Category Archives: रचना

गाईजात्रा

डा‍‌. नवराज सुब्बा

गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार जाति बसोबास गर्ने नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो पर्व मनाइन्छ ।

गाईजात्रालाई अन्य समुदायले पनि आफ्नै ढङ्गले मनाउने गर्दछन् । नेपालमा पंचायती निरङ्कुश शासन व्यवस्था भएको बेलामा कलाकारहरुले पनि यो पर्व मनाउँथे । यो दिन शासकहरूका काला–कर्तुत तथा कार्यशैलीउपर हाँस्य–ब्यङ्ग्यले प्रहार गर्ने गर्दथे । कलाकारहरूका आकर्षक अभिनयले व्यङ्ग्य–वाँण हान्दा एकातिर शासकवर्ग मुर्मुरिन्थे, अर्कातिर जनता आनन्दित हुन्थे । त्यसैले यो पर्व वौद्धिक जगत एवम् जनमानसमा रमाइलो चाडको रूपमा स्थापित भयो । आज पनि धेरै मानिस गाईजात्रा भन्नेबित्तिकै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त आदि कलाकारलाई सम्झन्छन् ।

हास्य कलाकारहरूका घतलाग्दा प्रहशनले मनोरञ्जन मात्र दिएनन् जनतालाई सचेत र जागरुक पनि बनाइदियो । उनीहरुका प्रस्तुतीले दर्शकलाई हँसाइ–हँसाइ ज्ञानको आँखा खोलिदिए । समाजमा ब्याप्त राजनीतिक तथा सामजिक वेथितीका विभिन्न रुपलाई छरपस्ट पारिदिए । फलस्वरुप जनताको हौसला बढ्यो । भ्रष्टाचार, अत्याचारका लिप्त शासकलाई खबरदारी गरियो । बेरितिमा बेरिएको समाजलाई सचेत पारियो ।

Read more

यो परम्परालाई हाल साहित्यकार र कलाकारहरूले कायम राखेका छन् । उक्त दिन विभिन्न मञ्चहरूमा ब्यङ्ग्यात्मक प्रहसन कार्यक्रम गरिदै आएका छन् । नेपाल एकेडेमीले पनि यो दिन विशेष कार्यक्रम आयोजना गर्ने परम्परा बसेको छ । कलाकार तथा साहित्यकारहरूले जनतासितको नातालाई पुनर्ताजगी गर्ने गर्दछन् । गाईजात्रामा हाँस्य–ब्यङ्ग्य गर्न पाइन्छ । स्वतन्त्र भएर लेख्न, बोल्न पाइन्छ । पत्र–पत्रिकामा गाईजात्रा परिशिष्टाङ्क पढ्न पाइन्छ । यो बेला जीवन र जगतका उज्याला भन्दा पनि अँध्यारा पक्षहरू उजागर हुन्छन् । यसैले साहित्यकार तथा कलाकारले यो पर्वलाई सिर्जनात्मक अवसर मान्दछन् ।

अब हामी यसको सांस्कृतिक पक्षतिर लागौं । नेवार समुदायमा वर्ष दिनभित्र घरको कुनै सदस्यको मृत्यु भएमा परिवारबाट एउटा गाई वा गाई नभए बालकलाई गाईको भेषमा सिंगारेर गाईजात्रा निकाल्ने चलन छ । गाईको प्रतीकको रूपमा बालकलाई सिंगार्दा पटुका भुईमा लत्रनेगरि बाँधिन्छ । उसको एकजना साथीलाई पनि जोगीको भेषमा सिंगारिन्छ । दुवैलाई श्रृङ्गार गरिसकेपछि सबै परिवारका मानिस एक ठाउँ भेला हुन्छन् । भेला भएपछि पङ्तिबद्ध भई एक वा दुई लाइनमा मिलेर अघि हिंड्दै निर्धारित स्थानहरूको परिक्रमा गर्ने गर्दछन् ।

