बगरको छातिमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसंग
सून्यता विरुद्ध
शीर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
थपक्क टपक्कै टिपे
सुम्सुम्याए झैं गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउदै जराहरू पिटे
साँच्चै उनीहरूलेे मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकै माथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातिमा हाँसेको देखे
मलिलो छातिमा मौलाएको देखे
लहर जस्तै निरन्तर लम्किरहेकै भेटे ।

२०६३।५।१३, विराटनगर नेपाल ।

समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)
गजल

Leave a Comment