फर्किन नसकिने बाटो

फर्किन नसकिने बाटो

कथा
डा. नवराज सुब्बा

बेलायतको त्यो सानो सहरमा बिहान ढिलो उज्यालो हुन्थ्यो। झ्यालबाहिर धुम्म कुहिरो लाग्थ्यो, सडक चिल्ला तर सुनसान। घरअगाडि आँगन वरपर घाँस बराबर काटिएको। पर परसम्म उस्तै उस्तै देखिने घरहरू। उस्तै ढोका। उस्तै झ्याल।

वीरबहादुर बिहान पाँचै बजे उठ्थे। नेपालमा हुँदा पनि उनको बानी त्यही थियो। यहाँ आएपछि पनि फेरिएन। उनी चिया पकाउँथे। बिजुलीको केतली एकछिनमा पानी उम्लिन्थ्यो। उनलाई अचम्म लाग्थ्यो, “ग्यास बाल्नै पर्दैन, दाउरा बाल्नै पर्दैन, मान्छेले कति सजिलो जिन्दगी बनाएको।”

तर सजिलो जिन्दगीले मन सजिलो बनाउँदो रहेनछ।

उनी चिया लिएर झ्यालछेउ बस्छन्। बाहिर कोही मान्छे हिँडेको देखिन्न। नेपालमा त यही बेला गाउँको बाटोमा गाई निस्किसक्थे। कुँडो बोकेका मान्छे भेटिन्थे। कतै ढिकी कुटेको आवाज आउँथ्यो। कतै कुखुराको भाले बास्दथ्यो। तर यहाँ त आवाज पनि मरेजस्तो।

उनकी श्रीमती मायादेवी माथिल्लो कोठाबाट बिस्तारै झर्छिन्। घुँडा दुख्छ। बेलायत आएपछि झन् बढी दुख्न थालेको छ। उनी कुर्सीमा बस्दै भन्छिन्,

“आज फेरि पानी परेछ।”

वीरबहादुर मुसुक्क हाँस्छन्,
“यहाँ त पानी नपरेको दिन पो अनौठो लाग्ने, हगि!”

दुवै हाँस्छन्। तर त्यो हाँसो धेरै बेर टिक्दैन।

छोरो अर्जुन बेलायती सेनामा थियो। दस वर्षअघि भर्ती भएको। नेपालमा हुँदा घरको अवस्था कमजोर थियो। थोरै खेत, पुरानो घर, ऋणबान। अर्जुनले विदेश जाने जिद्दी गर्‍यो। गाउँलेहरूले भने, “लाहुरे भयो भने परिवार बन्छ है।”

परिवार त बन्यो। तर कुन ठाउँमा बनेको परिवार? आज कहाँ?

अर्जुनले बेलायतमै घर किन्यो। ठूलो, सफा, दुईतले। छोराबुहारी दुवै काममा जान्थे। नातिनातिना स्कुल।

त्यसपछि एकदिन अर्जुनले भन्यो,
“बा, अब नेपालमा एक्लै बस्ने होइन। घरजग्गा बेचौँ। यहाँ बेलायतमै आउनुस्।”

वीरबहादुरले धेरै दिनसम्म केही जवाफ दिएनन्, मुखले केही बोलेनन्। मायादेवी चाहिँ सजिलै मानिन्।

“हाम्रो बारी? त्यो आँपको रुख? तिम्रो बाबुको हातले बनाएको घर?”

अर्जुन रिसायो,
“यहाँ त्यति दुखले बनाएको घरमा को बस्छ र? चोरी हुन्छ। हेर्ने कोही छैन। यहाँ नै आराम हुन्छ।”

आराम।

यो शब्दले मानिसलाई कतिसम्म लखेट्दो रहेछ।

अन्ततः घरबारी बेचियो। पुरानो घर भत्काइयो। काठ, ढुंगा, झ्याल सबै अरूले लगे। उनीहरू जहाज चढेर बेलायत आए।

पहिलो वर्ष नयाँपनले बित्यो। सडक हेरे। रेल चढे। पार्क गए। अस्पताल देखे। सबै कुरा मिलेको, सफा, नियममा बाँधिएको।

तर दोस्रो वर्षदेखि उनीहरूभित्र एउटा खाली ठाउँ बढ्न थाल्यो।

वीरबहादुर कहिलेकाहीँ नक्सामा नेपाल हेर्थे। मोबाइलमा गाउँको फोटो खोज्थे। कसैले नयाँ पक्की घर बनाएको देखिन्थ्यो। कतै पुरानो बाटोमा कालोपत्रे भएको। उनलाई अचम्म लाग्थ्यो, “गाउँ त हामीबिनै अघि बढिरहेछ।”

मानिसलाई सबैभन्दा धेरै पीडा के ले दिन्छ भने, आफू नभए पनि संसार चलिरहने सत्यले।

एक साँझ उनी बगैँचामा उभिएका थिए। चिसो हावा चलिरहेको। मायादेवी नजिकै आइन्।

“के हेर्नुभएको?”