बाटो परिक्रमा गर्ने क्रममा जोगी भेषधारी बालकले भिक्षाग्रहण गर्दै हिंड्ने चलन छ । परिक्रमा सम्पन्न भएपछि भेला भएर रमाइलो नाचगान गर्ने चलन छ । यो पर्वलाई नेवार समुदायका सबै उमेर समूह र वर्गले उत्तिकै चाख मानेर हेर्ने र रमाइलो मान्ने गर्दछन् । यस पर्वमा बौद्ध सम्प्रदायका नेवारहरूले मृतकको नाममा सम्झना–वत्ती बाल्ने ‘मत्था संस्कार’ गर्ने गर्दछन् । उनीहरू सबैजना एकै पहिरनमा बौद्ध–चैत्य गएर धुप–वात्ती बालेर चैत्यको परिक्रमा गर्दछन् । उनीहरु अपरान्हतिर भेला भएर रमाइलो प्रहसन कार्यक्रम गर्दछन् ।

भौगोलिक दृष्टिले गाईजात्रा पर्व नेवार समुदाय बसोबास गर्ने विशेषतः काठमाडौं उपत्यका, विराटनगर, धरान, धनकुटा, तेर्‍हथूम, ताप्लेजुङ, ईलाम, संखुवासभा चैनपुर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, वीरगञ्ज, हेटौंडा, पोखरा आदि जिल्लाहरूमा धुमधामले मनाइन्छ ।

गाईजात्रको ऐतिहासिक पृष्ठभूमितर्फ लागौं । यसको थालनी नेपालमा मध्यकालमा भएको हो । यो चलन मल्ल राजाहरूको पालादेखि सुरू भएको मानिन्छ । मल्ल राजाहरूको दरबार हनुमान ढोकामा थियो । राजा प्रताप मल्लको पालामा उनकी रानी पुत्रशोकले अत्यन्तै भावविव्हल भइन् । राजाले रानीको शोक कम पार्न एउटा जुक्ति निकाले । राजाले रानीलाई पुत्रशोक अरुका घरमा पनि हुन्छन्, यो सबैलाई आइलाग्ने दुःख हो भन्ने कुरो बुझाउन खोजे । रानीको दुःखित मन शान्त पार्नलाई नयाँ चाँजोपाँजो मिलाए । यसै क्रममा राजाले वर्ष दिन यता परिवारका सदस्य मरेका घरबाट गाईलाई सिंगारेर हनुमानढोकाको बाटो भएर नगर परिक्रमा गर्ने उर्दी जारी गरे ।

राजा प्रताप मल्लको उर्दीअनुसार मरेका प्रत्येक घरबाट गाई सिंगारेर तथा गाई नभएको घरबाट बालकलाई नै गाईको भेषमा सिंगारेर अर्को एक बालकलाई साधुको भेषमा भिक्षा थाप्दै नगर परिक्रमा गर्ने आदेश दिए । रानीले पनि गाईजात्राको दिन निकालिएका गाई तथा सिंगारिएका योगी बालक सबैलाई झ्यालबाट हेरिन् । त्यतिले पनि उनको मन शान्त नभएपछि राजाले दरवारमा रमाइलो प्रहसन कार्यक्रम समेत् आयोजना गरे । यसरी शोकाकुल रानीलाई खुशी बनाउने प्रयत्न गरियो । राजाबाट उक्त दिनको परम्परालाई उप्रान्त हरेक वर्ष निरन्तरता दिने घोषणा भयो । यसरी राजा प्रताप मल्लको पालादेखि यो गाईजात्रा पर्व चलिआएको इतिहास छ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा पनि यो गाईजात्रा पर्वबारे उल्लेख गरिएको छ । उक्त पुराणमा यमराजको ढोका वर्षभर बन्द हुने र गाईजात्रा निकालेपछि मात्र बन्द ढोका खुल्ने भनिएको छ । गाईलाई नगर–परिक्रमा गरेपछि मात्र मृतक व्यक्तिहरू गाईको पुच्छर समातेर बैतरणी तर्ने भन्ने पौराणिक कथन पनि भएकाले यो गाईजात्रा पर्वमा परलोकमा रहेका आत्मा र यस धारातलमा पर्व मनाउने मानिसको आत्माबीच भावनात्मक सम्बन्ध स्थापित हुने जनविश्वास रहेको पाइन्छ ।

