणा पूर्वी नेपालको सेनकालीन र शाहकालीन इतिहास अध्ययनमा विशेष उपयोगी हुन सक्छ। कुनै लिखतमा स्थानीय हाङ, राय, सुब्बा वा अन्य राजनीतिक व्यक्तिको नाम आउँछ भने उसको नाम मात्र अध्ययन गरेर पुग्दैन। त्यो व्यक्ति कुन भूभागसँग जोडिएको थियो, त्यहाँ कुनै पुरानो यक थियो कि थिएन, त्यस क्षेत्रबाट कुन बाटो जान्थ्यो, नजिकै पुरानो बस्ती वा समाधिस्थल थियो कि थिएन भन्ने प्रश्न पनि उठाउन सकिन्छ।
यसबाट लिखित राजनीतिक इतिहास र स्थानीय सांस्कृतिक भूगोलबीच संवाद सुरु हुन्छ।
❖ फेदाप, आठराई, चाँगेदेखि मेवाखोला, तम्बरखोलासम्म प्रमाण जोडेर हेर्ने सम्भावना
यही पद्धतिलाई चाँगे, फेदाप, आठराई, मेवाखोला र तम्बरखोलामा प्रयोग गर्दा अनुसन्धानको क्षेत्र अझ फराकिलो हुन्छ।
शाहकालीन लिखतमा सिरेङ, सिरिङ वा सेरेङसँग मिल्दाजुल्दा नामहरू फेदाप, मेवाखोला, आठराई र तम्बरखोलाको फराकिलो भूगोलसँग जोडिएर आएका छन्। कतिपय प्रसङ्ग राजनीतिक र सैनिक गतिविधिसँग सम्बन्धित छन्। यस्ता अभिलेखलाई केवल व्यक्तिको नामका रूपमा नपढी उसले प्रतिनिधित्व गरेको भूगोलसँग जोडेर अध्ययन गर्न सकिन्छ।
त्यसपछि प्रश्न उठ्छन्। ती क्षेत्रमा सेरेङसँग सम्बन्धित पुराना इपुङदेन कहाँ छन्? माङ्गेना यक कहाँ छन्? पुराना बस्ती कहाँ थिए? वंशस्मृतिले बसाइँसराइको कुन बाटो सम्झन्छ? मुन्धुमले कुन भूगोललाई पुर्खासँग जोड्छ? अर्को वंशको स्मृतिले त्यही घटनालाई कसरी सम्झन्छ?
यी प्रश्नको उत्तर खोज्न सकियो भने अभिलेख र मौखिक इतिहासबीच एउटा परीक्षणयोग्य सम्बन्ध बनाउन सकिन्छ।
❖ भौतिक अवशेषलाई पनि यही शृङ्खलामा राख्न सकिन्छ
यस दृष्टिले श्रीजुङमा रहेको भनिएको हात्तीसार, नेसुम चाँगेको घोडा तबेला र हिटी, मेवाखोलामा सुरक्षित सेनकालीन मानिएका राजदण्ड र त्रिशूल तथा फेदाप, आठराई, मेवाखोला र तम्बरखोला क्षेत्रमा रहेका पुराना शिवालयहरू पनि थप अनुसन्धानका विषय बन्छन्।
उदाहरणका लागि, कुनै शाहकालीन अभिलेखले त्यही क्षेत्रमा सैनिक परिचालन वा स्थानीय राजनीतिक नेतृत्व देखाउँछ भने हात्तीसार वा घोडा तबेलाको स्थानीय स्मृतिलाई त्यससँग तुलना गर्न सकिन्छ। मेवाखोलाको राजदण्ड वा त्रिशूललाई स्थानीय वंशस्मृतिले सेनकालीन सत्तासँग जोड्छ भने वस्तुको धातु, निर्माण प्रविधि, शैली, संरक्षण इतिहास र अभिलेखीय सन्दर्भ जाँच्न सकिन्छ।
यही क्रममा इपुङदेन अर्को महत्त्वपूर्ण तह बन्छ। राजनीतिक केन्द्रसँग सम्बन्धित भनिएको क्षेत्रमा त्यही समुदायको पुरानो समाधिस्थल पनि भेटिन्छ भने राजनीतिक इतिहास, बसोबास र वंशीय भूगोलबीच सम्भावित सम्बन्ध परीक्षण गर्न सकिन्छ।
यसलाई अनुसन्धानको एउटा शृङ्खलामा यसरी देखाउन सकिन्छ:
राजकीय अभिलेखमा व्यक्ति वा वंश → अभिलेखमा आएको भूगोल → Hang Yak वा राजनीतिक केन्द्र → पुरानो बस्ती र बाटो → Mangenna Yak → Ipungden → मुन्धुम र वंशस्मृति → हात्तीसार, घोडा तबेला, हिटी, राजदण्ड, त्रिशूल वा धार्मिक स्थलजस्ता भौतिक संकेत → पछिल्ला अभिलेखमा देखिने निरन्तरता वा परिवर्तन।
तर यो सीधा वंशरेखा होइन। यो अनुसन्धानको परीक्षण शृङ्खला हो। प्रत्येक कडीलाई स्वतन्त्र रूपमा प्रमाणित गर्नुपर्छ।
❖ जीवित ऐतिहासिक भूगोलको अर्थ