“केही होइन।”

“नढाट्नु न। फेरि गाउँ सम्झिनुभयो।”

वीरबहादुर केहीबेर चुप लागे।

“माया, मान्छे जहाँ गए पनि आफ्नो पहिलो माटो बिर्सन सक्दैन रहेछ नि।”

लोग्नेको कुरा सुनेर मायादेवीको आँखा पनि रसायो।
“मलाई राति कहिलेकाहीँ हाम्रो घरको सपना आउँछ। म त्यहीँ छु। आँगनमा गोबर लिपिरहेकी छु। अनि ब्युँझँदा यहाँको सेतो छत देखिन्छ। मन एक्कासी खल्लो हुन्छ।”

त्यो रात उनीहरू धेरै बेर नसुती बसे।

बाहिर पानी परिरह्यो।


अर्जुन आफ्नै दुनियाँमा व्यस्त थियो। ऊ नराम्रो छोरो थिएन। उसले आफ्ना बाआमालाई दुःख नहोस् भनेरै बेलायत ल्याएको। राम्रो कोठा बस्ने ठाउँको ब्यवस्था गरिदिएको छ। औषधि, कपडा, खाना सबै मिलेकै थियो।

तर सन्तानले दिने सुविधा र मानिसले खोज्ने अपनत्व एउटै कुरा रहेनछन्।

अर्जुनलाई समय थिएन। बिहान निस्किन्थ्यो, साँझ फर्किन्थ्यो। नातिनातिना अंग्रेजीमै बोल्थे।

एकदिन नातिनीले हजुरबालाई सोधी,
“ग्रान्डपा, नेपालमा हात्ती घरमै हुन्छ?”

वीरबहादुर हाँसे। तर त्यो हाँसोभित्र कतै चिसोपन थियो। उनलाई लाग्यो, आफ्नै रगतसँग पनि आफ्नो देश आज दन्त्यकथा जस्तै भइसकेछ।

मायादेवी कहिलेकाहीँ भान्सामा चामल केलाउँदै आफैंसँग कुरा गर्थिन्,
“हामीले यहाँ के पायौँ होला?”

वीरबहादुरले सुन्थे। तर जवाफ थिएन।

उनीहरू नेपालमा हुँदा दुःख थियो, तर चिनेजानेको दुःख थियो। यहाँ सुख छ, तर बिरानो सुख।

मानिसलाई आफ्नो पीडा पनि आफ्नै ठाउँको चाहिने रहेछ।


एकदिन गाउँबाट खबर आयो। वीरबहादुरका बालसखा टेकबहादुर बितेछन्।

फोन राखेपछि उनी धेरै बेर चुप लागे। साँझ मायादेवीसँग भने,
“हामीलाई पनि त्यहीँ मर्न पाए हुन्थ्यो हगि माया।”

मायादेवी झस्किइन्।
“किन यस्तो बोल्नुहुन्छ?”

“साँचो कुरा हो। म यहाँ मरेँ भने मलाई चिन्ने को छ? त्यो डाँडो, त्यो खोला, त्यो मन्दिर, ती बाटाहरूले मात्र त मलाई चिन्छन्।”

त्यो रात दुवैले पहिलोपटक एउटै कुरा गरे।

“हामी मरेपछि हाम्रो लास गाउँमै लैजानू।”

त्यो उनीहरूको अन्तिम इच्छा जस्तै बन्यो।

किन?

किनभने मानिस अन्तिममा आफ्नो सुरुवाती थलो खोज्दो रहेछ।

जति टाढा पुगे पनि जीवनको घेरा फेरि त्यहीँ फर्किन चाहँदो रहेछ, जहाँबाट ऊ हिँडेको थियो।


वीरबहादुर बिस्तारै कम बोल्ने भए। उनी झ्यालबाट बाहिर धेरै हेर्थे। कहिलेकाहीँ आफ्नै मनसँग डराउँथे।

“के हामीले गल्ती गर्यौँ?”

तर फेरि सोच्थे,
“छोराले त राम्रै चाहेको, गरेको हो।”

जीवनमा धेरै निर्णय यस्तै हुँदारहेछन्। कसैको दोष हुँदैन। तर नतिजा भने मनभित्र काँडाझैँ बिझिरहन्छ।

एकदिन उनले डायरीमा लेखे:

“मानिसले घर बेच्न सक्छ, तर घरले बनाएको मन बेच्न सक्दैन। म बेलायतमा छु, तर मेरो मन अझै बिहान गाउँको धारामा पानी भर्दैछ।”

त्यो लेखेर उनी धेरै बेर रोए।

सायद उमेर ढल्किएपछि मानिस फेरि बालक बन्छ। उसलाई आफ्नो माटो, आफ्नो गन्ध, आफ्नो भाषा, आफ्नै आकाश नै चाहिन्छ।

विदेशले शरीर राख्न सक्छ। आत्मा भने सधैं आफ्नो जन्मभूमितिर फर्किरहन्छ।

बाहिर फेरि पानी परिरहेको थियो।

वीरबहादुरले झ्याल बन्द गरे। अनि बिस्तारै भने,
“माया, अर्को जुनी भए म कतै जाँदिनँ। आफ्नै गाउँमा बस्छु।”

मायादेवीले उनको हात समातिन्।

दुवै चुप लागे।

त्यो चुपचापभित्र एउटा गाउँ थियो।
एउटा बेचिएको घर थियो।
र फर्किन नसकिने एउटा लामो बाटो थियो।

Similar Posts