गाईजात्रा पर्व महत्वपूर्ण हुनाका धेरै कारणहरू छन् । पहिलो कारण हो– यो पर्वले पितृलाई सम्मान गर्दछ । गाईजात्रा पर्वले मृतक आत्मासित परिवारजनको भावनात्मक सम्बन्ध कायम राख्दछ । पितृलाई सम्मान गर्ने परम्परा अन्य धर्म र जातिमा पनि विभिन्न रुपमा हुन्छन् । यद्यपि पितृसंग गाँसिएको यो गाईजात्रामा सहभागिता बढी हुन्छ । गाई र योगी पात्रका रमाइलो भेषभूषामा सार्वजनिक गरिन्छन् । विभिन्न धर्ममा आस्था राख्नेले यो गाईजात्रा पर्वलाई अभिरुचीपूर्वक हेर्दछन् ।

यो पर्व महत्वपूर्ण हुनगएको दोस्रो कारण आकर्षक विधि–विधान हो । यसमा बालक चरित्रहरूको श्रृङ्गारसहितको भावभङ्गिमा देख्दा सबैलाई आकर्षक र मनमोहक लाग्दछ । ढोल, झ्याम्टाको तालमा नाचिने लाखेनाच हेर्न मेलापात, चोकचोकमा भीड देखिन्छ । पहाड, हिमाली भेकका गाउँशहरमा लाखेजात्रा मेला लाग्ने गर्दछ । नेवार समुदायको मौलिक पर्वले सबैलाई आकर्षित पारेको देखिन्छ ।

गाईजात्रा लोकप्रिय हुनुको तेस्रो कारण– यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्वपूर्ण पर्व हुनु हो । काठमाडौं उपत्यकामा यो जात्रा मनाउँदा देशभरिका विभिन्न धर्म र जातजातिका मानिसले पर्वलाई देख्ने र बुझ्ने अवसर पाउँदछन् । यो पर्वमा अन्य ठाउँमा छरिएर रहेका नेवार जातिले समेत काठमाडौंको विशिष्ठ शैली देख्दछन् । त्यो देखेर विभिन्न क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आफू बसेको क्षेत्रमा पनि त्यस्तै संस्कृति अनुकरण गर्ने वा आफ्ना शैली परिमार्जन गर्ने अवसर पाउँछन् । यसरी काठमाडौंले अरुतिर संस्कृति फैलाउन निरन्तर बल प्रदान गरेको छ । नेवार जाति र अन्य जातिबीचको भावनात्मक दूरी नजिकिएको छ । संचारमाध्यमले पनि यो पर्वलाई विशेष प्रचारप्रसार गर्दछन् । फलस्वरुप नेपाली पहिचान र राष्ट्रिय एकता बढाउन यो जात्राले महत्वपूर्ण भूमिका खेलेको छ ।

गाईजात्रा लोकप्रिय हुनुको चौथो कारणमा – रमाइला एवम् बौद्धिक क्रियाकलाप गरिनु हो । गाईजात्रामा गाई वा गाईका रूपमा सिंगारिएका बालक र भिक्षुले निर्धारित स्थानहरूको परिक्रमा गर्दा ती मार्गमा पर्ने टोल–छिमेकले देख्छन् । यसले मानवीय दर्शनको भावनात्मक सन्देश प्रवाहित गर्दछ । नगर परिक्रमा गरिसकेपछि रमाइलो कार्यक्रम आयोजना गरिन्छ । विभिन्न रमाइला हाँस्य–व्यङ्ग्यात्मक साहित्यिक तथा साङ्गीतिक कार्यक्रममा मानिस रमाउँछन् ।

अब गाईजात्रा पर्वले दिने सन्देश बुझौं । गाईजात्रा पर्वभित्र सामाजिक, मनोवैज्ञानिक तथा दार्शनिक सन्देशहरू पाइन्छन् । यो पर्वले मनोरञ्जन र चेतना दिन्छ । स्वतन्त्रता र स्वच्छन्दताको अनुभूति गराउँछ । पहिलो कुरो, मृत्यु अन्तिम अर्थात् अनिवार्य सत्य हो । जसलाई सबैले सहज स्वीकार गर्नुपर्दछ । हरेक मानिसले मृत्यु लिएर आएको हुन्छ । घरका परिवारजनले मृतात्मालाई उचित सम्मान गर्नुपर्दछ । यो पर्वमा पितृको आस्थापूर्वक सम्झना गरिन्छ ।

