|

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । यो रोग २ देखि ७ दिनमा आफै निको भएर जान्छ । दोस्रो हो, पाण्डेमिक इन्फ्लुएन्जा जसलाई हामी पहिले स्वायन–फ्लुको नामले चिन्दथ्यौं जो विश्वभरि एकसाथ महामारीको रूपमा फैलने गर्दछ । यसले श्वासप्रश्वास प्रणालीलाई अलि कडा रूपमा असर पु¥याउँछ जसमा हाच्छिउँ आउने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने र आलस्य लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । बालबालिकाहरूमा वाकवाकी लाग्ने वा बान्ता आउने, पेट मडारिने तथा झाडापखाला लाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् । तेस्रो हो बर्ड–फ्लु जसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ यो रोग पङ्खीहरूमा मात्र लाग्दछ । यो अति नै संक्रामक र घातक रोग हो जसले मुख्यत पङ्खीको श्वासप्रश्वास, पाचन र स्नायु प्रणालीमा असर गर्दछ । यो भाइरस सामान्यतयाः मानिसमा बिरलै देखा पर्दछ तर यही रोग कुखुरा, हाँस वा अन्य पङ्खीमा लागेको खण्डमा ती पङ्खीसित सम्पर्कमा आउने मानिस वा बालबालिकालाई यो रोग सर्ने सम्भावना हुन्छ ।
मानव इतिहास हेर्ने हो भने बिगत तीन शताब्दीमा तीनओटा पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको थियो । बिसौं शताब्दीमा पनि तीनओटा पाण्डेमिक इन्फ्लुएन्जा भइसकेको इतिहास छ । सन् १९१८–१९ मा भएको महामारी जसलाई स्पेनिस–फ्लु भनिन्छ उक्त महामारी एच१ एन१ भाइरसबाट भएको र यसबाट ४ करोड मानिसहरूको मृत्यु भएको थियो । जुन बेला रोगको मृत्युदर २–३ प्रतिशत थियो । यस्तै सन् १९५७–५८ मा दक्षिण चीनमा सुरु भएको एच२ एन२ प्रजातिको भाइरसबाट ४० लाख मानिसको मृत्यु भएको थियो । यसैगरी सन् १९६८–६९ मा दक्षिण चीनबाट सुरु भएको एच३ एन२ प्रजातिको भाइरसबाट करिब १० लाख मानिसको मृत्यु भएको थियो ।
पाण्डेमिक इन्फ्लुएन्जा भाइरसको उत्पत्ति, विकास र प्रसार कसरी हुन्छ भन्ने विषयमा धेरै अध्ययन भएका छन् । विभिन्न प्रजातिका इन्फ्लुएन्जाका भाइरसहरूले पङ्खी र स्तनधारीहरूलाई पनि सङ्क्रमण गर्दछन् । कहिलेकाहीँ जनावरमा पाइने भाइरसले मानिसमा पनि सङ्क्रमण गर्ने सम्भावना हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा यही नयाँ प्रजातिको इन्फ्लुएन्जा ए भाइरस हो जसले जीवजन्तुबाट मानिसमा सङ्क्रमण गर्छ र मानिसबाट पुनः मानिसमा सङ्क्रमण गर्ने क्षमताको विकास गरी विश्वव्यापी रूपमा तीव्र रूपमा प्रसार भइ ठूलो जनधनको क्षतिसहित विश्वव्यापी महामारी गराउँछ जसलाई हामी पाण्डेमिक इन्फ्लुएन्जा भन्दछौं । पाण्डेमिक इन्फ्लुएन्जा रोग सर्ने तरिका जान्न आवश्यक छ । यो रोग खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा श्वासप्रश्वासको माध्यमबाट एक अर्कामा सर्दछ । साँघुरो ठाउँमा धेरै मानिस जम्मा हुने जस्तै विद्यालय, बस, चियापसल आदि स्थलमा एकअर्कामा यो रोग सर्ने सम्भावना हुन्छ । यसका साथै सीधा सम्पर्क जस्तै हात मिलाउने, गला मिलाउने, म्वाइ खाने गरेमा पनि यो रोग सर्दछ । अरूले प्रयोग गरेको रुमाल, मोबाइल, कलम, टेलिफोन, चुरोट, ढोकाको हेन्डिल वा अन्य कुनै पनि संक्रमित वस्तुबाट यो रोग सर्दछ । राम्ररी हावा नखेल्ने ठाउँको हावामा भाइरसको जनघनत्व बढी हुने हुँदा त्यहाँ यो रोग सर्ने सम्भावना अत्यधिक हुन्छ ।
