बलबहादुरको कथा

यतिञ्जेल
बलेले आफ्नो अनुहार
राम्ररी नियाल्नै भ्याएको छैन
एकदिन नागरिकता बनाउँदा
फोटो खिच्ने बेलामा एकछिन
आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो
अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि
फाँटवालाले दिएको नागरिकतामा
आफ्नो फोटो सरकारी छापसितै
नारिएको देखेर मुस्कुरायो
उपरान्त उसले हाँसेको देखिएन
विचराले हाँसोस् पनि कतिबेला
भारीले सधैं थिचेको चिच्यै छ
साहुको रिनले किचेको किच्यै छ
यही झोंकमा कहिलेकाही बले
गोरुलाई चुट्नु चुट्छ र पछि
पछुताउँदै सुम्सुम्याउँछ

बलबहादुर बेलाबेला
नागरिकतामा तस्वीर दोहोर्याएर हेर्छ
कुनै नायक भन्दा कम देख्दैन आफूलाई
इतिहासका पुस्तकमा छापिएका तस्वीरझैं
सुन्दर देख्छ ऊ आफ्नो तस्वीर
तर पनि कसैलाई भन्दैन
व्यक्त गर्दैन आफ्ना भावना
बरु भीरको टुप्पोमा चढेर
भारीमा तोक्मा लाउँछ र लामो सुसेल्छ
आफू हिंडेका बाटो र नदीलाई सुनाउँछ–
हेर म यहाँसम्म आइपुगें !

आजभोलि जीऊमा
बलबहादुरको बल हराउँदै गएको छ
उसलाई आफ्नै तस्वीरले पनि गिज्याउन थालेको छ
कहिले सुन्तलीको बट्टे ऐना माग्छ र हेर्छ आफूलाई
छाया देख्छ, आँखा देख्छ, नाक देख्छ, पहेंला दाँत देख्छ
अनि मनमनै हाँस्छ र लजाउँछ आफैसित
तर कसैलाई प्रश्न गर्दैन बलबहादुर
किन विकृत भयो अनुहार
किन विरानो भयो तस्वीर
भनेर

यसरी
सगरमाथाको फेदमा
कुनैदिन ऊ जन्मियो
कथासितै हिंड्यो ब्यथासंगै बाँच्यो
आफ्नो अपूर्णतामा कैंयौं सुन्दरता देख्यो
अनि जीवनलाई अमूक सिर्जना बनायो
बाँचेर पनि ऊ अनेकपटक म¥यो तर
आखिर मरेर पनि अझैं बाँचेको छ
रोएर पनि हाँसेको छ बलबहादुर
सगरमाथा जस्तै ।

माघ १९, २०६८ विराटनगर ।

Similar Posts

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

Leave a Reply