मैले देखेजानेको आठराई चाँगे गाउँ

Sharing is Caring

डा. नवराज सुब्बा

हामी जैविक, भौगोलिक आधारमा मात्र नभएर विचार, बिम्ब र स्वैरकल्पनाले एक अर्कासित गाँसिएका रहेछौं । इतिहास र संस्मरण सामाजिक जीवन र मानवीय आयामका ऐना रहेछन् । मिथकीय खोटोले हामीलाई जोडिराखेको रहेछ । यही बिम्वात्मक गुरुत्वर्षणका आधारमा म चागे गाउँको शब्दचित्र कोर्दैछु । आज चाँगेबाट दीपेन्द्र आङबुहाङले चाँगे माद्यमिक विद्यालयको स्मारिकाका लागि शिक्षालाई छुवाएर दुईचार पाना लेख लेखिदिनोस् न भन्दा म झस्किएँ । स्मारिकामा तथ्याङ्कसहित चाँगेको शैक्षिक गतिविधि र प्रगतिबारे विज्ञ शिक्षकवर्ग तथा जानकारबाट आधिकारिक वस्तुगत लेख अवश्य आउने नै छ । म भने आठराई त्रिवेणी अन्तर्गत हाङपाङ र चाँगे लगायतका सामाजिक तथा शैक्षिक पाटाका उम्रेका अतीतलाई केलाएर वर्तमानसित गाँस्दैछु । तथ्याङ्क भन्दा पनि गुणात्मक सूचना र इतिहासलाई आत्मगत शैलीमा आफ्ना विचार र विम्ब केलाउँदैछु । यो लेखले अघि त्यस क्षेत्रको कुनै एक विद्यार्थीले त्यस क्षेत्रको शिक्षालाई कसरी देखेको, हेरेको वा बुझेको रहेछ भन्ने सन्देश प्रवाह गर्नेछ ।

Hangpang-Change-Tamberkhola Himalayan Range: Nawa Raj Subba

मेरा आँखा उघ्रेर परपरका दृश्य ठम्याउन सक्ने भएपछि मैले राम्ररी ठम्याएका दृश्यमा चाँगे, नेसुम, गैरी, सोबुवा गाउँ, वस्ती थिए । कहाँसम्म भने म उठेदेखि नसुतेसम्म नहेरुँभन्दा पनि सामुन्ने पर्ने गाउँ नै चाँगे, नेसुम, गैरी, ओख्रे, गोर्जाटार, सोबुवा गाउँ थिए । यसैले यी प्राकृतिक बिम्व मेरा मनभित्र कल्पना र यदाकदा सपनामा छाइरहन्छन् । थाहै छ, हाङपाङ र चाँगे गाउँ हेराहेर गरेर बसेका गाउँहरु हुन् । बीचमा सोबुवा खोला बगेको छ । यस खोलाबाट जलविद्युत उत्पादन गरिएको छ । यहाँबाट उत्पादित विद्युतले हाङपाङ, चाँगे, जिल्ला सदरमुकाम फुङलिङ लगायत वरपरका गाउँघर झलमल बनाएको छ । यी दुवै गाउँको उत्तरमा तम्बरखोला र दक्षिणमा तेह्रथूम र संखुवासभाको सीमाक्षेत्र पर्दछन् । उत्तर र दक्षिण फैलिएका यी गाउँ किरातकालीन आठराई नामले चिनिन्छन् । यहाँ धान, मकै, कोदो, फापर, सुन्तला, हरिया तरकारी फल्ने कृषियोग्य भूमि र सिंचाइको व्यवस्था छ । यहाँ कृषि उत्पादनको अवस्था पनि राम्रो छ । प्राकृतिक रुपमा चाँगे र हाङपाङ ठूल्ठूला पहिरो नजाने भूक्षेत्रमा बसेका सुन्दर गाउँ हुन् ।

चाँगे नेसुम गाउँमा बिहान घाम झुल्कनासाथ सूर्यको किरण पर्दछन् अर्थात् यो पूर्व मुख फर्केको गाउँ हो । जहाँ १–२ जुवा घाम छँदै छाया पर्ने गर्दछ । यता हाङपाङ पश्चिम–उत्तर मोहडा भएको गाउँ हो, जहाँ विहान ८ बजेतिर मात्र घाम झुल्कन्छ तर घाम नअस्ताउन्जेल किरण पर्दछ । यी दुवै गाउँमा अन्नबालीमा धान, मकै, गहुँ, नगदेबालीमा अलैंची, सूर्ती र फलफूलमा सुन्तला, कागती आदि फल्दछन् । आलु लगायत अन्य हरिया सागपात, तरकारी लगाउनलाई यहाँ अनुकूलको हावापानी र माटो छ । त्यहाँबाट ताप्लेजुङ सदरमुकाममा अन्न र तरकारी निर्यात हुन्छ ।

