कोशी मेची नामाकरणमा किरात प्रभाव
डा. नवराज सुब्बा
पृष्ठभूमि
इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई शुद्र संज्ञाले हेयभाव प्रकट गरेको मनुस्मृति दशौं अध्यायमा उल्लेखित छ । आर्य संस्कृति नमिलेर अलग्याउन खोजेको संस्कृत साहित्यले किरातको गरिमामय उपस्थिति रहेको महाभारतकालमा देखाउँछ । उक्त कालमा विहारमा हर्वाहाङ र बंगालमा दर्बाहाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ (विराट) प्रसिद्ध राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (Chemjong, 2003a)।