पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा

मेरो जन्मगाउँ हाङपाङबाट उत्तरपूर्वतिर घामसितै टल्कने कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरू र त्यसको फेदैमा पाथि घोप्ट्याएजस्तो बसेको पाथिभरा डाँडा चीरपरिचित आकृतिहरू हुन् । बाल्यकालमा हामी सरस्वती माद्यमिक विद्यालयमा पढ्दाखेरि कहिलकाहिँ कुनै साथीको घाँटिमा सेतो र रातो कपडाको डोरो बाटेर लगाएको देख्दा त्यो पक्कै पाथिभरा मन्दिरको प्रसाद हो भनेर हामी सजिलै चिन्दथ्यौं । हामी त्यसबेला हाम्रा अभिभावकहरूले गरेका कुराकानी टपक्क टिपेर बडो चाख मानेर बालसखी एकआपसमा गफ साटासाट गर्दथ्यौं । कोही भन्दथे– पाथिभरा जान्छु भनेर भाकल गरे पछि त्यहाँ जानै पर्छ रे, अनि कोही भन्थे– पापी मानिस त्यहाँ जानै सक्दैनन् रे, लेक लागेर यतिजना बाटैमा मरे रे, हिंड्न नसकेर फलना बीचैबाट फर्कियो रे, लेक लाग्यो भने मकैको सातु खानुपर्छ रे आदि इत्यादि ।

म पनि क्याम्पस पढ्दापढ्दै विदामा त्यस्तै २०३५ सालमा पहिलो पटक आमासित पाथिभरादेवीको दर्शन गर्न गएँ । मेरो गाउँ हाङपाङबाट हिँडेका दिन हामी ताप्लेजुङ सदरमुकाम फुङलिङ हुँदै सुकेटार एयरपोर्टमा पुगेर बस्यौं । भोलिपल्ट बेलुका पाथिभरा डाँडैमा पुग्यौं र बस्यौं । अलि ढिलो पुगियो भने पाटीमा बस्ने अर्थात् ओत लाग्ने ठाउँ नै नभेटिने रहेछ । कसोकसो गरेर एकठाउँमा सुत्न मिल्ने ठाउँ मिल्यो । रातभरि आगो बाल्नु पर्ने नत्र जाडोले सुत्नै नसकिने रहेछ । आगोको धुँवाले गर्दा सुत्न पनि सकस परेको म अझै बिर्सन्न । ओड्नलाई कम्मल र ओछ्याउन राडी बोकेका थियौं । आमा रातभरि अरू तीर्थयात्रीहरूसित गफ गरेर काट्नु भयो । राती म भने आमाको छेवैमा कम्मलले मुख छोपेर धुँवाबाट बच्दै आगो तापेर रात कटाएको कष्टपूर्ण रातको याद अझै मेरो मानसपटलमा ताजै छ । म निदाएको बेलामा आमाले मेरो परीक्षा लिनु भएछ । मेरो हातको घडी झिकेको मैले थाहा नपाएको पछिसम्म पनि कुरा गरिरहनु हुन्थ्यो र परदेशमा यसरी नै वास बस्दा घडी लगायत पैसा आदि हराउला भनेर चिन्ता गरिरहनु हुन्थ्यो ।

तर त्यसबेला साँझपख त्यहाँबाट देखिने दृष्य बडो अलौकिक जस्तो लाग्यो । अनि जुनेली रातमा आफ्नो अघिल्तिर छेवैमा कुम्भकर्ण हिमाल सेतो आकृतिमा ठिड्ग अभिएर हेर्दैपिछे तर्साए जस्तो लाग्दोरहेछ । राम्ररी नियाल्दाखेरि दार्जिलिङको बिजुलीबत्ती पनि पिलपिल बलेको देखिने रहेछ । अरु बेला माथि देखिने सबै धरतीका डाँडाकाँडा सबै तल देख्दाखेरि अनि सँधै टाढाबाट मात्र देखिएको कुम्भकर्ण हिमाल त्यत्ति नजिक देख्दा मलाई बेग्लै आनन्द आयो । अझ विहानीपखको सूर्योदयमा टल्कने हिमाल, तल वस्तिमा भुइँ कुहिरोका चाक्लाहरू देख्दा हामी साँच्चै देवताहरू बस्ने ठाउँमै पो आइपुगिएछ कि जस्तो अनुभूति पनि भयो । विहान पूजा ग¥यौं । बलि दिनलाई एउटा सानो वाख्राको पाठो ल्याएका थियौं त्यो पनि बलि दियौं । जति बलि दिए पनि रगतको भल मन्दिरमा जम्दैन भन्ने जनश्र्रुति पाइन्छ । माटोमा तुरुन्तै रगत सोसिंदो रहेछ र रगतको भल बगेको हामीले पनि देखेनौं । यसरी पूजा गरेको वाख्राको पाठोको मासु तम्बरखोला पारी नै खाइसक्नुपर्छ । अर्थात् बलि दिएको मासु घरमा लैजान हुँदैन भन्ने जनविश्वास छ । सोही बमोजिम फर्कदा एकप्रकार पिकनिकझैं मासुभात खाँदै घर फर्कियौं ।

