नेपाली लेखक कवि नवराज सुब्बाको परिचय
कञ्चनजङ्घाको काख ताप्लेजुङ जिल्लाको हाङ्गपाङ्ग गाउँमा जन्मे नवराज । तमोर, कावेली नदीको ध्वनिहरुसँग पालम गाउँदै किपटको डाँडापाखामा मेलापातमा लुँङा र सोल्टिनी र सोल्टिहरूसँग धान नाच्दै हुर्किए बढे, स्कुल कलेज पढे; तन्देरी हुँदै जागिर खाए र आफ्नै माटोमा तीनदशकअगाडि नै समावेसी आन्दोलनलाई काँधमा बोकेर नेवारकी छोरी चञ्चलालाई दुलही बनाएर भित्र्याए।
बाल्यकाल
यसो भनौँ, उनले कन्चनजङ्घासँग हातेमालो गरेर उभिएको कुम्भकर्णदेखि मकालु, सगरमाथा, अन्नपुणर्, माछापुछ्रे हुँदै धवलागिरी र नीलगिरि देखे । हिमालबाट तल झरेको सप्तकोसी, सप्तगण्डकी, सप्तकर्णालीले पहाड, दुन, उपत्यका, तराई र मधेशलाई बिनाभेदभाव सिंचेको पनि देखे । थप यसो पनि भनौँ फेदाङ्मा र बिजुवा देखे , होमे, झाँक्री र लामा देखे । पण्डित, गुभाज्यू, मस्टो देखे ।
साहित्य
आदिकवि भानुभक्त आचार्यको जन्मथलो टेके। पृथ्वी, विसेनगर्ची र लखन थापाका कर्खा सारङ्गीमा सुने । वर्डस्वर्थदेखि देवकोटासम्म कण्ठस्थ पारे । सेक्सपियरदेखि भानुभक्त हुँदै श्रवण मुकारुङ्ग छिचोले अनि चार भन्ज्याङ्गभित्रको जात्रैजात्रा, मन्दिर देवालयमाझ, कृष्ण मन्दिर र पशुपतिनाथसँगै स्वयम्भूनाथको दर्शन गरे । जानकी मन्दिरसँगै बूढासुब्बा र पञ्चकन्या, पिण्डेश्वरको पाउमा ढोगे । गोरखकालीसँगै मस्टो देवाली पुजे । मस्जिद र चर्चलाई एकै आँगनमा देखे । जमिन्दार देखे, बँधुवा देखे । ठूलो जाति र सानो जाति मात्र होइन मान्छेले मान्छेप्रति गर्ने व्यवहार र दासत्व देखे ।
अनुभव
कर्म देखे, धर्म देखे, स्वदेश देखे अनि परदेश पनि देखे । यसो भनौँ गीतकार नवराजले सम्पूर्ण नेपाल राष्ट्र देखे । मिलेर बसेको नेपाली समाज देखे, चिने; बुझे । अनि यो राष्ट्रसँग गाँसिएको आफ्नो जीवन र जगतलाई देखेर नै यति सा¥हो यो राष्ट्र नेपाललाई माया गरे, श्रद्धाले पूजा गरेर यो माटोलाई ढोगे । यस्ता देशभक्ति स्वाभिमानी र भूमिपुत्र सिर्जनशील गीतकार नवराज सुब्बालाई मेरो सेवारो! सेवारो!! सेवारो!!! …
गणेश रसीक, साहित्यकार (‘सहिदलाई सलाम’ गीतसंग्रहको भूमिकाबाट)
नवराज सुब्बाका प्रकाशित कृति
ईपुस्तकालयमा पनि उपलब्ध छन्। क्लिक