अब म मेरा अतीत झल्काउने शब्दचित्र कोर्दैैछु । मैले बाल्यकालमा चित्र कोर्न सिक्दा चाँगे गाउँको माथि शिरमा लहरै देखिने वनजंगलका बाक्ला रुखहरुका टुप्पा र क्षितिज हेरेर मैले मनमा एउटा बिम्व बनाएँ । त्यही दृश्य पहिले आँखा र त्यसपछि मनमा भरेर कागजमा पेन्सिल घुमाएँ । निलो आकास, हरिया जंगल र सेता, राता घरहरु काजगमा कोरें । मैले त्यसबेला चित्र कोर्न सिक्दा डाँडामा रुख बाक्ला थिए । हेर्दाहेर्दै सोवुवा, गैरी, नेसुम माथिका डाँडामा रुख पातलिए । वर्षामा बग्ने गैरी, नेसुमका खोला र छहरा पहिले सेता दाँत जस्ता चम्किला देखिन्थे ती वर्षेनी खिइदै गए । हाङपाङबाट सोबुवा, गैरी, नेसुमका शिर हेर्दा, तालु खुइलिएको टाउका जस्ता भए । वारिबाट देख्दा जंगलमा आगो लगाइयो, भस्मे फाँडियो । त्यहाँ हेर्दा डाँडामा यदाकदा टुप्पी पलाएझैं रुख पातलिए । अहिले र उहिलेको प्राकृतिक वनोट र सुन्दरतामा कत्ति फरक आएछ, म आफै अचम्ममा पर्दछु ।

उहिले त्यो सम्झदा मलाई सपनाजस्तो लाग्दछ । मेरो वाल्यकालमा त्यहीँ जंगलबाट बथानका बथान काग बिहानै हाङपाङमाथिको आकासमा निकै उँचाइमा काग काग कराउँदै आउँने गर्दथे । हरेक दिन साँझ परेपछि सायद हाङपाङ शिरको जंगलमा भेला भएर पुनः ती चराहरु कराउँदै कराउँदै चाँगे शिरको जंगलमा फर्कने गर्दथे । अहिले जस्तो त्यसबेला समय देखाउने हातेघडी, मोवाइल थिएनन् । ती चराले पनि त्यसबेला गाउँघरमा घडीको काम गर्ने गरेका थिए । यसरी काग लगायतका चरा पारिबाट वारि आउने र साँझ पारि जाने क्रममा तिनको लस्करको दृश्य हेर्नु तथा तिनले निकाल्ने आवाज वा सङ्गीत सुन्नु मेरो बाल्यकालको मनोरञ्जन थियो । यसरी म हाङपाङे भुन्टे केटो बाल्यकालदेखि नै चाँगे गाउँका विभिन्न भूभागका दृश्य र चराचुरुङ्गीसित भावनात्मक रुपमै गाँसिएको रहेछु ।

राजनीति म त्यसबेला बुझ्दिनथें । हामी एकाएक तेह्रथूम जिल्लाबाट ताप्लेजुङ जिल्लामा पर्यौं भन्ने हल्ला चल्यो । किन, कसले त्यसो गर्यो भनेर सोधिखोजी गर्नुभन्दा पनि हामी विद्यार्थी आफ्नो एस.एल.सी.को सेन्टर आठराई सक्रान्तिबाट फुङलिङ भएकामा चिन्तित भयौं । प्रायः हप्तैपिछे हाटमेला गर्न शनिबार सक्रान्ति बजार जाने हामी गाउँलेलाई बानी परेको थियो । आठराईका मानिससंग उठबस थियो । त्यहाँ बस्नलाई डेरा खोज्न सजिलो थियो । तर ताप्लेजुङ जिल्ला सदरमुकाम बजार भए पनि उठबस उति थिएन । आठराईबाट त्यहाँ जान आउन त्यसबेला तम्बरखोलामा गतिलो पुलसम्म थिएन ।

अहिले मूल्याङ्कन गर्दा तेह्रथूम फेदाप थूमले आठराई थूमलाई आफूबाट टुक्र्याएर अलग पारिदियो । पंचायत व्यवस्थालाई टिकाउने निहुँमा फेदापका निहित स्वार्थधारी राजतीतिक खेलाडीले सचेत र सबल आठराईलाई टुक्र्याएर कमजोर तुल्याइदियो । कोयाखोला, फेदाप, म्याङलुङले पंचायत कालमा आफ्नो स्वार्थसिद्ध गर्ने गतिलो अवसर पाए र आफ्नो औंला काटेसरि आठराईलाई टुक्र्याएर पंचायती व्यवस्थाको तत्कालीन बैतर्नी गरिदिए । संभवतः पंचायती व्यवस्थाको दीर्घायुका खातिर वि.स. २०३२ सालमा निघुरादिन उत्तर साँघुसम्मका आठराई गाउँवस्ती ताप्लेजुङ जिल्लामा हालियो । हामी विद्यार्थीले चिठी लेख्दा जिल्ला तेह्रथूम, अंचल कोशी लेख्र्दै आएकामा तब जिल्ला ताप्लेजुङ र मेची अंचल लेख्न थाल्यौं ।

