म हुस्सु !

नवराज सुब्बा

साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन । केही बेर पछि प्रसारण कार्यक्रममा ब्यस्त संचालिका सबिना आएर “हुन त तपाइलाई २ बजेर ५० को समय दिएको हो आउनु भएछ ठिकैछ एकैछिन पर्खनुस् म तपाईको अन्तरवार्ता लिनेछु !” भनेपछि पो म झसङ्ग भएँ । यसो मोबाइल झिकेर एस.एम.एस. हेरेको त नभन्दै २ बजेर ५० नै समय लेखिएको रहेछ । समयमा नपुगिएला भनेर त्यत्रो हतार हतार गरेर ट्याक्सीमा आइयो तयार भएको खाजा पनि छाडेर आइयो । समय त रहेछ नि खाजा खाइवरी माइक्रोवस चढेर आउँदा ठिक्क हुने रहेछ नि ! यो दिमागमा कसरी १ बजेर ५० भन्ने छाप पर्‍यो हँ – भनेर आफैलाई सोध्छु र जवाफ पाउँछु- तँ अलि हुस्सु नै छस् । हो, मलाई पक्का भयो म अलि हुस्स-हुस्सु नै छु ।

कार्यक्रम संचालिका सविनासंग अन्तरवार्ताको तैयारीको सिलसिलामा वहाँले तपाइले एउटा कविता पनि भन्नु पर्छ है भन्नु भो । “मिडविक म्यूजिक” भन्ने कार्यक्रममा अन्तरवार्ता दिनु पर्ने भएकाले यस्तै गीतसंगीतसम्बन्धी, एलवमसम्बन्धी सामान्य कुराकानी होला भन्ने सोचेर मैले कविता बोकेको थिएन । अब मलाई परेन त फसाद ! सम्झे, कवि-कवि भन्छन् मलाई, खै मुखमा भने एउटै कविता आउँदैन । आउन पनि पो कुनै कविताको दुइ हरफसम्म पनि पो आउँदैन त ! फेरि कविताका दुइदुइ वोटा पुस्तक प्रकाशित भैसकेका छन्, कसरी बुझाउनु कविता लेख्ने मानिसलाई कविता आउँदैन भनेर । वास्तवमा म आफ्नो हालत देखेर आफै लज्जित हुन्छु । कविगोष्ठीमा कैंयौं कवि नहेरीकन फरर कविता सुनाउँछन्, फरर गजल गाउँछन् । आफूलाई भने न कविता आउँछ न गजल नै आउँछ न त गीत नै मुखाग्र आउँछ ! खै म कस्तो कवि – म हुस्सु नै हुँ क्यार ! तर त्यसबेला मैले एउटा उपाय निकालें । इन्टरनेटबाट हालसालै लेखेको कविता वहाँकै ल्यापटपमा ब्राउज गरें र पढिदिएँ अनि लाज  बचाएँ ।

त्यहाँबाट फर्कदा मैले मेरो बाल्यकाल सम्झें । बूबाले मलाई घरिघरि हकार्नु हुन्थ्यो “तँ आफूले काम गर्दागर्दै राखेको सामान जस्तै कैंची, हेमर आदि नथन्क्याइकन जहाँको त्यहीँ छाडेर हिंड्छस् र बारम्बार हराउँछस्, त्यस्तो हुस्सु दिमागले तँ पढाइमा चाहिँ कसरी पहिलो हुन्छस् हँ – खै तेरो दिमाग त्यति राम्रो त देख्दिन !” त्यतिबेला बाको कुरा मलाई तीतो लागे पनि अहिले मलाई त्यही कुरा मीठो लाग्न थालेको छ ।
आगामी बुधबार ८ बजेपछि प्रसारित हुने तय भएको उक्त एफ.एम. कार्यक्रमको दौरानमा मेरो शिक्षाबारे पनि चर्चा भयो । चार पाँच विषयमा स्नातकोत्तर पढेको तर डिग्री चाहिँ दुइटाको मात्रै लिएको । “स्नातकोत्तर मात्र धेरै पढेर हुँदैन बरु कुनै एउटामा विद्यावारिधि गरे पो जाती !” भन्ने अर्ती पाएपछि विद्यावारिधिमा तीनवर्षेखि झुन्डेको भनेर पनि गफ हाँकियो । तर मलाई आज पक्का विश्वास भयो कि मेरो दिमाग मेरा बाले भने जस्तै त्यति ठिक छैन । म अलि हुस्सु नै छु । बास्तवमा मैले जति पढे पनि जति लेखे पनि ठ्याक्कै मेरा बाले भनेको जस्तै मेरो दिमागलाइ अलि ठेकानमा ल्याउन जरुरी भएको छ ।
२०६७।११।२१ काठमाडौं
Tea Talk audio

Similar Posts

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

Leave a Reply