Marijuana brings no prosperity for the country

गाँजा खेतीले देशमा समृद्धि कदापि आउँदैन !

– डा. नवराज सुब्बा

आजकल नेपालमा केही गैरसरकारी संस्थाले सांसदलाई समेत प्रभावित पारेर गाँजा खेती गरेर देशलाई समृद्ध बनाउने भ्रामक खेतीमा देशलाई धेकेल्दै छन् । गाँजा नशालु दुर्व्यशनकारक वस्तु हो । भलै शिवरात्रीमा यसको प्रयोग हुन्छ, यसको औषधीय गुण आयुर्वेदमा ग्राह्य मानिन्छ तर खेती गरेर देशलाई समृद्ध बनाउँछु भन्नु मानिसलाई विदेशमा बेचेर रेमिटेन्सले देश धनि बनाउँछु भन्ने विदेशी चालकै एक रुप हो । आज धनि देशले गरिव देशको साधनस्रोतलाई युद्ध नगरी यी यस्तै हत्कण्डा अपनाएर त्यहाँका मानिसलाई प्रभावित पारेर हात पार्ने गर्दछन् ।

भारतमा हाल फिल्मी नायक सुशान्त सिं राजपुतको आत्महत्या घटना उनकै प्रेमिकाको लागुपदार्थ प्रयोगसित गाँसिएको देखिएको सिबिआईको अनुसन्धानबाट खुल्दैछ । लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सुर्तिजन्य पदार्थ सेवन यी यस्तै अपराध घटना, घरेलु हिंसासित गाँसिएर आउँछन् । सडक दुर्घटना, हत्या अपराध सित जोडिन्छन् । लागुपदार्थ, सूर्तिजन्य पदार्थ, नशालु पदार्थले जीवनलाई जोखिमपूर्ण स्थितिमा धकेल्छ भन्ने कुरा अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

हाल अन्तर्राष्ट्रिय व्यापारी समूहले गरिब मुलुकलाई दुरुपयोग गरेर विभिन्न प्रलोभनमा पारेर गाँजा खेती, अफिम खेती गरेमा खरिद गरिदिने र यसले देशको समृद्धि आउने लालच देखाएर प्रभावमा पार्दछन् । गाँजा खेती गरेपछि यसमा लाग्ने परिवारका सयमध्ये पाँच जनाले लतमा फसे भने यसले देशलाई दूरगामी प्रभाव पार्दछ । त्यसबाट हुने व्यापारको फाइदाले कहिल्यै क्षतिपूर्ति नहुने नोक्सानी देशले भोग्नु पर्नेछ ।

मत्स्यदेश मदेश आजको मधेश

– डा. नवराज सुब्बा

विषय–प्रवेश
मधेश शब्दलाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशले परिभाषित गरेको छ । १. अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि, तराई, मधेश । २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश (Nepal Academy, 2020) । नामको शब्दार्थ रहेको शब्दकोशले मधेश भनेको एक हिन्दू देवता बताएको छ (hamriweb, 2010)। अर्को एक नामावली शब्दकोशले मधेश अर्थ महादेव शिव भनेर प्रष्ट पारेको छ (Babynology, 2020)।

अध्ययनको औचित्य
माथिको परिभाषाले के साँच्चै स्थान नामाकरणका आधार समातेको छ त ? मधेशको हिन्दू देवता जनाउने शब्दार्थ मानिसको नामको रुपमा प्रयोग भएको देखिन्छ । सामान्यतयाः मधेश शब्दले भूगोललाई चिनाउँने हुँदा मध्यप्रदेश (हिमालयपर्वत र विन्ध्यपर्वत बीच) भनेर इङ्गित गर्ने गर्दछ । यी दुई पर्वतबीच पर्ने विशाल भूभागलाई मधेश (मध्यप्रदेश) भनेर चिनाएको छ । दुई पर्वतबीचको समथर भूभाग आज नेपालमा केवल २०–२५ किलोमीटर चौडाइ रहेको तर भारतमा हजारौं किलोमीटर भूभाग पर्दछ । परिभाषाले नेपाल र भारत मध्ये कुन क्षेत्रको भूभाग भनेर नभनेकाले विन्ध्यसम्मको समथर भूभाग सबै मधेश मान्नुपर्ने हुन्छ । तर भारतीय प्राचीन साहित्य र प्रचलनमा विन्ध्यपर्वत उत्तरी समथर भारतीय भूभागमा कतै मधेश शब्दको प्रयोग देखिदैन । यो परिभाषाले मानिसलाई गाउँखाने कथाले झैं अल्मल्याइदिएको छ । जसको अर्थ स्वयम् कथाकारलाई मात्र थाहा हुन्छ वा उसले मात्र ब्याख्या गरिदिन सक्छ । तर देशको भूगोलको परिभाषा गरिंदा यसरी अल्मलिने ब्याख्या गराइले सधैं मानिसको जिज्ञाशा शान्त हुँदैन ।

