आत्मासितको साक्षात्कार रहेछ कविता

Sharing is Caring

डा. नवराज सुब्बा ।

जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति मात्र हुन् भनेर आफैसित तर्किएँ । तर आफूले चाहेर लेखिने र नचाहेर नलेखिने चीज होइन रहेछ कविता । जसरी नमरौं भनिन्छ मरिन्छ, अब त मरे हुन्थ्यो भन्यो बाँचिन्छ, त्यस्तै रहेछ कविता, जति दिन बाँचिन्छ लेखिन्छ । मैले मेरो धुकधुकी ठानेको छु कवितालाई । आत्मा ठानेको छु सिर्जनालाई । कसैले मलाई भेट्न खोजे, छाम्‍न खोजे म कवितामै भेटिन्छु, आत्माको तहमैं भेटिन्छु ।

विगत २०७२ साल वैशाखमा नेपालमा ठूलो भूकम्प आएताका कवितासङ्ग्रह आधाउधि लेखिसकेको रहेछु । २०७७ सालमा कोरोना कोभिड १९ महामारीको दोस्रो लहर चल्दा हाम्रो हालत निकै बिग्रियो । भूकम्पको चोट र महामारीको पीडा र बीचमा राजनीतिको रापले मान्छेको दोहोलो काड्दा रचनाको चापले सङ्‍ग्रहको आकार लियो । एक दशकको अनुभूतिलाई एउटा मालामा उन्दा उचित होला भन्‍ठानें ।

भनिसकें, २०७२ सालको भूकम्प भन्दा निकै जेठा कविता बलबहादुरको कथा, न्यूटन र स्याउ यसभित्र छन् । मलाई कता कता डर के लाग्छ भने नेपाली पाठकले बीसौं शताब्दीसम्म पहाडमा ढुवानीका एक मात्र साधन ढाकर वा ढाक्रे थिए भन्ने कुरा आजका पुस्तालाई अचम्म लाग्दो हो । आजको पुस्ताले बलबहादुरहरूको पुरूषार्थ देखेकै छैनन् ! किनभने आज गाउँगाउँमा मोटर बाटो पुगेका छन् । पिठ्यूँमा बोक्ने चामल, नून, तेल, कपडा आदि गाडीले ल्याइदिएका छन् । धरानबाट साँगुरी भन्ज्याङ, धनकुटा टेकुनालाको भीर र उकालो, तीनजुरे पहाड, गुफापोखरी, गोर्जाटार, दोभान जस्ता भरीयाका पदयात्रालाई मोटरबाटो नागबेलीले पुरिदिएको छ । त्यहाँ हिडने बलबहादुर, उनको ढाकर र तोक्मा आज हराए । आज बलबहादुरहरूका रूप र भूगोल फेरिएका छन् । उनीहरू प्रवासीभूमि र मरूभूमिमा जोतिएका छन् । उसले ढाकर थन्क्याए पनि उहिले र अहिलेका बलबहादुरहरूका मेहनत र पसिनाको रङ्‍ग र सुगन्ध भने उस्तै नै छ । त्यसैले यो कवितालाई मैले जतनसाथ यस सङ्‍ग्रहमा सजाएको छु ।

२०७७ सालदेखि विश्‍वमा कोरोना महामारीको ताण्डवनृत्य देखायो । नेपालमा त्यसको झण्डै एक वर्षमा दोस्रो लहर आउँदा अस्पतालमा विरामीले बेड र अक्सिजन नपाउने हाहाकार भयो । जनता सुरूदेखि पीडित छँदै थिए उता स्वास्थ्य प्रणाली पनि विरामीको चापले अस्तव्यस्त हुन पुग्यो । ‘जब पर्यो राती अनि बुढी ताती’ भनेझैं राजनीतिक पार्टी र सरकारको किचलो अचाक्ली बढ्यो । देश हाँक्ने दलहरू सिद्धान्तहीन, विधिविधानहीन भए । फलस्वरूप दलहरू विसङ्‍गतिको दलदलमा फसे । जनताले भरोसा गर्ने ठाउँ नपाएर एक्ला र निरीह जस्ता भए । अब मुलुकको अस्तित्व सङ्‍कटमा पर्ने हो कि भन्ने चिन्ता थपियो । यसरी मुलुकमाथि मडारिएको अनिष्‍ठ बादलको छाया कवितामा पर्नु स्वभाविक छ ।

