मुन्धुमी सौन्दर्यको जीवन्त सेतु: साम्बादेखि येबासम्म

मुन्धुमी सौन्दर्यको जीवन्त सेतु: साम्बादेखि येबासम्म

(निबन्ध) डा. नवराज सुब्बा

पहाडको थुम्कोमा साँझपख घाम ओझेल पर्दै गर्दा कतै टाढाबाट च्याब्रुङको मन्द आवाज सुनियो भने बुझ्नुहोला—मुन्धुमले आफ्नो सुसेली हाल्न सुरु गर्यो। मुन्धुम भनेको कुनै दराजमा थन्किएको पुरानो किताब होइन, न त यो कुनै निर्जीव अक्षरहरूको थुप्रो नै हो। यो त हाम्रो सास फेर्ने शैली हो। तर, यो मुन्धुम त्यसै हावामा भने बाच्दैन। यसलाई हामीसम्म ल्याउने, हामीलाई महसुस गराउने र हाम्रो आत्मासँग जोडिदिने काम त हाम्रा ती विशिष्ट पात्रहरूले गर्छन्, जसलाई हामी साम्बा, फेदाङमा वा येबा भन्छौँ। साच्चै भन्ने हो भने, यी विशेषज्ञहरू बिना मुन्धुमको त्यो अतीन्द्रिय (Transcendental) सौन्दर्य एउटा बासी कथा जस्तो मात्र हुन्थ्यो।

मैले कति पटक पहाडका उकाली-ओराली गर्दा अनुभव गरेको छु, जब एउटा साम्बाले मुन्धुम फलाक्न सुरु गर्छन्, त्यहाँको हावा नै परिवर्तन भए जस्तो लाग्छ। साम्बाको त्यो मधुर भजन, जसलाई हामी ‘साम्लो’ भन्छौँ, त्यसको लय यस्तो हुन्छ कि सुन्ने मानिसको ‘निङ्वा’ (मन) आफैँ शान्त भइदिन्छ। साम्बाको घाँटीबाट निस्कने ती आदिम शब्दहरूमा हाम्रा पुर्खाहरूको हजारौँ वर्ष पुरानो संवेग लुकेको हुन्छ। उनीहरूले कुनै लिपि बिना, केवल आफ्नो स्मृतिको भरमा घण्टौँसम्म सृष्टिको गाथा वाचन गर्दा त्यहाँ एउटा सत्तामीमांसात्मक (Ontological) गहिराइ पैदा हुन्छ। यो केवल कथा सुनाउनु मात्र होइन, बरु अतीतलाई वर्तमानको आँगनमा ज्युँदो पारेर उभ्याउनु हो।

बहु संवेदी मुन्धुमी सौन्दर्य

कुरा केवल मधुरतामा मात्र सकिँदैन। मुन्धुमको अर्को पाटो अलि ‘गर्जनशील’ छ। जब येबाहरूको ढ्याङ्ग्रो बज्न थाल्छ, तब माहोल नै अर्कै हुन्छ। साम्बाको स्वरमा एउटा सौम्य शान्ति छ भने येबाको ढोलमा चाहिँ एउटा ध्वन्यात्मक (Phonetic) विद्रोह हुन्छ। त्यो ढ्याङ्-ढ्याङ् आवाजले मानिसको भित्री मनमा लुकेका डर, त्रास र पुराना मानसिक आघातहरूलाई कता हो कता बढारेर लैजान्छ। मानौँ, त्यो ढोलको हरेक प्रहारले हाम्रो आत्मामा लागेका धूलो-मैलो टक्टक्याइरहेको छ। येबाले जब आफ्नो विशिष्ट पोशाकमा उफ्रिएर ‘येलम’ (आत्मा नृत्य) देखाउँछन्, त्यहाँ एउटा यस्तो ‘बहु-संवेदी’ (Multi-sensory) जादु पैदा हुन्छ, जसलाई आँखाले हेर्न, कानले सुन्दै शरीरको हरेक रौँ ठाडो हुने गरी महसुस गर्न सकिन्छ।

