विराटनगरका एक चिकित्सक कोभिड संक्रमित भए जुन स्वभाविक थियो तर समाजले यसलाई स्वभाविक रुपमा लिएन । उनलाई मानौं पूर्वजन्मको कर्मको फलको रुपमा श्राप भोगेको रुपमा समाजले हेर्न थाल्यो । उनका घरपरिवारका सदस्यले छिछिदूरदूरको स्थितिको सामना गर्नुपर्यो । चितवनका अर्का एक चिकित्सकलाई कोभिड पोजिटिभ भएको थाहा पाएपछि उनको छिमेक टोलले थप हौसला र सहयोग गर्नुपर्नेमा उल्टो उनको घरको ढोकामा संक्रमित सूचक कालो ब्यानर टाँसेर बहिस्कारवादी कदम चाले । यसले के दोखाउँछ भने हाम्रो समाज पनि महामारी तथा विपदको बेलामा सकारात्मक भन्दा बढी नकारात्मक बन्दछ ।
समाज मात्र होइन यसमा सरकारको व्यवहार पनि कतिपय सवालमा नकारात्मक भएर पेश भएको देखिन्छ । कन्टेक्ट ट्रेसिङ गर्दा यदी कुनै मानिस कोभिड पोजिटिव पाइएमा उसलाई अपराधी झैं नमानेर एक सभ्य र जिम्मेवार ढंगले सुरक्षित भइ अस्पताल आउन सम्झाउन सकिन्थ्यो । यदि आउन नसक्ने अवस्थामा एम्बुलेन्ससम्म पठाउन सकिन्थ्यो । तर कुनै अपराधी, तस्कर भाग्ला झैं गरी सडक, टोल, छिमेकलाई लामो हर्न बजाएर थर्काएर आतङ्कपूर्ण वातावरणमा कुनै अन्जान मानिसलाई घरबाट पुलिस लगाएर घिसारेर लैजाँदा यस कार्यले स्वयम् पीडित वा संक्रमित व्यक्ति, उसको परिवार र छिमेक टोल समाजमा के कस्तो असर वा प्रभाव पर्दछ भनी सही र तार्कीक ढंगले सम्बन्धित निकायले तुरुन्त ध्यान दिनु पर्दछ ।
कुनै ठाउँमा संक्रमित भेट्न यदाकदा हुलहुज्जत भयो भन्दैमा आम संक्रमितलाई एउटै डालोमा हालेर एकै ढंगको मूढेबलयुक्त व्यवहारमा सरकारको व्यवस्थापन, स्रोत साधनको सदुपयोग माथि नै प्रश्नचिन्ह लाग्दछ । यस्ता अमानवीय, तर्कहीन व्यवहारले आम मानिसमा कोभिड संक्रमित हुनु भनेको कुनै राजकाज अपराध झैं रहेछ भनेर थप मनोवैज्ञानिक भय र दवाव सिर्जना हुन्छ । आज सत्ताका उपल्ला तहका मानिसलाई पनि संक्रमण भएको छ उनीहरुलाई राज्यले जसरी सकारात्मक र मानवीय ढंगले उपचार व्यवस्था गरेको छ उसरी नै सर्वसाधरणलाई पनि सरकारले हेर्न र व्यवहार गर्न जरुरी छ ।