प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

डा. नवराज सुब्बा

मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

मानवजातिका समकक्षी नियन्डरथल जाति शारीरिक दृष्टिले बाहिरबाट हेर्दा मानिस जस्तै थिए, शरीरमा रौं बढी मात्रामा थिए । शिकारी भए पनि यिनीहरु धर्म मान्दथे । यिनीहरु मृत्युपछिको जीवनकोबारेमा पनि ध्यान दिन्थे । जुन कुरा यिनीहरुको चिहान उत्खननमा प्राप्त गहना, फलफूल आदि सहित समाधिले पुष्टि भएको छ । यिनीहरु शरीरलाई तथा मुहारलाई मसीले रंगाएर पहिचान दिने गर्दथे । यिनीहरुले संगीतको विकास गरेको पनि प्रमाण भेटिएको छ । यिनीहरुले चराको प्वाँख टोपीमा सिउरेर लगाउने तथा गुफामा चराको प्वाँखले सजाउने गरेको प्रमाण पनि भेटिएको छ । फ्रान्स, स्पेन र जिब्राल्टरका मियन्डरथल बस्ने क्षेत्रमा यिनीहरुले ढुँगामा संकेतहरु कुँदेर छाडेको तथा गुफाको भित्तामा ढुँगामा विभिन्न चित्रहरु, धर्काहरु कोरेको पनि भेटिएको छ । यसरी नियन्डरथलले धार्मीक परम्परा, आध्यात्मिक विश्वास तथा संस्कार गर्ने गरिएका प्रमाण पनि वैज्ञानिकहरुले भेटेका छन् ।

यी नियन्डरथलसित मानिसजातिको को भेट आजभन्दा ४०,००० वर्षअघि युरोपक्षेत्रमा भयो । यी जाति आजभन्दा ३८,००० वर्ष अघि संसारबाट किन र कसरी लुप्त भए भनेर वैज्ञानिकहरुले अध्ययन र तर्क राखेका छन् । एकथरीका वैज्ञानिकहरुले मानिसजातिले यी नियन्डरथलजातिलाई युद्धहरुमा हत्या गरे र सखाप पारे भन्ने छ । अर्काथरी वैज्ञानिक यिनीहरु भाषाको कारण शिकार खेल्न मानिसजाति जत्तिको संगठित हुन नसकेर लुप्त भए भन्ने छ । माथिको दोस्रो तर्कलाई बल पु¥याउने तथ्य हालै बैज्ञानिकहरुले पाएका छन् । यिनीहरुको टाउकोको हड्डीको अध्ययन गर्दा यिनीहरुको दिमागको भित्रीतल्लो भाग मानिसको भन्दा अलि चेप्टो भेटियो । नियन्डरथलको घाँटीमा श्वासनलीको क्षेत्र अलि साँगुरो, छोटो (मानिसको बच्चाको जस्तै) अवस्थाको भएको कुरा पत्ता लाग्यो । यसले के कुराको जानकारी भयो भने नियन्डरथलको बोल्ने क्षमता र भाषिक दखल मानिसजातिको भन्दा कमजोर थियो । जसले गर्दा उनीहरुबीच आपसमा कुराकानी गर्न र सन्देश आदानप्रदान गर्न एवम् संगठीत हुन मानिस जातिलाई भन्दा अप्ठेरो थियो ।

बैज्ञानिकहरुले नियन्डरथलको हड्डीबाट तिनीहरुको डिएनए परीक्षण गरे । उक्त वंशाणुगत परीक्षणको आधारमा फक्स पि२ जिनोममा देखिएको भिन्नताले नै मूलतः नियन्डरथल र मानिसबीच फरक पाइयो । परीक्षणमा पत्ता लागेको वंशाणु बोल्न तथा भाषा सिक्ने गुणसित सम्बन्धित भएकोले नियन्डरथलको यही कमीको कारण उनीहरु प्रतिस्पर्धामा मानिसजाति भन्दा कमजोर प्रमाणित भए भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ । जेहोस्, हजारौं वर्ष मानिसजाति र नियन्डरथल पृथ्वीमा संगै बसे र आजभन्दा ३८००० वर्ष अघि पृथ्वी मानवजातिलाई बुझाएर नियन्डरथल जाति सदाको लागि विदा भए ।