तर्क–वितर्क
माथि प्रज्ञा प्रतिष्ठानको परिभाषा गराइले पहाडलाई परिभाषा गर्नुपरेमा हिमालय पर्वत, बिन्ध्याचलपर्वत, कुरु र प्रयागबीच पर्ने उबडखाबड परेको अग्लोहोचो नदीनाला भएको मध्यप्रदेश भन्ने बाटो खुल्ला गरेको छ । यो परिभाषाले वास्तविक पहाडको परिभाषा दिन सक्दैन । किनभने पहाडभित्र धेरै पहाड छन् जसले स्थानीय बोली र विशेषता बोकेर उभेका हुन्छन् ।

मानिसको नाम, कुनै स्थानको नाम स्थानीय बोली, घटना, विशेषता आदिबाट व्युत्पन्न हुने गर्दछन् । अर्थात् कुनै स्थानको नामपछि नाता खोज्दै जाँदा स्थानीय जातीयता, स्थानको विशेषता, आदिवासी भाषा, संस्कृति आदिको गन्ध आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशाले गरेको परिभाषामा न आदिवासी जातीयताको गन्ध छ, न प्राचीनताको मौलिक नाता छ, न त स्थानलाई एकिन गरी देखाइएको नै छ । यो परिभाषा गोलमटोल उत्तर जस्तो, कुनै कुटनीतिक जवाफ जस्तो मात्र छ । जसरी विराट राजाको नामबाट विराटनगर रह्यो, मावाराङको नामबाट मोरङ रह्यो, जसरी रंगोली अपभ्रंश भएर रंगेली भयो, म्हेच्छबाट मेच, मेचे, मेची भयो उसैगरी भोट–बर्मेली भाषा को (जसको अर्थ नदी) ध्वनिबाट तिब्बतमा मूल भएको नदीको नाम कोशी रहन गयो (Pande,1986) जसलाई पछि संस्कृति साहित्यले कौशिक ऋषिसित जोडे पनि आदिवासी, स्थानीयताको नाता जेठो मानिन्छ । यसरी मधेश क्षेत्रमा रहेका विभिन्न स्थानको नामाकरण त्यहाँका आदिवासी भाषा, संस्कृति र पहिचानबाट निःसृत हुने अनि सिङ्गो भूभाग जनाउन धार्मिक महिमायुक्त दूरका दुई उच्च हिमाल उभ्याउनु भनेको टाठाबाठाले सोझासाझालाई अल्मल्याए झैं दुनियाँ अल्मल्याउने काम हो जसलाई अब सच्याउन जरुरी छ ।

कोरोना कोभिड-१९ महामारीको मनोवैज्ञानिक असर र प्रभाव

- डा. नवराज सुब्बा महामारी, विपद आइपर्दा मानिसमा असामान्य व्यवहार देखिन्छ । शारीरिक र मानसिक…

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा

चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम् (२०७०), बहारसंग आधुनिक गीत एल्बम् (२०७२) र मन र माटो गीतसंग्रह (२०७३) मा मेरा सांगीतिक सिर्जना पाठक वा श्रोतामा पस्केको छु ।