पहिलो पटक पाएको सुख अलि बिर्सियो होला तर दुःख मनमा छँदै छ । त्यसैले २०४५ सालमा दोस्रो पटकको पाथिभरा यात्रा गर्दा साथमा स्टोभ पनि बोकेर लग्यौं । यसबेला मेरो साथमा आमा हैन मेरी पत्नी चञ्चला, भाई दीपक, दीपेन्द्र र बहिनी कविता थिए अनि साथमा थिए तीनवर्षीय जेठो छोरा कौशल पनि । छोरालाई बोकेको छु साथमा सहयोगी पनि छन् जसलाई आवश्यक सामग्री बोकाएर हिंडेको दुई दिनमा हामी फेदी भन्ने स्थानमा पुग्यौं जहाँ लहरै गोठ थिए चित्राले छाएको । भूईमा बस्नलाई ओछ्याइएका उन्यूँका स्याउला थिए जो डनलपझैं नरम र न्यानो थियो । बस्नलाई निःशुल्क तर आफैले स्याहारसुसार, सरसफाई गरेर मात्र बस्न सकिने अवस्थामा गोठ थियो । जेहोस साथमा सानो बालक भए पनि हामीले त्यहाँको रात पहिलोपल्टको पाथिभराडाँडाको रातभन्दा सुविधाजनक ढङ्गले काट्यौं । र विहान पानी जर्किनमा बोकेर पाथिभरा डाँडा चढ्यौं । विहान १० बजेतिर पूजा सकेपछि पुनः फेदीमा आएर खाना पकाएर खायौं र डाँडैडाँडा ताप्लेजुङ बजार झ¥यौं । भोलिपल्ट विहान तम्बरखोलाको पूजा गरेपछि हाम्रो यसपालिको पाथिभरा दर्शनयात्रा पनि सम्पन्न भयो ।

पछि सुनें, तत्कालीन माननीय विष्णु मादेनको पहलमा पाथिभरा मन्दिरको जिर्णोद्धार गरिएको छ । बाटोघाटो राम्रो बनाइएको छ । पाटीपौवा व्यवस्थित बनाइएको छ । पानीको राम्रो प्रवन्ध गरिएको छ आदि । अनि फेरि केही वर्ष अघि सुनें, पाथिभरा मन्दिर जाने रोपवे पनि बन्ने भो रे । तर त्यो के भयो थाहा भएन । तर आजकल धेरैजनाबाट सुन्छु, त्यहाँ अहिले बाटामा होटलहरू खुलेका छन् रे, खानबस्नलाई चामल, लुगा बोक्नुपर्दैन रे इत्यादि ।

म सोचिरहेछु, मैले देख्दादेख्दै धेरै परिवर्तन भएका छन् मेरो जन्मस्थलमा । बाटो फेरियो, सुविधा थपियो, मन्दिरमा देवीको पहिरन सुकिलो बनाइयो होला तर एउटा कुरा अझै पनि उत्तिकै पुरानो तर सुन्दर लाग्छ – त्यो हो मानिसको जनविश्वास अर्थात् पाथिभरादेवीको दर्शनपछि मनमा मिल्ने शान्तिभाव । पाथिभरादेवीको दर्शन र यात्रामा देखिने मनमोहक प्राकृतिक सुन्दरताले दिने आत्मिक वल, बाँच्ने शक्ति र ताजा मनोकांक्षा हासिल गर्न एकपटक जानै पर्ने तीर्थस्थललाई म नित्य आँखा चिम्लेर श्रद्धापूर्वक सम्झिरहेछु र टाढैबाट पनि दर्शन पाएको अनुभूति गरिरहेछु ।

Similar Posts

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • |

    मैले देखेजानेको आठराई चाँगे गाउँ

    डा. नवराज सुब्बा हामी जैविक, भौगोलिक आधारमा मात्र नभएर विचार, बिम्ब र स्वैरकल्पनाले एक अर्कासित गाँसिएका रहेछौं । इतिहास र संस्मरण सामाजिक जीवन र मानवीय आयामका ऐना रहेछन् । मिथकीय खोटोले हामीलाई जोडिराखेको रहेछ । यही बिम्वात्मक गुरुत्वर्षणका आधारमा म चागे गाउँको शब्दचित्र कोर्दैछु । आज चाँगेबाट दीपेन्द्र आङबुहाङले चाँगे माद्यमिक विद्यालयको स्मारिकाका लागि शिक्षालाई…

  • |

    खोक्रा नारा थोत्रा कान

    डा. नवराज सुब्बा । नेपाल नारै नाराको देश हो । अर्को शब्दमा यो नेतै नेताको देश हो । घरिघरि यहाँ आकर्षक नाराहरु वर्षे भेलझैं उर्लिन्छन् । नयाँ सरकार आउँदैपिच्छे नेताहरु कुर्लिन्छन् । केवल भोट आकर्षित पार्ने उद्देश्यले आधार बिनाका नारालाई खोक्रा नारा भनिन्छ । दुःखका साथ भन्नु पर्दछ, वास्तवमा हामी कसैका पोल्टामा हुर्केको प्रजातन्त्रलाई लोकतन्त्र…

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • |

    Ganesh Bahadur Rai in Atharai Hangpang

    Dr. Nawa Raj Subba Background of the Village Hangpang village in Taplejung district has now transformed into Hangpang ward under Atharai Triveni Gaupalika of federal Nepal. This village has become the headquarters of neighboring Change, Phulbari, and Nighuradin villages. Saraswati Higher Secondary School locates in the center of Atharai Triveni Gaupalika and is spreading the…

One Comment

  1. ma pani ek patak pugne mauka pae………………… bolo pathivara devi kiiiiiiiiiiiiiiiiiiiii ……………. jayyyyyyyyyyyyyyyyyyyyyyy

Leave a Reply