मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश
घटनाको विवरणः मोरङ दर्वेशा गा.वि.स. वार्ड नं. ९ रंजनी बस्ने विमल कोइरालाकी श्रीमती वर्ष २१ की सविना कोइराला गर्भवती भई मिति २०६९।११।१८ गते विराटनगर स्थित डा. रम्भा देवको सुरक्षा अस्पतालमा आफ्नो गर्भ चेक जाँच गर्न आई डा. रम्भा देवद्वारा निजको गर्भ चेक जाँच तथा भिडियो एक्स–रे समेत गरी ठिक भएको भनिएको । तर फागुन २३ गते श्रीमति सविना कोइरालालाई दिउसो २–२:३० बजे तिर आफूलाई ज्वरो आउन शुरु भएकाले भाउजु टीका कोइरालाले डा. रम्भा देवसंग मोवाइलबाट सम्पर्क गरी सोध्दा सिटामोल ख्वाउनुस् भनेकाले सिटामोल एक चक्की खुवाएको तर एक दुई मिनटमा नै सबिनाले बान्ता गरेको भनाई । त्यस पछि पानीपट्टि दिइएको, रातको १ बजे पिसाब फेर्न जांदा योनीमार्गबाट केही रक्तश्राव भएको थाहा भएको बिरामीपक्षको भनाई रहेको । उपचारार्थ एम्बुलेन्स बोलाएर २ बजे तिर सुरक्षा अस्पतालमा आएको । अन्दाजी ३ वजेतिर सुरक्षा अस्पतालमा निज डा. रम्भा देवले निजलाई चेक जाँच गर्दा योनीमार्ग खुलेको अवस्था पाएको भन्ने चिकित्सकको भनाइ रहेको । सबिनाको बच्चा बचाउन सकिदैन बच्चा आफै वाहिर आउँछ भनी सलाइन लगाई वेडमा भर्ना गरेको । अन्दाजी ४:३० बजे तिर बेडमा नै बच्चा आफै निस्किएको । त्यसपछि एक वटा इजेक्सन दिइएको । डा. रम्भा देवले अहिले विरामीको स्वास्थ्यस्थिति सामान्य छ, १० बजे तिर म आएर फेरि हेर्छु अनि भिडियो एक्स–रे गरेर क्लियर रहेछ भने डिस्चार्ज गरी दिन्छु भनी डा. गएको मृतकपक्षको भनाई । अन्दाजी ९ बजे तिर विरामीले छाती दुख्यो भनी डिउटीमा रहेकी नर्सले जानकारी गराएको । तुरुन्तै डा.रम्भा देव आई चेक जांच गर्दा विरामीको रक्तचाप अत्यन्त कम पाएकाले निजलाई तत्काल केही सुईद्वारा उपचार दिंदा समेत सुधार नभएको भन्ने चिकित्सकको भनाई रहेको । विरामीलाई तत्कालै डा. कनक खनाल सहितको एनेस्थेटिष्ट समेतले बिरामीलाई यथावस्थामा अपरेशन थेटरमा लगि उपचार कोशिस गर्दा गर्दै विरामीको मृत्यु भएको चिकित्सकहरुको भनाई रहेको।