आफ्नै गीतमा…

  • नवराज सुब्बा

एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा धोएर वेदनालाई पखाल्ने गर्दछु । मलाई लाग्छ मेरो गीतले सायद मलाई नै सबैभन्दा बढी पीडा र सुख पनि दिन्छ होला र नै यति निचोर्छ मेरो मुटुलाई ।

आज स्टूडियोमा एकजना प्रतिभाशाली किशोर गायक डि.बी. राईको स्वरमा मेरो गीत रचना रेकर्ड भइरहेको छ । हाल विछोडिएका एकजना मेरा मित्र प्रेम भट्टचन जसले ३३ वर्ष अघि गरेको संगीतमा आज गीत रेकर्ड भइरहेकोले म भावुक भएको छु । धीरज श्रेष्ठले संगीत संयोजन गरेका छन् । स्टूडियोमा रेकर्डिष्ट धीरजजीले जव सकियो भने तब म झल्यास्स भएँ । म गीत, संगीत र स्वरमा डुबेर कता कता पुगेछु । त्यसबेला मैले मेरो किशोरावस्था सम्झिएँ जुनबेलामा मैले यो गीत रचना गरेको थिए र रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा वि.स. २०३५/३६ सालतिर गाएको थिएँ, त्यो दृष्य मेरो मानसपटलमा आएछ । म पनि त्यसबेला अहिलेका किशोर गायक डि.बी. राई जस्तै किशोर थिएँ । उनको सुमधुर स्वरमा जब मैले गीत सुनें तब मलाई मलाई गीत रचना गर्दा बखतको सम्झना र भावना आलो भएर आयो र म आज फेरि रोएँ ।

यसरी भावुक बनाउने अर्को कारण थियो, प्रतिभाशाली डिबी राईको नियति । कति मीठो स्वर छ, गायकी पनि उस्तै राम्रो छ यस्ता कलाकारलाई यो देशमा नेपाली संगीतलाई आवश्यकता छ तर उनको नियतिले अब उनलाई स्वदेशबाट अनि सायद संगीतबाट पनि टाढा पार्दैछ । सुरुमा स्टूडियोमा छिर्ने वित्तिकै मैले सोधें— “के छ डि.बी. भाई ?” उनले जवाफ दिए “सर म जनवरी महिनातिर कोरिया जान्छुहोला ।” मैले थप सवाल सोध्न उचित पनि ठानिन । यो देशमा युवालाई रोजगार दिने वातावरण नै छैन । आफ्नो भाग्य विदेशमा खोज्नु पर्ने नेपालीको नियति जगजाहेर छ । त्यसैले मैले यत्ति भने “भाई जहाँ रहे पनि रियाज गर्न नछाड्नु है ।” उनी खिसिक्क हाँसे ।

गीत रेकर्ड भइरहेको बेला कन्ट्रोल रुममा म उनको आवाज र गीतमा जब जब डुबें तब मैले आफूलाई उनको उमेरमा पुर्याएँछु । किशोरावस्थामा मैले पनि डि.बी.राई जस्तै संगीतमा पनि केही गरौं भनेर गायन सिकें संगीत सिकें र केही अभ्यास पनि गरें तर जब जागिरमा लागें यी सबै लुकेको रहर बनेर आफूमै सीमित रहे । कति लामो कालखण्ड पर्खे पछि मात्र गीतसंगीतमा फर्कन सकें म । यसरी फर्कन मलाई करिव तीनदशक जति लाग्यो । बा ! यिनको पनि नियति कतै मेरो जस्तो पो हुने हो कि भनेर मलाई सारै चिन्ता लाग्यो ।

म प्रतिभा चिन्न सक्ने तर केही गर्न नसक्ने लाचार रहेछु । जेहोस् अतीत ब्यँझाउने गीतको गहिराईभित्र पात्रहरू उनै गायक डि.बी. राई, संगीतकार प्रेम भट्टचन र रचनाकार म थियौं । यसरी कल्पनाको आकासमा डुल्दाडुल्दै जब गीत सकियो मलाई मीठो सपना बीचैमा टुटेको जस्तै नमीठो लाग्यो । खै कतिखेर आँखा भिजिसकेछन्, गला अबरुद्ध भैसकेछ मेरो । यसरी धेरै पछि फेरि म आफ्नै गीतमा रोएँ । …

गुलाफको थूँगाभित्र मायालुको वास्ना पाउँछु
उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरु गीत गाइ रुझुँ भन्छ
चञ्चले यी आँखाहरु कतै पुगी अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर
सपनीमा आउने माया विपनीमा आउने गर ।

शब्द रचना : नवराज सुब्बा (रचनाकाल २०३५ साल, जुनबेला गीतकारको उमेर १७ वर्ष) संगीत : प्रेम भट्टचन, स्वर : डि.बी. राई, (गीतकार स्वयम्को स्वरमा पनि यसअघि गीत रेकर्ड भैसकेको छ)

Similar Posts

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • रिक्सावाला

    नवराज सुब्बा अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् । खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें ।…

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

  • गीतसंगीतः मेरा मूल्य र मान्यता

    – नवराज सुब्बा कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै…

  • आत्मसन्तुष्टीको अनुभूति

    जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन । आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

Leave a Reply