मैले करिव २०३० सालतिर पहिलो गीत कथेर सरमग सिक्दै संगीत क्षेत्रमा प्रवेश गर्दा यो क्षेत्र जति रोमाञ्चक लाग्दथ्यो फर्किहेर्दा त्यो सोचेजस्तो रहेन । आरम्भमा मेरो ठूलो लक्ष्य पनि थिएन केवल एकदिन म पनि रेडियोमा गीत गाउँछु भन्ने चाहनासम्म थियो । त्यो धोको मेरो पूरा भयो । अलि पछि पलाएको चाहना थियो केही सुन्दर सौगात गीतसंगीत जगतलाई दिने तर त्यो चाहना भने अझै पूरा गर्न सकिन ।

ताप्लेजुङ जस्तो दुर्गम जिल्लाबाट त्यसबेला काठमाडौं जानु चानचुने अवस्था थिएन । धेरै बाधा व्यवधान नाघेर घरपरिवारको ठूलो सपनाको भार बोकेर चिकित्साशास्त्र जस्तो कठिन विषय अध्ययन गर्न २०३४ सालमा म काठमाडौं गएको थिएँ । गीतसंगीतमा लाग्ने समय मसित थिएन । तापनि मनमा सल्केको सांगीतिक चाहनाको आगो निभाउन बेलाबेला रेडियो नेपालको प्राङ्गणमा प्रवेश गरें । २०३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिएँ आफ्नो शब्द रचना प्रेम भट्टचनको संगीतमा गाएँ ।

ज्ञान मुन्धुमले जोड्छ टुक्र्याउँदैन

– डा. नवराज सुब्बा

आदिवासी आफूलाई भूमिपुत्र मान्दछन् । आफू कतैबाट विस्थापित भएर स्थापित भएको नभइ सोही माटोमा उत्पत्ति भएको विश्वास गर्दछन् । किरात लिम्बूको काशीवंश खाम्बोङ्बाको दुई लिम्बू शब्दले बनेको छ, खाम भनेको माटो र पोङ्बा भन्नाले उठेको भन्ने बुझिन्छ । यसर्थ खाम्बोङ्बाको अर्थ पनि भूमिपुत्र नै हो । यसबाट भूमिपुत्र उक्त क्षेत्रका पुराना बासिन्दा हुन् भन्ने जनाउँछ । तर यी खाम्बोङबाको उत्पत्ति स्थल सुमेर (मेसोपोटेमिया) भएको इतिहासकार इमानसिं चेमजोङको दावी छ (Chemjong, 2003a) । यसलाई भाषाशास्त्री बालकृष्ण पोखरेलको अनुसन्धान (Pokhrel, 1998) ले पनि समर्थन गरेको छ ।

यो लेखकले गरेको हालसम्मको अनुसन्धानको आधारमा सुमेर (मेसोपोटेमिया) बाट बसाई सर्दै चीनको खाम पुगेका सौमर काशीवंश किरात पछि पूर्वी नेपालमा आएपछि खामबाट उठेका/आएका खाम्बोङ्बा भएका हुन् । समयकाल अन्तरातमा तिनका दरसन्तानले पुर्खाको स्थल भुल्दै जाँदा आफू यही माटोमा उब्जेका दाबी गरेका हुनसक्छन् । भोट–बर्मेली भाषापरिवारमै पर्ने महाकिरात भाषापरिवारका मगर जातिमा अझै खाम थर विद्यमान छ । यसले किरात लिम्बू मात्र हैन महाकिरात मगर पनि चीनको खामबाट आएका थिए भन्ने सिद्ध हुन्छ । पुराणमा वर्णित नरकासुर जो काशीवंश किरात सौमर थिए आर्यले धपाएपछि खाममा गएर पछि उनका दरसन्तान दस सरदारले लिम्बूवान गठन गरेको तथ्यबाट पनि पुष्टि हुन्छ (Chemjong, 2003a)।


लिम्बू जातिको चिनारी पुस्तकमा गोविन्द तुम्बाहाङ लिम्बू जातिलाई आदिवासी दावी गर्ने क्रममा मुन्धुमको विश्लेषण गर्दै मानव सृष्टिकर्ता देव पोरोक्मी याम्फामीले छेलो हानेको ठाउँ ईवाहरा तेम्बे हालको आठराई ईवा बताउनु हुन्छ । यस्तै मुजिङ्ना खेयोङ्ना जन्मिएको ठाउँ पिप्पुधाम ताप्लेजुङ मान्नुहुन्छ । यसरी तुम्बाहाङले लिम्बूवानका ताप्लेजुङ, पाँचथर र तेह«थूमका विभिन्न स्थानलाई मुन्धुमी स्थलको रुपमा चित्रित गर्नुभएको छ (Tumbahang, 2011, pp24-25) ।

