समय र घडीहरू

छाया सँगै बसेको छ कि
छाडेर अन्तै गएको छ हँ ॽ
दुनियाँ ब्यूँझिएको बेला
निदाएको स्वाङ गर्ने ए घडीहरू !
ब्यूँझ, हेर र भन
यो दिनको बाह्रबजे हो या रातको बाह्रबजे हो ॽ…
अहँ जवाफ आउँदैन कतैबाट
दुनियाँ ब्यूँझाउने अर्थात् हिंडाउने घडी
आज स्वयम् निदाएको छ

समय एकतमासले हिंडिरहेको छ
दौडप्रस्थान रेखामा उभेर
चूप…चाप.. छन् घडिहरू भने
अचम्म घडीहरू छरपष्ट भएर
स्वयम् समय रोक्ने
प्रतियोगितामा सामेल छन्
समय बगिरहेकै छ
नाडी चलिरहेकै छन्
बिहानी पर्दा उघारि
बिछ्यौनाबाट उठाउने
भित्तेघडी होस् या टेबलघडी
यिनीहरूले आज पटक्कै समय दिएका छैनन्
सायद
यी बिग्रेका घडीहरू सोच्दा हुन्
हामी निदाए दुनियाँ सुत्छ
घडीको काँटाले जे देखायो
मानिस उतै हेर्छ
घडीले जता डोर्‍यायो
दुनियाँ उतै हिँड्छ
घडीको काँटा तगारो बनाएर
समयलाई छेक्न खोज्ने
ए घडीहरू हो सुन !
समयले घडी जन्माएको हो
समय अनुसार चल
याद गर घडीका बिकल्प छन्
तर समयको बिकल्प छैन
नरोक समय नछेक नदी
तिम्रा सुइराले नघोच
मान्छेका पेट र छाती
घाम, जून, ताराका सार
अनि मुटुको लयसित जिस्कने
समयलाई उपहास गर्ने बिरुद्ध
मभित्रको जैविक घडि बोल्छ
अझै कतिञ्जेल हेरौं, बाँधौ
कामनलाग्ने घडीहरू ।

२०६७।७।२२ विराटनगर

Similar Posts

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

Leave a Reply