कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो । यसपालिको दशैं विदामा उक्त लेख खोजेर टाइप गरेर वेभसाइटमा राख्ने विचारले पत्रपत्रिकाको रासमाथि खनिएँ । धुलोमुलोले एलर्जी भयो रुघामर्गी लाग्यो तर त्यो सामग्री फेला पार्न सकिन । रुघामर्गी अलि कम भएकाले आज शनिबार बिहान फेरि बाँकी प्याकेटहरू खोल्दै थिएँ, बरु पहिले निकै खोज्दाखोज्दा नभेटेको तर अहिले भने नखोजेको एउटा सामग्री पो भेट्टाएँ- दाहाल यज्ञनिधिको ‘ढिकुरोको गीत’ भन्ने गीतको कटिङ । २०५९ सालमा म संखुवासभा जिल्लामा सेवारत रहँदाको घटनासँग गाँसिएको छ यो रचना ।
यो रचनाको बारेमा मैले मेरो ‘मनको मझेरी’ निबन्धसङ्ग्रहमा ‘जदौ दाहाल यज्ञनिधि’ शिर्षमा पनि उल्लेख गरेको थिएँ । उक्त निबन्ध एकदिन स्वयम् दाहालजीले पढेपछि ‘हैन हौ त्यो गीत त मैले पनि पो हराएँ, तपाईसँग भए पाउँ न’ भन्नुभो । मैले पनि तत्काल ‘हुन्छ नी’ भनें । तर घरमा आएर खोज्छु अहँ भेट्दिन । कता पर्यो होला भन्दाभन्दै केही वर्षपनि बिते मैले पनि खोज्न छाडें उहाँले पनि कुरा गर्न छाड्नुभो । एकदिन मित्र अनिल पौडेलजीसँग यस्तै साहित्यिक भित्तेक्यालेण्डरको चर्चा हुँदा मैले उनै दाहाल यज्ञनिधिको रचनाको कुरा उप्काएँ । ‘हैन हौ त्यसको सम्पादक त मै हुँ नि यार’ भन्नु भो । अब भने मलाई त्यो सामग्री घरमा मुसाले खायो कि धमिराले खायो भन्दै चिन्ताले झन सतायो, तर अब भेट्दिन होला भनेर एकप्रकारले मनमनै माया पनि मारेको थिएँ । तर अचम्म, आज नचिताएको सामग्री अर्थात् उही सामग्री पो फेला पारें त । यसबेला मलाई जुन खोजेको कुरा नभेट्दा जति खल्लो लाग्दैथ्यो, नखोजेको कुरा भेट्दा त्यो सबै विस्वाद बिर्सिदिएँ । यो सामग्री अर्थात् कटिङले दुइचार प्याराग्राफ नकोरी बस्न सुखै दिएन त्यसैले केही कुरा कोर्न बसें ।
बरिष्ठ कवि विक्रम सुब्बाले एकदिन फेसबुक अनलाइनमा एउटा सन्देश प्रवाह गर्नुभयो । ‘कुनै काव्य वा कविता पढेर लागेको अनुभव अब आदानप्रदान गरौं ।’ वहाँको यो सन्देश मलाई यत्ति सकारात्मक लाग्यो कि मैले तत्कालै ‘हुन्छ’ भनेर प्रतिक्रिया दिएँ, सम्भवत पहिलो व्यक्तिको रुपमा । दिन त दिएँ जवाफ तर अब कुन रचनाको प्रतिक्रिया के दिने हो बडो सोंचमा परें । सम्झे मेरो हातमा अहिले बरिष्ठ गीतकार प्रेमविनोदनन्दनको ‘ऐनाभित्रको आकाश’ गीतसंग्रह छ, यस्तै अर्का एकजना प्रचारप्रसारबाट टाढा रहेका प्रतिभाशाली गीतकार विश्वरमण न्यौपानेको गीतसंग्रह ‘तिमी कहिल्यै नरुनु है’ मेरो हातमा छ । यिनका बारेमा केही अनुभूति लेख्ने टुङ्गोमा म पुगेको छु । दिमागमा एकप्रकारको ढाँचा पनि तयार गरिसकेको छु । तर आज अचानक दाहाल यज्ञनिधिको यो रचनाले उछिन्यो र मलाई हतारमा केही लेख्न बाध्य तुल्यायो ।
आज म मेरो अतीत सम्झन्छु । मेरो साहित्यिक यात्रामा अध्ययन, चिन्तन, मनन, र एकप्रकारको साहित्यिक निराशा, सुस्तताले थिचिएर बसेको कालखण्डमा मेरो सुस्ताइ र सुसाइलाई एकाएक लहर र स्वरमा रुपान्तरण गर्न उर्जा दिने केही स्रष्टाहरू मध्येका एक हुन दाहाल यज्ञनिधि र उनको यो रचना पनि । जसको मर्म मेरो मुटुमा गढेर बास बसेको छ । र यसले मलाई बेलाबेला शक्ति दिन्छ यस्तै रचना गर्नलाई । यो ‘ढिकुरोका गीत’ कस्तो छ, मैले बताउनै पर्दैन, आफै बोल्छ । सायद पाठकको मन जित्छ होला भन्ने आशाका साथ आज बाँड्दैछु । यसरी हाम्रै समाजकी एउटी सीमांन्तकृत मगर्नीको मर्म बुझेर आँशु बहाउने मर्मज्ञ र्सजकको दीर्घायुको कामना पनि गर्दछु ।
२०६७।७।६ विराटनगर