आख्यानमा एक शोकाकुल आमाले आफ्ना मृत छोरालाई बचाइदिन एकपटक भगवान वुद्धलाई अनुनय–विनय गरिन् । भगवान वुद्धले उक्त आमालाई पहिले गाउँ घुमेर मृत्यु नभएको कुनै घर पत्ता लगाउन लगाए । आमाले सारा गाउँ डुल्दा पनि सबै घरमा कोही न कोही मरेको पाइन्् । उनले मानिस नमरेको कुनै घर भेटिनन् । सोही कुरा ती आमाले भगवान वुद्धलाई बताइदिइन् । आमाको कुरो सुनेपछि भगवान वुद्धले पनि त्यही तथ्यको सहारा लिएर मृत्यु अनिवार्य सत्य हो, यो सबैलाई लागु हुन्छ भनेर सम्झाइदिए । कुनै सदस्यको मृत्युमा परिवारका अन्य सदस्यहरूले विचलित हुनु हुँदैन भन्ने सत्य बताइदिए । भगवान वुद्धको यही जीव्न दर्शनअनुरुप राजा प्रताप मल्लले पनि आफ्नी शोकाकुल रानीलाई कुरो सम्झाए ।

जीवन दुःखमय छ । यो कुरा भगवान वुद्धले चेलालाई बताएका छन् । आजको यो वैज्ञानिक युगमा जीवन एक संघर्षशील मेसीन बन्दै गएको छ । सुखको खोजीमा मानिसले जीवन दुःखैदुःखमा बिताउँदै छ । जीवनको यस्तो कष्टमय यात्रामा एकदिन भए पनि हाँसखेल गरौं, रमाइलो गरौं भनी गाईजात्राले बताएको छ । यस अवसरमा आफूलाई सबैसामू अभिव्यक्त गरौं, अरूका कुरा सुनेर रमाइलो गरौं, जीवन र जगत चिनौं । यति मात्र होइन, मनभित्रका पीर व्यथाहरू भित्रैबाट पखालौं । जात्राले वर्षमा एक दिन रमाइलो गर्ने अवसर प्रदान गरेको छ ।

गाईजात्रामा प्रस्तुत हाँस्य–व्यङ्ग्यले नेपाली साहित्य र कलाको विकासमा योगदान पुगेको छ । आज नेपाली बाङ्मयमा हाँस्य–व्यङ्ग्य साहित्यको अभाव छ । भैरव अर्याल, केशवराज पिंडाली, रामकुमार पाण्डेजस्ता हस्तीको खाँचो छ । यो दिनमा हामी त्यस्ता प्रतिभा खोज्दछौं ।

जात्राको सामाजिक सन्देशले भन्छ– सामुहिक र एकताको भावनाद्वारा हामी सार्थक जिउँनेछौं । सिंगारिएको गाई र बालक टोल–छिमेक–चोक हुँदै नगर परिक्रमा गर्दा सम्बद्ध परिवारजन तथा टोल–छिमेकबीच भावनात्मक सम्बन्ध बढ्छ । यसले शोकाकुल परिवारमा मनोवैज्ञानिक रूपमा सहानुभूति प्राप्त हुन्छ । यति मात्र हैन जात्राले नेवार, गैर–नेवारबीच सद्भावना अभिवृद्धि हुन्छ ।

अन्तमा, यो गाईजात्रा पर्वले काठमाडौं उपत्यकाको मात्र नभएर समग्र नेपालको साँस्कृतिक गरिमा बढाएको छ । नेवार समुदायको मात्र नभइ समस्त नेपालीको पहिचान फैलाएको छ । संस्कृतिका धनि तथा सभ्यताका सम्बाहक आदिवासी नेवार जातिको मौलिक पर्व ‘सापारु’ अर्थात् गाईजात्रा नेपाली जातिको मौलिक पर्व हो । यसले समस्त मानव जातिको जीवन दर्शनलाई प्रतिविम्बित गरेको छ । यो पर्व मृतात्मालाई मुक्ति दिलाउने, परिवारजनलाई शुख, शान्ति दिने पर्व हो जसले सबैलाई सार्थक जीवन जिउन सिकाउँछ ।