ग्रेटर लुम्बिनी र याक्थुङको समाधिस्थल अध्ययनलाई सँगै राखेर हेर्दा एउटा साझा कुरा देखिन्छ। इतिहास कुनै एउटा स्मारक, लिखत वा पुरातात्त्विक वस्तुभित्र मात्र बन्द हुँदैन।
लुम्बिनीमा पुरातात्त्विक स्थल, धार्मिक अभ्यास, तीर्थयात्रा, समुदाय र भूगोल मिलेर living sacred landscape बनेको छ (UNESCO, 2026a)। याक्थुङ सन्दर्भमा इपुङदेन, हाङ यक, माङ्गेना यक, मुन्धुम, भूमि र पुर्खागत स्मृतिबीचको सम्बन्धले अर्को प्रकारको जीवित सांस्कृतिक भूगोल देखाउँछ (Teyung et al., 2026)।
यसबाट पूर्वी नेपालको इतिहास अध्ययनका लागि एउटा फराकिलो अवधारणा प्रस्ताव गर्न सकिन्छ, जीवित ऐतिहासिक भूगोल।
यस अवधारणामा पुरानो लालमोहर वा स्याहामोहर एउटा प्रमाण हुन्छ। माङ्गेना यक अर्को प्रमाणको क्षेत्र हुन्छ। इपुङदेनले बसोबास र पुर्खागत सम्बन्धबारे प्रश्न उठाउँछ। मुन्धुमले समुदायको स्मृति र अर्थ दिन्छ। स्थाननामले भाषिक इतिहासतर्फ लैजान्छ। भौतिक वस्तुले अर्को समयको अवशेष देखाउँछ। पुरानो बाटोले ती स्थानबीचको आवागमन र सम्बन्ध बुझाउन सक्छ।
यी सबैलाई जोडेर मात्रै इतिहास लेख्ने होइन। पहिले छुट्टाछुट्टै परीक्षण गर्ने हो। त्यसपछि तिनको समय, स्थान र सामाजिक सम्बन्ध मिल्छ कि मिल्दैन भनेर हेर्ने हो।
फरक प्रकृतिका स्वतन्त्र प्रमाण एउटै ऐतिहासिक सम्बन्धतर्फ अभिसरित भए त्यसले परिकल्पनालाई बलियो बनाउन सक्छ। प्रमाण नमिलेमा त्यो असंगति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसले बसाइँसराइ, वंशको शाखीकरण, स्थाननाम परिवर्तन, धार्मिक रूपान्तरण वा पछि बनेको सामूहिक स्मृतितर्फ संकेत गर्न सक्छ।
❖ उपसंहार
त्यसैले जीवित ऐतिहासिक भूगोल को उद्देश्य मुन्धुम, वंशावली र भौतिक अवशेषलाई जबर्जस्ती जोडेर कुनै पूर्वनिर्धारित वंशदाबी प्रमाणित गर्नु होइन। यसको उद्देश्य अभिलेखले भूगोलतर्फ, भूगोलले इपुङदेन र माङ्गेना यकतर्फ, ती स्थलले सामूहिक स्मृतितर्फ, र स्मृतिले फेरि नयाँ अभिलेख तथा भौतिक प्रमाण खोज्नतर्फ लैजाने अनुसन्धान चक्र निर्माण गर्नु हो।
फलस्वरुप, इतिहास लेखन केवल पुरानो लिखित दस्तावेजको खोजीमा मात्र सीमित रहँदैन। यो त मानव, पुर्खा, वंश, थातथलो, समाधिस्थल, राजनीतिक सत्ता, मुन्धुमी चेतना, वस्तु र स्मृतिका विविध आयामहरूबीच कालान्तरमा विकसित र रूपान्तरित भएका सम्बन्धहरूको समग्र अध्ययन हो। यस सन्दर्भमा, ग्रेटर लुम्बिनी क्षेत्रले राष्ट्रिय स्तरमा एउटा मानक स्थापित गरेको छ भने, Teyung et al. (2026) को अध्ययनले याक्थुङ सांस्कृतिक भूगोलको दायराभित्र यस नवीन दृष्टिकोणलाई अगाडि बढाउने दरिलो आधार तयार पारेको छ।
सन्दर्भ सूची
Teyung, S. C., Tiling, H., Laoti, D., & Limbu, T. K. (2026). Yakthung disposal system in relation to burial grounds. Bishnudatta-Saraswati Angbuhang Academic Fund. Yakthung Limbu Heritage Archives.
UNESCO. (2026a, September 18). International conference on the Greater Lumbini Area. UNESCO.
UNESCO. (2026b, September 21). International conference on the Greater Lumbini Area concludes with action plan for sustainable heritage and development. UNESCO.
Citation
Subba, N. R. (2026). ग्रेटर लुम्बिनीबाट लिम्बुवानको जीवित ऐतिहासिक भूगोलतर्फ. Zenodo. https://doi.org/10.5281/zenodo.22942234