योङहाङ वंशावलीले पाँचथर च्याङथापुलाई योङहाङको मुनातेम्बे मानेको छ । उनीहरुले आफ्नो माङ्गेना यक पनि त्यहीँ मानेका छन् । सेनेहाङबाट आफ्नो वंश योङहाङमा उद्विकास भएको स्थानलाई योङहाङ मुन्धुमले आफ्नो पितृ उत्पत्ति भएको महत्वपूर्ण स्थल मान्दामान्दै श्रद्धापूर्वके मुनातेम्बेसित तुलनायोग्य ठान्दै योङहाङको मुनातेम्बे मानेको छ । मन्धुमले मुनातेम्बे भनेता पनि यो योङहाङको स्थानीय उत्पत्तिस्थल भनेर मानवशास्त्रले बुझ्दछ । त्यसरी नै अन्य स्थानीय मुन्धुमका मुन्धुमलाई पनि विश्लेषण र व्याख्या गर्न जरुरी हुन्छ । किनभने प्रजातिविवरणले कुनै जातिको गुणस्तरीय गहिरो ज्ञान त दिन्छ तर त्यो ज्ञान सामान्यीकरण गर्न मिल्दैन यसको सीमा हुन्छ (Desmond, 2014; Willis, 2010; Taylor, 2002; Rashid, Caine, Goez , 2015) । 

कवितामा पारुहाङ र लेप्मुहाङका पदचाप

(काव्य–समीक्षा) – डा. नवराज सुब्बा

कविमन स्वैरकल्पनामा बहन सक्छ, यो भावनामा भौतारिन सक्छ । यत्तिकै आधारमा सिर्जना केवल कोरा कल्पना हुन् भन्न चाहिं मिल्दैन । कवि वर्तमान र भविश्यको चिन्तनमा मात्र केन्द्रीत नभएर प्राचीनकालीन जीवन र जगत छामेर मानव सभ्यता अनि युगीन चेतनाको लेखाजोखा समेत गर्ने गर्दछन् । ज्ञानचक्षु उघार्दै कलात्मक कलमको बिर्को खोल्दै धार्मिक तथा आध्यात्मिक विषयवस्तु र पात्रलाई काव्यको माध्यमबाट पाठकीय धरातलमा बोकेर ल्याउँछन् कविले अनि शाश्वत सत्यलाई उठाएर जीवनोपयोगी सन्देशमा रुपान्तरित गरिदिन्छन् । जसलाई हामी एक सुन्दर कविताका रुपमा पाउँछौं । यही शक्ति र सन्देश बोकेको नेपाली साहित्य जगतको एउटा कविताको चर्चा गर्दैछु । कवि वानिरा गिरीको ‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा डुब्दा आफ्नै जीवनको सत्यता, परिश्रमको सुन्दरताको खोजी गर्दै केही हरफ नकोरी रहन सकिन । साझा कविता संग्रहमा प्रकाशित कवि गिरी रचित कविताको अंश यसप्रकारको छ –

म मान्छे !
च्यात्तिएका वाक्यका टुक्राहरुका
पटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।

अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढा
नाति–नातिनासंग लोककथा भन्छ ।
पारोहाङ र लेप्मुहाङ ओर्लन्छ
बूढाका आँखाहरुमा मानौं उ स्वयं
एउटा शिव एउटा युगको
र सतिदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा…

‘सुब्बा’ कति मौलिक र प्राचीन शब्द हो?