काव्यलेखनको यात्रा यहाँसम्म आइपुग्दा मैले आत्मसमीक्षा गरें । मेरा रचनाको प्रभावपरकता तथा भावपरकताको आत्मसमीक्षा गरें । काव्यमा उठाएका विचार, भाव र शिल्पलाई आफैले मूल्याङ्‍कन गरें । समकालीन कवितासित आफ्ना रचना तुलना गरें । आफूलाई कविको लहरमा उभ्याएर आफैले खोजें आफूलाई । मैले कविता, कवि र कवित्वलाई सुम्सुमाएँ, छामें । साहित्यिक बजार र वातावरणमा घुमफिर गरें । नेपालको राजनीति जस्तै साहित्यिक वातावरण पनि प्रदूषित पाएँ । मैले आरम्भमा अक्षर पढेर लेखक र साहित्य क्षेत्रको जुन परिकल्पना गरेको थिएँ वास्तविक मैदानमा उत्रदा भिन्‍न पाएँ ।

मानवशास्त्र र मनोविज्ञानका चस्माले आफूलाई पढि हेरें, दुनियाँतिर आँखा घुमाएँ । जोकोहीलाई नपच्‍ने एउटा अनौठो तथ्य फेला पारें । अध्ययनक्रममा मैले कवित्व र जोखना हेराइ तुलनीय पाएँ । समन वा धामीले आत्मा वा ईश्‍वरसित साक्षात्कार गर्ने क्षमता राख्दछ । अलौकिक शक्ति हासिल गर्न तथा अरूलाई प्रभावित तुल्याउन धामीले अनौंठा कृयाकलाप गर्ने गर्दछन् । उसले विभिन्न भावभङ्‍गीमा प्रस्तुत गर्दछ । पहिरन पनि बेग्लै किसिमको लगाउँछ । उसभित्र कवित्व र मनोविज्ञानको शक्ति हुन्छ । जोखना हेर्दाहेर्दै ऊ अर्धचेतन तथा अचेतन अवस्थामा पुग्दछ । मनोविज्ञान, आत्मवाद, जीववाद, तथा मानवशास्त्रीय दृष्किोणबाट हेर्दा समन वा धामीले जोखनामा संस्कृति, मनोविज्ञान, मन, आत्माका श्रृङ्‍खला पार गरेर एउटा निचोड पस्कन्छ । उसैगरी एक कविले पनि मनभित्र भावनालाई उरालेर जोखनासित कार्य-व्यापार गरी एउटा बिम्व टिप्दछ र सिर्जनामा उतार्दो रहेछ भन्ने थाहा भयो । यद्यपि धामीको जोखनाको तुलनामा कविको भावना र आत्मासितको लगाव तुलनात्मक रूपमा सतही हुन्छ ।

अब कवि, कलाकारका शैलीको टिप्पणी गरौं । कलाकार केस पाल्न रूचाउँछ उता कवि पनि दाह्री पाल्न मन पराउँछ । कलाकार कानमा गहना कुन्डल झुन्ड्याउन मनगर्छ उता कवि चुरोट पिउन, नसा सेवन गर्न, गम्भीर मुद्रामा बस्‍न रूचाउँछ । एकप्रकारले हेर्दा कवि कलाकारका व्यवहार असामाजिक लाग्छन् तर उनीहरू समाजलाई बाटो देखाएको ढोंग पिटेर थाक्दैनन् ।