मलाई एउटा घटना अझै सम्झना छ। धेरै अघि एकजना बिरामी मानिस, जो डिप्रेसन जस्तै समस्याले थलिएका थिए, उनलाई फेदाङमाले ‘फुङवा चाङ्मा’ (शिर उठाउने) अनुष्ठान गरिदिए। फेदाङमाले जसरी एउटा फूललाई पुज्दै, उसको आत्मविश्वास जगाउँदै मुन्धुम वाचन गरे, त्यसले त्यो मानिसमा ल्याएको परिवर्तन कुनै आधुनिक अस्पतालको ‘काउन्सिलिङ’ भन्दा कम थिएन। स्वास्थ्य मनोविज्ञानको विद्यार्थीका नाताले मैले त्यहाँ एउटा गहिरो संज्ञानात्मक (Cognitive) उपचार पद्धति देखेँ। यो एउटा यस्तो पारिस्थितिक (Ecological) सौन्दर्यशास्त्र हो, जहाँ मानिसलाई प्रकृति र पुर्खासँग जोडेर उसको मानसिक घाउ निको पारिन्छ।

मुन्धुमको सौन्दर्य साच्चै ‘बहु-संवेदी’ हुन्छ। यहाँ केवल कानले सुनेर पुग्दैन। सायाबुङको त्यो चम्किलो रङ, धूपको त्यो सुगन्धित बास्ना, ढोलको त्यो मुटु थर्काउने आवाज, अनि फेदाङमाको हातको स्पर्श—यी सबै मिलेर मुन्धुमलाई एउटा पूर्ण अनुभव बनाउँछन्। यो कुनै ‘भ्याकुम’ वा शून्यतामा हुने कुरा होइन। यसका लागि ती पात्रहरू चाहिन्छन् जसले आफ्नो शरीर र आवाजलाई मुन्धुमको माध्यम बनाउँछन्। उनीहरूकै कारण मुन्धुम आज पनि उत्तिकै ताजा र जीवन्त छ।

अभिलेखागार मुन्धुम

हामीले बुझ्नुपर्ने कुरा के हो भने, साम्बाको सुमधुर भजनले हाम्रो इतिहासलाई मलम लगाउँछ भने येबाको गर्जनले हाम्रो अस्तित्वलाई जोगाउँछ। यी हाम्रा मुन्धुमी विज्ञहरू नै हुन्, जसले यो दर्शनलाई एउटा सुन्दर कलाको रूपमा जोगाएर राखेका छन्। उनीहरू नहुने हो भने मुन्धुम केवल एउटा चिसो पाण्डुलिपि मात्र हुन्थ्यो। उनीहरूले नै मुन्धुमलाई ‘सास’ फेर्न सिकाएका छन्। उनीहरूकै माध्यमबाट मुन्धुमले हाम्रो मनलाई निको पार्छ र हाम्रो संस्कृतिलाई भोलिको पुस्तासम्म लैजाने अभिलेखागार (Archive) को काम गर्छ।

त्यसैले त भन्छु गुरू, मुन्धुमको सुन्दरता भनेको ती विशेषज्ञहरूको पसिना, स्वर र विश्वासमा छ। साम्बाको घाँटीबाट निस्कने हरेक ‘साम्लो’ र येबाको ढोलबाट निस्कने हरेक ‘गर्जन’ ले हामीलाई यो बताइरहेको हुन्छ कि हामी को हौँ र हाम्रो यात्रा कहाँसम्मको हो। यो एउटा यस्तो अन्तर-विषयक (Interdisciplinary) सङ्गम हो, जसले हाम्रो समाजलाई आजसम्म एउटा सूत्रमा उनेर राखेको छ। मुन्धुमी सौन्दर्यशास्त्र भनेकै यही ‘जीवन्त प्रस्तुति’ हो, जसले मानिसलाई केवल बाच्न मात्र होइन, आफ्नो जरोसँग जोडिएर गर्वका साथ शिर उठाउन सिकाउँछ।

उपसंहार

अन्ततः, मुन्धुमका यी ज्ञाताहरू नै हाम्रा वास्तविक ‘संस्कृतिकर्मी’ हुन्। उनीहरूले नै मुन्धुमको अमूर्त दर्शनलाई मूर्त रूप दिन्छन्। चाहे त्यो शान्त साम्बा होस् वा उग्र येबा, उनीहरू दुवैले मुन्धुमलाई एउटा यस्तो उपचार पद्धति बनाउँछन्, जसले हाम्रो मस्तिष्क (Ningwa) लाई मात्र होइन, हाम्रो आत्मा (Sam) लाई पनि शुद्धिकरण गर्छ। यो सौन्दर्य नै हाम्रो शक्तिको स्रोत हो।

Similar Posts