[अनुसन्धान] डा. नवराज सुब्बा

याक्थुङ लिम्बू जातिले थरमा लेख्ने ‘सुब्बा’ शब्दलाई धेरैले पृथ्वीनारायण शाहको पालादेखि चलेको पद्वी ठान्दछन् । अझ नेपाल एकीकरण मन नपराउने आदिवासीले त यसलाई राजनीतक चश्माले धमिलो देख्दछन् । यसरी यो शब्दलाई लिएर स्वयम् लिम्बू समुदायमा एकप्रकारको संशयपूर्ण दृष्टिकोणको विकास भएको पाइन्छ । हामी कति सतही रुपमा बाँचेका रहेछौं भन्ने बुझेपछि आफूले गरेको अध्ययन र धारणा सार्वजनिक गर्दैछु ।
सर्वप्रथम यसको पृष्ठभूमिमा म आफैलाई लिएर आफ्नो बाल्यकाल करिव २०२४ देखि २०३४ सालतिरको मेरो गाउँको ताप्लेजुङ हाङपाङस्थित सरस्वती विद्यालयतिर फर्कन्छु । त्यसबेला मैले विद्यालयमा मैले मेरो थर सुब्बा भनेर जानीबुझी लेखाएको होइन । मेरा अभिभावक र गुरुले नै सम्झीबुझी लेखिदिए होलान् । किनभने मेरो आरम्भका प्राइमरीका केही प्रमाणपत्रमा थरमा लिम्बू उल्लेखित छन् र मिडिल स्कूलपछि भने सुब्बा उल्लेखित छन् । विद्यालयमा पढ्ने मेरा सहपाठी धेरै खस–आर्य थिए । उनीहरुसित मेरो अन्तरङ्ग कुराकानी चल्दथ्यो । उनीहरु लिम्बू शब्दलाई काँचो मान्छे, हिस्रक, फौदारी खेल्न अघिसर्ने मान्छेका रुपमा चिन्दथे र अशिक्षित भएकाले यस्तो भएको भनेर बुझ्दथे । उपयुक्त मानिस छानेर हामी केटाकेटीको दौंतरी मिल्दोसित मित लगाईदिने चलन थियो । म पनि धेरैको मीत भएको छु । यहाँ मैले भन्न खोजेको बालमनोविज्ञानको सानो झलक हो जुनबेला एकजातिले अर्को जातिलाई कसरी हेर्दथे वा बुझ्दथे भनेर केवल कोट्याएको मात्र । यही सामाजिकीकरणको सिलशिलामा शायद मैले मेरो ‘सुब्बा’ थर बोल्न, लेख्न र चिन्नलाई सहज देखें होला ।
त्यसबेला विद्यालयमा नाम लेखाउन आउने लिम्बूहरु आफ्नो उपथर जस्तै आङबुहाङ, चङबाङ आदि लेख्दथे । लिम्बू लेख्न उति आवश्यक ठान्दैनथे । गाउँघरमा लेखिने तमसुक र सरकारी कागजातमा मात्र कामचलाउको लागि थरमा लिम्बू लेख्ने चलन थियो । लिम्बू समूदायभित्र भने एकआपसलाई बोलाउँदा याक्थुङ भन्ने चलन थियो । त्यसबेला लेख्न पढ्न जान्ने प्रायः आर्य–खस नै हुन्थे । उनीहरुलाई लिम्बू लेख्न जति सजिलो थियो लिम्बूको उपथर लेख्न अलि झन्झटिलो थियो । यसैले शिक्षित व्यक्तिको रोजाई पनि लिम्बू शब्द लेख्न सजिलो थियो । पढेर आखिर के गर्ने? एउटा राम्रो विकल्प थियो लाहुर जाने । त्यसबेला मलाया, ईण्डियाको लाहुर जानलाई परिचयपत्र वा सिफारिस चाहिएमा गाउँ पञ्चायतले कागजपत्र बनाइदिन्थे । गाउँ पञ्चायतको सिफारिसमा लिम्बू लेखे मात्र गोराले चिन्ने भएकाले आवेदकले पनि लिम्बू नै लेखिदिन आग्रह गरेपछि कागजपत्रमा लिम्बू लेख्ने चलन बढ्यो । विद्यालयमा पनि पछि लाहुर जानलाई प्रमाणपत्र निकाल्दा सजिलो हुने भएकाले धेरैले थर लिम्बू र कतिपयले उपथर समेत लेख्न थाले । यसरी लिम्बू लेख्ने धेरै भएपछि ‘सुब्बा’ शब्द किनारामा पर्दै गयो ।