प्रकोप वा महामारी भएको बेलामा यसको उपचार घरैमा गर्न सकिन्छ । यस्तो अवस्थामा सामुदायिक पहल पनि आवश्यक हुन्छ । पाण्डेमिक इन्फ्लुएन्जा महामारी फैलिएको अवस्थामा सामान्य लक्षणहरूजस्तै ज्वरो आउने, टाउको, घाँटी, तथा जीउ दुख्ने, खोकीको घरमै उपचार गर्न सकिन्छ । यसमा सामान्य औषधीको प्रयोग र घरेलु उपचारबाट पनि रोग निको पार्न सकिन्छ । झोलपदार्थको सेवन र लक्षण अनुरूप झाडापखालाको लागि पुनर्जलीय झोल, ज्वरोको लागि सिटामोलबाट उपचार गर्न सकिन्छ । बालबालिका, बृद्ध, दीर्घरोगी र गर्भवतीलाई विशेष ध्यान दिनु पर्दछ । विरामीलाई निमोनियाको, जलवियोजनको लक्षण देखापरेमा स्वास्थ्यकर्मीको सेवा लिनु पर्दछ । पाण्डेमिक इन्फ्लुएन्जाको महामारी भएको बखत समुदायमा आवतजावत तथा भेलामा नियन्त्रण गर्नु पर्दछ र विद्यालयमा बिदा दिनुपर्ने अवस्था पनि आउँछ । समुदायमा पाण्डेमिक इन्फ्लुएन्जा महामारीको रूपमा फैलिएको अवस्थामा घरैमा उपचार गर्न सकिने सामान्य बिरामीलाई घरैमा उपचार गर्नु पर्दछ । विरामी सबै अस्पतालमा भीड लागेमा सिकिस्त बिरामीहरूले जरुरी उपचार पाउनबाट बञ्चित हुने स्थितिको सिर्जना हुने भएकाले यसतर्फ पनि सचेत हुनु जरुरी छ ।
पाण्डेमिक इन्फ्लुएन्जाबाट बच्ने उपायहरू पनि जानी राख्नु पर्दछ । इन्फ्लुएन्जाबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा वा बोल्दाखेरि उछिटिने साना साना कणबाट वरिपरि बस्ने स्वस्थ व्यक्तिहरू संक्रमित हुन्छन् । यसबाट बच्ने चार उपायहरूछन् । पहिलो, खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने । दोस्रो, साबुन पानीले हात सही तरिकाले पटक पटक धुने । तेस्रो, दूरी कायम राख्ने अर्थात् करिब एक मिटरको दूरीमा रहेर गफगाफ वा कुराकानी गर्ने ताकि थुकका कणहरू उछिटिएर अर्कामा नपुगोस् । चौथो उपाय हो, यदि पाण्डेमिक इन्फ्लुएन्जाबाट कोही संक्रमित भइहालेमा बिरामीलाई अलग्गै राख्ने ।
(जनस्वास्थ्य अभ्यास र अनुभव पुस्तकबाट)

Similar Posts

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…

  • |

    Resurgence and Response: COVID-19 Public Health in Asia

    Dr. Nawa Raj Subba Despite appearing to decline in recent months, the COVID-19 epidemic is far from over. Recent outbreaks throughout Asia, particularly in India, China, and Nepal, underline the importance of increased public health awareness and vigilance. By studying official data and comprehending the present context, we can empower communities with the knowledge and…

  • Dental Health Camp

    Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations. दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर । मोरङ, पथरी–९ बोक्रेचोकमा एकदिने दन्त शिविरको आयोजना गरियो । डा. सुधिर श्रेष्ठ र डा. सफल ढुङ्गेल सम्मिलित टोलीले १५० जना बढीको दाँत परीक्षण तथा उपचार गरेको छ । चौतारी सामुदायिक वन समूह, सुन्दर सामुदायिक…

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…