कवि, कलाकारप्रति समाजको धारणा रोमान्चक बढी छ । समाजले कवि, कलाकारलाई मनोरन्जनको पात्र वा साधन बढी मान्दछ । बजारले पनि कलालाई एउटा वस्तु मान्दछ । यसका सर्जक कवि र कलाकारलाई पनि उही स्तरमा राख्दछ । यसैले राज्यले पनि कवि कलाकारलाई अलिकति दाम, पुरस्कार, मानसम्मान दिएर व्यवस्थापन गरिदिन्छ । साहित्यको रचनागर्भ र रचनामा तथा साहित्यकारको भूमिकालाई राज्य तथा समाजको व्यवहारले हस्तक्षेप गरेका छन् । आज बजारले कवि कलाकारका सिर्जनात्मक प्रतिभाको अवज्ञा मात्र गर्दैन, बिकाउ सामग्री लेख्‍नलाई प्रोत्साहित गर्छ । शक्तिको आडमा स्रष्टालाई पुरस्कार र मानको लालीपप देखाएर प्रसस्ती गाउन वा लेख्‍न लगाउँछ । यसरी आज कवि, कलाकार तथा सिर्जना वस्तुतुल्य बनेका हुन् । यतिसम्म कि, पैसा, शक्ति र पहुँचको बलमा चाटुकार स्रष्टाकै बुई चढेर कतिपय मानिस लेखक बनेका छन् । असली लेखक कुन नकली लेखक कुन छुट्याउन आज पाठकलाई हम्मे परेको छ । यसैले म आज बजारमा उपलब्ध साहित्य सामग्रीमा भरोसा गर्न सकिरहेको छैन ।

मनमा अनेक प्रश्‍न छन् जसको उत्तर म निरन्तर खोजिरहेको छु । विज्ञान, साहित्य, संस्कृति, मानवशास्त्र र मनोविज्ञान अध्ययन गर्दा मेरा जिज्ञाशा केही शान्त भएका पनि छन् । कविता लेख्दा एकप्रकारको शक्ति कहाँबाट कसरी आउँदो रहेछ भन्‍ने पनि थाहा भयो । संक्षेपमा भन्‍नुपर्दा मभित्र उत्पन्न हुने उर्जा र शक्तिलाई मैले धामीको जोखना हेर्ने कला र शक्ति तुलनीय पाएँ । यसमा मलाई सङ्‍कोच छैन, गर्व छ । यो कवि वा कवित्व धामीझाक्रीकै फरक रूप रहेछ । विश्‍वविद्यालयबाट आधुनिक शिक्षामा उपाधि हासिल गरेका कविलाई पुरातन धामीको जोखना शक्तिसित तुलना गरेको कसैलाई नपच्ला । तर मेरो अध्ययन र विश्‍लेषणले भन्छ- कवि धामीझाक्रीको कान्छो भाइ हो ।

समन वा धामीको कवित्व वा अलौकिक शक्तिले लोककथा, लोकगाथा, लोकसाहित्यको सिर्जना र संस्कृतिको निर्माण भयो । लोक धुकधुकी, लोकसाहित्यको आधारमा आधुनिक साहित्य निर्माण भएका हुन् । यसैले आधुनिक साहित्यको जग बसाल्ने प्राचीन कवि वा धामीझाक्रीको अस्तित्वलाई अश्‍वीकार गर्नु अल्पज्ञानको द्योतक हो । यति सुकिला मुकिला पुस्ताका त्यति अशिक्षित वा अन्धविश्‍वासी पुर्खा हुनै सक्दैनन् भन्नु पनि मानवशास्त्रीय चेत नखुल्नु हो । धामीझाक्रीले अवलम्बन गरेका आत्मवादी र जीववादी दृष्टि वा शक्तिबिना जो कोही मन, भावना, आत्मा, परमात्मा तहमा पुग्‍नै सक्दैन । अतः समन वा धामीको जीवन दर्शन र तिनका अभ्यास मेरा लागि एक आकर्षण, मानक र आदर्श पनि हुन् । धामीको जीवन दर्शन मेरो एक प्रिय आदर्श हो । एउटा धामी निस्फल कर्म गर्दछ, दाम, नामको आशा गर्दैन । अरूले खुसीले दिएकोमा जसरी धामी सन्तुष्ट हुन्छ, उसै गरी पाठकले जे जति शुभकामना दिन्छन् त्यसैमा मैले पनि चित्त बुझाउनु पर्दछ ।

