– नवराज सुब्बा
साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन । केही बेर पछि प्रसारण कार्यक्रममा ब्यस्त संचालिका सबिना आएर “हुन त तपाइलाई २ बजेर ५० को समय दिएको हो आउनु भएछ ठिकैछ एकैछिन पर्खनुस् म तपाईको अन्तरवार्ता लिनेछु !” भनेपछि पो म झसङ्ग भएँ । यसो मोबाइल झिकेर एस.एम.एस. हेरेको त नभन्दै २ बजेर ५० नै समय लेखिएको रहेछ । समयमा नपुगिएला भनेर त्यत्रो हतार हतार गरेर ट्याक्सीमा आइयो तयार भएको खाजा पनि छाडेर आइयो । समय त रहेछ नि खाजा खाइवरी माइक्रोवस चढेर आउँदा ठिक्क हुने रहेछ नि ! यो दिमागमा कसरी १ बजेर ५० भन्ने छाप पर्यो हँ – भनेर आफैलाई सोध्छु र जवाफ पाउँछु- तँ अलि हुस्सु नै छस् । हो, मलाई पक्का भयो म अलि हुस्स-हुस्सु नै छु ।
कार्यक्रम संचालिका सविनासंग अन्तरवार्ताको तैयारीको सिलसिलामा वहाँले तपाइले एउटा कविता पनि भन्नु पर्छ है भन्नु भो । “मिडविक म्यूजिक” भन्ने कार्यक्रममा अन्तरवार्ता दिनु पर्ने भएकाले यस्तै गीतसंगीतसम्बन्धी, एलवमसम्बन्धी सामान्य कुराकानी होला भन्ने सोचेर मैले कविता बोकेको थिएन । अब मलाई परेन त फसाद ! सम्झे, कवि-कवि भन्छन् मलाई, खै मुखमा भने एउटै कविता आउँदैन । आउन पनि पो कुनै कविताको दुइ हरफसम्म पनि पो आउँदैन त ! फेरि कविताका दुइदुइ वोटा पुस्तक प्रकाशित भैसकेका छन्, कसरी बुझाउनु कविता लेख्ने मानिसलाई कविता आउँदैन भनेर । वास्तवमा म आफ्नो हालत देखेर आफै लज्जित हुन्छु । कविगोष्ठीमा कैंयौं कवि नहेरीकन फरर कविता सुनाउँछन्, फरर गजल गाउँछन् । आफूलाई भने न कविता आउँछ न गजल नै आउँछ न त गीत नै मुखाग्र आउँछ ! खै म कस्तो कवि – म हुस्सु नै हुँ क्यार ! तर त्यसबेला मैले एउटा उपाय निकालें । इन्टरनेटबाट हालसालै लेखेको कविता वहाँकै ल्यापटपमा ब्राउज गरें र पढिदिएँ अनि लाज बचाएँ ।