अतः गाईजात्राको दर्शन जीवन्त र गहन छ । यसले जीवनपछिको बाटो देखाउँछ । अतः गाईजात्राको दर्शन जीवन्त र गहन छ । यसले जीवनपछिको बाटो चिन्‍न सिकाउँछ ।

Continue reading गाईजात्रा

‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

डा. नवराज सुब्बा

म मान्छे !
च्यात्तिएका वाक्यका टुक्राहरुका
पटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।

अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढा
नाति–नातिनासंग लोककथा भन्छ ।
पारोहाङ र लेप्मुहाङ ओर्लन्छ
बूढाका आँखाहरुमा मानौं उ स्वयं
एउटा शिव एउटा युगको
र सतिदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
[…]
(‘म एउटा च्यातिएको पोष्टरभित्र’ वानिरा गिरी, साझा कविता, २०४९, पृ.३४०)

साझा प्रकाशनद्वारा (२०४९ पाँचौं प्रकाशनमा) प्रकाशित कवि वानिरा गिरीको प्रस्तुत कविता पढेर मैले आज कविताको धित मार्ने कोशिस गरें । सर्वप्रथम कविताको पहिला चार हरफले दिल छोयो म मन्त्रमुग्ध भएँ । त्यसपछि पढ्दै जाँदा पारोहाङ र लेप्मुहाङ एवम् शिवको बिम्बात्मक प्रस्तुतिले मलाई नतमस्तक बनायो । समयको प्रवाहमा छट्पटिएको मेरो मन एकछिन भए पनि शान्त भयो । कविले कवितामा जसरी एक बूढालाई शिवको रुपमा देख्नु भएको छ मैले पनि मेरो मन शान्त पारिदिने कविलाई मेरो अघि फलाकिरहेकी वा नाचिरहेकी फेदाङ्मा वा यूमाको रुपमा प्रकट भएको देखें । फेदाङ्माले देवात्माको आवाज मानव मनमा सार्ने काम वा सन्देशको रुपमा दिने काम गर्दछिन् । उनी त्यसबेला साक्षात देव वा देवीको रुपमा प्रकट भएको उनका वरिपरि जोखाना हेर्ने दर्शक वा कविता सुन्ने पाठकले विश्वास गर्दछन् । भनिन्छ, फेदाङ्मालाई शरीरमा देवता चढ्नु पर्छ । उसैगरी कविलाई पनि कविता फुर्न उसको शरीरमा कुनै शक्तिको प्रवेश हुन्छ भनेर स्वयम् कवि बताउँछन् । तर आफूलाई कवि ठान्ने कतिपय आधुनिक कविहरु पण्डित वा पुरोहितसंग तुलना गरेको सहन्छन् तर फेदाङ्मा, धामीझाक्रीसित तुलना गर्दा अपमानित भयो भनेर रिसाउँछन् ।

ख्याल गरौं, प्राचीन गुफामा कुँदेका चित्रलाई ब्याख्या गर्नलाई या त मानवशास्त्री चाहिन्छ या त धामीझाक्री नै चाहिन्छ भनेर आधुनिक विज्ञानले स्वीकार गरेको छ । धामीझाक्रीमा यस्तो शक्ति हुन्छ जसले मानवचेतनाको गहिरोभन्दा गहिरोतह अर्थात् बुझ्ने भाषामा आत्मामा प्रवेश गर्दछ । उसले जीवन र जगतको ब्याख्या मजाले गर्नसक्छ भलै त्यो व्याख्या आ–आफ्नै ढंगको किन नहोस् । करिव कवि पनि त्यस्तै हो जीवन र जगतको क्लिष्ट समाजको किरिङ–मिरिङ अस्पष्ट जीवनयात्रालाई कविले मजाले नियाल्न सक्छ र आफ्नै पाराले ब्याख्या गर्दछ । एउटा अमूर्त चित्रको अर्थ एउटा कलाकार र कविले गर्न सक्दछ ।