मलाई यो पनि थाहा भयो, कवि आफूलाई जतिसुकै आधुनिक ठानोस् तर ऊ कहिल्यै पनि धामीझाक्री जस्तो महान हुन सक्दैन । धामीझाक्रीले आदिभौतिक ज्ञानको तहमा भावनामा खेलेर आत्मामा जसरी पौडी खेल्छ, त्यसको एक छेउ मात्र आधुनिक कविले गर्न सकेका छन् । धामीझाक्रीले आफ्नो जीवनको लगानी समाजको लागि निस्वार्थ रूपमा गरेका छन् । त्यसैले आज कुनै पनि धामीझाक्रीको घर गाउँमा खोज्दै जाँदा झुपडी मात्र पाउँछौं । उनीहरूले कुनै शासक र सत्ताको गीत गाएर कुनै पद, पैसा र प्रतिष्ठाको आस गर्दैनन् । उनीहरूको गुरूले नै भन्छ तिम्रो यो ज्ञान आफ्नो लागि काम लाग्दैन अरूका लागि मात्र काम लाग्छ । अरूको कुभलोमा यसको प्रयोग नगर । यो उसको जीवन दर्शन हो । तर कविको कलम आत्मकेन्द्रित, स्वार्थकेन्द्रित हुन्छ । कवि जे जति गर्छ स्वआनन्द, पद, पैसा र प्रतिष्ठाकै लागि गर्ने गर्दछ । धामीझाक्रीको जीवनमा आनन्द, सुख र स्वार्थ गौण हुन्छन् । कविमा मूल्य र मान्यतामा नि:स्वार्थ सेवा त्यति भेटिदैनन् । त्यसैले धामी र कविको साधन तथा साधना हेर्दा रूपमा समान देखिए तापनि सारमा भने ती दुईको साध्य फरक छ ।

धामीझाक्रीमा रहेको ज्ञान वाणी बनेर मुखबाट आउँछ । त्यो नै उनीहरूको शक्ति हो । उनीहरूको ध्यान नै साधनाको एक रूप हो । उनीहरू कहिल्यै पनि स्वार्थी मसी प्रयोग गर्न जान्दैनन् । यसैले हामी उनीहरूमा देवता उत्रेको विश्‍वास गर्दछौं । चाहे कसैले नमानोस्, यो समाजको जराजरामा धामीझाक्री परम्परा लुकेर बसेको छ । उसको अलिकति सिको मात्र हामी कविले आज गरेका रहेछौं । साँच्चै भन्‍ने हो भने उसको कला हामीले चोरेका रहेछौं । यसैले म आफूलाई कवि ठानेको बेला निसङ्‍कोच आत्मालोचना गर्दछु । मेरो यो काव्यमाला ‘जोखनामा वर्तमान’ लाई जोखनाकै एक प्रतिरूप हो ।

यस कवितासङ्‍ग्रह कविता, मुक्तक, छोंक र गीत संग्रहित छन् । यस काव्यसङ्ग्रहलाई विहङगम् दृष्टिले हेर्दा गाउँको चित्रण र स्वदेशको वर्णन छन् । प्राकृतिक र मानवसिर्जित आपदविपद्, जीवन र जगतका सुन्दर, विकृत दुवै विचार र भाव प्रकट भएका छन् । काव्यभित्र पूर्वीय वाङमयको दृष्टिले हेर्दा रस र अलङ्कारको प्रयोग भएका भेटिन्‍छन् । कविताका शब्दशक्तिमा अभिधा, लक्षणा र व्यञ्‍जना पाइन्छन् । जीवनोपयोगी सन्देश पनि काव्यमा गुट्मुट्याइएको छ । पाश्‍चात्य दृष्टिमा रचनाभित्र अस्तित्ववादी, अतियथार्थवादी र उत्तरआधुनिकवादी श्‍वर र शैली प्रस्तुत भएका छन् ।

यसमा संग्रहित कतिपय रचनाहरू अघि विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । अन्य कतिपय रचना सामाजिक सञ्‍जालमा पनि आइसकेका छन् । तिनलाई पाठकको प्रतिक्रियापश्‍चात् परिमार्जन गरेर सङ्‍ग्रहमा प्रस्तुत गरेको छु । धन्यवाद ।