यी नियन्डरथल जातिको वंशाणुको अंश हाल मानवजातिमा पनि पाइन्छ । एउटा परीक्षणमा भारोपेलीमा ३ प्रतिशत, मंगोलमा २.५ प्रतिशत र अफ्रिकनमा १ प्रतिशत नियन्डरथलको वंशाणु भेटिएको छ । यसले दुइटा प्रमुख कुरा संकेत गर्दछ । पहिलो, नियन्डरथलको संसर्ग युरोपेली क्षेत्रमा बढी भयो फलस्वरुप भारोपेली रगतमा त्यो नियन्डरथलको अंश सबैभन्दा बढी भेटियो । दोस्रो नियन्डरथल तीनलाख वर्षपूर्व नै अफ्रिकाबाट उत्तर लागेका र युरोप क्षेत्रमा प्रवेश गरेको तथा मानवजाति करिव एकलाख वर्षपूर्व अफ्रिकाबाट उत्तर लागेर एशियातिर लागेकाले अफ्रिकी मानिसमा नियन्डरथलको वंशाणु कम पाइएको वैज्ञानिकहरुको मान्यता छ ।

नियन्डरथलको वंशाणुको अध्ययनबाट निस्केको एउटा प्रारम्भिक निष्कर्षले के बताउँछ भने नियन्डरथल मानिसजाति भन्दा अघि नै युरोप तथा अन्य भूभागमा फैलिएर विभिन्न रोगबाट बच्ने क्षमता इम्यूनिटी हासिल गरेका थिए । त्यो पछि रक्तमिश्रणबाट मानिसजातिमा पनि प्राप्त भयो । नियन्डरथलबाट प्राप्त एचएलए टाइप डिएनएले क्यान्सररोग लड्ने शक्ति प्रदान गर्ने भएको तथ्य हालै वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसरी संसारबाट विलुप्त हाम्रा पूर्वजका एक महत्वपूर्ण वंश नियन्डरथलको थप वंशाणुगत अध्ययन भइरहेको छ । साथै यिनीहरु संसारबाट यसरी विलुप्त हुनका थप कारण पत्ता लागेमा मानिसजातिलाई पनि संसारमा टिकाइराख्न तथ्यहरुबाट सहयोग मिल्नेछ ।

स्रोतः Ancestral Lineage Media.

Similar Posts

  • गाईजात्रा

    डा‍‌. नवराज सुब्बा गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार…

  • परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

    डा. नवराज सुब्बा बाल्यकालमा मैले अनुभूत गरेका लिम्बू समुदायका केही गतिविधि स्मरण गर्न चाहन्छु । आजभन्दा करिव ५० वर्ष अघि मेरो गाउँ आठराई हाङपाङमा अनौंठा गतिविधि हुन्थे । मेरो घर विद्यालयको नजिक थियो । विद्यालय लागेको बेला विद्यार्थी, शिक्षकहरूको चहलपहल हुन्थ्यो । तर असार साउन छुट्टि भएको बेला गाउँ सुनसान हुन्थ्यो । त्यसबेला सबैजना काम…

  • सकारात्मकवाद

    डा. नवराज सुब्बा~ पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन साथै समाजलाई सदाचार बनाउन उक्त दर्शन र मार्ग मानिसले अपनाए होलान् । तेह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीका मानिसको चेतनास्तर अलि माथि उठेको देखिन्छ । त्यसबेला उनीहरुले…

  • किरात मुन्धुम सुन्दरतम् मानव चेतना

    डा. नवराज सुब्बा (क) पृष्ठभूमि मुन्धुमको मूल मौखिक परम्परा मुन्धुम मौखिक परम्परा हो । यो लोक साहित्य हो । यसलाई साम्बा, येबा, येमा, फेदाङबाको मुख–मुखमा झुण्डिदै आएको थतुनोमा विकसित थुतुरे वेद पनि भनिन्छ । लामो पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै जाँदा यसको मौलिकतामा केही फरक पर्न सक्दछ । यसैले विभिन्न पुस्तामा, भिन्न स्थानमा पाइने मुन्धुममा विविधता…

  • लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

    डा. नवराज सुब्बा — आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा,…