Continue reading ‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

डा. नवराज सुब्बा

नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर सुन्न हामी नेपाली बाध्य हुनुपरेको छ । अब यसको जिम्मेवारी क–कसले लिने हो ? उक्त प्रतिवेदन अनुसार वर्षेनी क्षयरोगीको मृत्युदर बढ्दो छ र मृत्यु संख्या हजारौका दरले उर्लंदो छ । केन्द्रले प्रदेश वा स्थानीय तहलाई दोष दिने अनि स्थानीय वा प्रदेशले केन्द्रलाई अपजस दिएर मात्र अब पुग्दैन । स्वास्थ्यकर्मीले नेतालाई अनि नेताले स्वास्थ्यकर्मीलाई दोष देखाएर पुग्दैन । राजनीतिक प्रणाली वा व्यवस्थालाई दोष दिएर पनि यसरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । संघियताको मर्म अनुरुप स्थानीय जनताको सेवा प्रदायक तह गाउँ वा नगरपालिकाले हो, यसले यसमा चिन्ता तथा जिम्मेवारी लिने कि नलिने? लिने भए कहिले लिने? कसरी लिने? यो सवाल आज जनस्वास्थ्य क्षेत्रमा गम्भीरतापूर्वक उठेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पनि बढेको छ ।

Continue reading क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

डा. नवराज सुब्बा

चारसय वर्षअघि काठमाडौं खाल्डोपूर्वको किरातकालिन इतिहासले आधुनिक नेपाल निर्माणको आधारशिला निर्माण गरेको थियो । हालको संघीय गणतान्त्रिक नेपालमा काठमाडौंपूर्व तीन प्रदेश निर्माण भएका छन् । ऐतिहासिक किराती राजा लोहाङ सेनको मकवानपुर हाल प्रदेश न ३ भएको छ । उनकै नामबाट रहेको लाहान नगर हाल प्रदेश न. २ मा पर्दछ । उनकै शासनकालमा स्थापित मोरोङ राज्यको राजधानी विजयपुर हाल प्रदेश न. १ मा रहेको छ । यति मात्र हैन, उनको शासनकालमा दखल गरिएको तर हाल नेपाली भूभागबाहिर पर्ने क्षेत्रलाई हाल नेपाली इतिहासले ग्रेटर नेपाल भूमिको रूपमा केवल रेखाङ्कन गरेको छ ।

शान मकवानवंशी महाराजधिराज लोहाङ सेन (वि.स. १६६६–१६९८) ले फेदापका राजा बाज हाङ खेवाङको सहयोगमा मकवानपुरदेखि पूर्वका साना साना राज्यहरू लगायत मोरोङको विजयपुर समेत अब्बल गरी पूर्वमा सिमाना टिस्टानदीको छेउ महानदी, पश्चिम बेतिया, उत्तर तिब्बत र दक्षिण पूर्णियाको जलालगढ तथा तिरहुतसम्म राज्य कायम गरे र विजयपुरलाई अधिराज्यको राजधानी बनाए (चेमजोंङ, सन् १९६७ र भ्यान्सीटार्ट, सन् १९१५) ।

Continue reading ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा

ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ ।

फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो पुस्ता पञ्चनन्द) को भनाइमा साँबाहरु वि.स. १८०० सालतिर आफ्नो थूम ताप्लेजुङ मेवाखोला साँबा छाडेर एक समूह हाङपाङ आएका हुन् । त्यो साँबा समूह सोवुवाखोलाको चुँङ्वा दोभानदेखि उँभो हाल हाङपाङको मध्य भूभागको जङ्गल फँडानी गरेर चारकिल्ला बाँधेर बसे । त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘खुर्पेठ्याक’ भनियो । उसबेला हाङपाङ गाउँको तल्लो भाग बिसमुरे जग्गामा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिंङ्सोबामा सुनेबा थरका लिम्बू बसोबास गर्दथे । हाङपाङमा आएर फयङहाङ साँबा त्यसबेला खुर्पेठ्याकमा मात्र हैन बिजिल्ले अर्थात् अर्कैको थूममा आएर बसेका लिम्बू जाति भए । साधनस्रोतलाई लिएर त्यहाँ पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूसित संभवतः साँबा लिम्बूको तनाव उत्पन्न भयो होला । साँबाहरुले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बनाउन खोजेर ल्याए (टेकबहादुर लिम्बू, २०७५) ।

