मुक्कुलुङ अर्थात् पाथिभरा देवी
डा. नवराज सुब्बा
—–
पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा धान भर्दा जस्तो देखिन्छ त्यस्तै देखिने डाँडो भएको सादृश्यमा पाथिभरा नामाकरण भएको यस स्थलमा शक्तिको वास छ भन्ने विश्वासको आधारमा पाथिभरा माताको प्रादुर्भाव भएको जनश्रुति छ । यसरी किरातकालीन मुन्धुममा आउने स्थल मुक्कुलुङ आज हिन्दूहरू समेतकी आस्थाकी देवी शक्तिरूपा पाथीभरा माताको पवित्र तीर्थस्थल हो । हालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा जाने भीडमा आदिवासी लिम्बू जाति भन्दा बढी नेपाल र भारतबाट हिन्दू तीर्थालुको लर्को देखिन्छ । यसैले म पाथिभरादेवी जसलाई आदिवासी लिम्बूले मुक्कुलुङ साम्माङको शक्तिको रूपमा मात्र नभएर शक्तिरूपा पाथिभरादेवीलाई पुज्न जाने तिर्थालु सबैलाई एकैठाउँमा ल्याइदिएको देख्दछु । आदिवासी किरात लिम्बू तथा सनातन हिन्दूको समन्वय भएको यो धार्मीक स्थल र साँस्कृतिक दोभान एक आस्थाकेन्द्रको रूपमा प्रसिद्धि बढ्दो छ । भौगोलिक रूपमा ३७९४ मीटरको उँचाईमा अवस्थित शुन्दर प्राकृतिक भूमिका अवस्थित तीर्थस्थलले ताप्लेजुङ जिल्लाको पर्यटनको सम्भावना पनि बढेको छ ।