Continue reading हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा

लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु । कवि वैरागी काईला पालामबारे भन्नुहुन्छ– अनेक प्रश्नोत्तर धाननाचको पालाममा गर्ने गरिन्छन् । पालाम् गाउँदा गरिने यस्ता प्रश्नोत्तरहरूले पालाम श्रुतिपरम्परा (मुन्धुम), ज्ञान, लिम्बू जातीय प्रचलन समेतलाई व्यक्त गरिरहेका हुन्छन् । पालाम गाइँदा हुने त्यस्ता प्रश्नोत्तरहरू गहकिला र गहिरा हुन्छन (सम्बाहाम्फे, २०६२) ।

कवि काईलाको उक्त भनाइसित म सहमत छु । उहाँले भन्नु भएझैं पालाम वास्तवमा गहन हुन्छन् । पालाम सुन्दा वा अध्ययन गर्दा लाग्छ लिम्बू भाषा र साहित्य परिस्कृत र सुसंस्कृत पनि छ । गाउँमा अशिक्षित लिम्बूजनले त्यस्ता विम्ब र प्रतीक कसरी प्रयोग गर्न जाने होलान् भनेर हामी तीनछक्कै पर्दछौं । तर अघि कवि काईलाले भन्नुभो यो पालाम श्रुतिपरम्परामा आधारित छ । उनीहरूले सुनेकै भरमा काव्यको उत्कृष्टता बचाउँदै पुस्तौ हस्तान्तरण गरे । लिम्बू जातिमा प्रचलित यो धाननाच या पालाम कहाँबाट आरम्भ भयो भनेर भन्न चाहिँ गाह«ो छ । यही जिज्ञाशाले यो पङ्तिकारलाई यो आलेख लेख्न प्रेरणा दिएको छ । यो पङ्तिकारलाई पालामभित्रै प्रयुक्त बिम्व र प्रतीक सामात्दै त्यस धान नाचिएकोस्थलतिर पालामको माध्यमबाट पसेर नियाल्न अभिप्रेरित गरेको छ ।

Continue reading पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा

भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु ।

ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी एक रोचक घटना इतिहासकार इमानसिंह चेमजोङले विजयपुरको किरातकालीन संक्षिप्त इतिहासमा बताउनु भएको छ । किराती राजा कामदत्त सेन (वि.स.१८१८–१८२६) को कार्यकालमा लिम्बूवानका एक आपुंगी राजा सेनवंशी सेच्छेने योङहाङ सुब्बाले याङवारोक थूमको हस्तपुर गढीमा चढाइ गरे । त्यहाँका शासन गर्ने आङबोहाङ सुब्बा मुहाङगेपलाई पराजित गरेर उक्त गढीमा योङहाङले दखल जमाए । त्यहाँबाट आङबोहाङ विस्थापित भइ कोही थेचम्बूमा आएर बसे, त्यहाँ उनीहरुलाई मेयङ्बो वंश भनिन्छ । कोही आठराई थूमको चाँगेमा आङबोहाङ वंश भएर बसे ।

सेनवंशी आपुंगी राजा सेच्छेने योङहाङ सुब्बाले लडाईमा आङबोहाङ मुहाङगेप राजालाई मारिदिएपछि उनका दुई नाबालक छोरा लाहाङ र हाङसामको विचल्ली भयो । त्यसबेला विजयपुरमा कामदत्त सेनकी रानी थाङसामाको माइति आङबोहाङ वंशका थिए । टुहुरा भदैहरुले दुःख पाएको खबर चाल पाएपछि उनले ती दुईलाई विजयपुर दरवारमा झिकाइन् र संरक्षण गरिन् ।

Continue reading हाङपाङ गाउँको ऐतिहासिकता