दशदेखि चालिस दशकसम्म आठराई सक्रान्ति, चुहानडाँडा शिक्षाका केन्द्र थिए । तेह्रथूम जिल्लामा रहँदा आठराई क्षेत्रले तेह्रथूम जिल्लाको राजनीतिमा निर्णायक भूमिका खेल्ने गरेको थियो । त्यही कुरा फेदाप, म्याङलुङलाई पचेन । आठराईवासीको जुन एकता र बल थियो त्यो तेह्रथूमले सहेन । फलस्वरुप जिल्ला फेरबदल गराएर आठराई सक्रान्तिको मदनमेला, वीरेन्द्र इण्टर कलेज चुहानडाँडासित आठराईवासीको नाता कमजोर तुल्याइयो । आठराई सक्रान्ति, चुहान्डाँडा, म्याङलुङसित लगाव र उठबस टुटाइयो । अब यसलाई मीठो भनौं कि तीतो जेहोस् सम्झनालाई सिरानी घुसारेर बेलाबेला यसरी चर्चा गर्नुबाहेक अरु रहेन । आठराई विभाजनले तत्कालीन त्यस क्षेत्रको आर्थिक भन्दा पनि शैक्षिक, सामाजिक, राजनीतिक चेतना, एकता र बलमा घाटा भयो । पंचायती राजनीतिमा जमेका साँघुका इन्द्रजित वनेम, चाँगेका लक्ष्मीप्रसाद आङबुहाङ र हाङपाङका कृष्णराज प्रसाईको राजनीतक सम्भावना त्यसले चपाइदियो ।

त्यसपछि विच्छेदित आठराई क्षेत्र निकै लामो कालसम्म ताप्लेजुङ जिल्लाको परम्परागत राजनीतिक ढर्रामा लोलायो । विच्छेदित आठराईमा गतिला जनप्रतिनिधि निस्केनन् तथा त्यस क्षेत्रमा विकासका गतिविधि पनि त्यत्ति भएनन् । यद्यपि, लामो समयपछि हाल चाँगे, हाङपाङ, ढुँगेसाँघु लगायत विच्छेदित निघुरादिनदेखि साँघु क्षेत्रले ताप्लेजुङको राजनीतिमा आफ्नो पकड जमाउन थालेको छ । ती गाउँहरुबाट हाल सदरमुकाम ओहोरदोहोर गर्न तम्बरखोलामा पक्कीपुल र मोटरबाटो बनेका छन् । युगानुकूल नयाँ राजनीतिक लय आठराई त्रिवेणी अर्थात् हाङपाङ, चाँगे, फूलवारी र निघुरादिनले समातिसकेका छन् । अर्थात् चाँगे, हाङपाङ, फूलबारी र निघुरादिन आठराई त्रिवेणी नाम काँधमा बोकेर अब अघि बढिसकेका छन् ।

आठराईको शैक्षिक तथा सामाजिक पृष्ठभूमिलाई चाँगेसित तुलना गरौं । मैले चाल पाउँदा चाँगे गाउँ उसबेला तेह्रथूम जिल्लाको एक आदर्श पञ्चायत थियो । यद्यपि उसबेला हाङपाङमा हाइस्कुल थियो भने चाँगेमा मिडिल स्कुल थियो । विद्यार्थी चाँगेमा सात कक्षा पास भएपछि एस.एल.सी. पास गर्न हाङपाङको सरस्वती माद्यमिक विद्यालय आउनु पदथ्यो । चाँगेबाट मात्र हैन त्यसबेला फूलबारी, ढुङ्गेसाँघु, मैवाखोला, मेवाखोला, तम्बरखोला क्षेत्रबाट समेत विद्यार्थी अध्ययन गर्न हाङपाङ आउने गर्दथे । कालान्तरमा हाङपाङबाटै एस.एल.सी. पास भएका धेरै विद्यार्थीहरु शिक्षक भएर आफ्नो क्षेत्रमा शिक्षाको ज्योति फैलाए । उनीहरुले ताप्लेजुङका कुनाकाप्चामा खुलेका विद्यालयम शिक्षक भएर गाउँघरको शैक्षिक उन्नति गरे । उनीहरुले गाउँ वस्तीमा चलाएका प्राथमिक तहको विद्यालयलाई क्रमसः स्तरोन्नति गर्दै माध्यमिक, उच्च माद्यमिक विद्यालयसम्म बनाइसकेका छन् । उदाहरणका लागि हाङपाङमा पढेका विद्यार्थी नै शिक्षक भएर गएपछि हेर्दाहेर्दै चाँगेको छातेढुङ्गा, सोबुवा गाउँमा जस्तापाता लगाएका विद्यालय टिलिक्क खुले । मेवाखोला, तम्बरखोला क्षेत्रमा पनि हाङपाङबाट प्रशिक्षित युवाहरुले शिक्षाको किरण फैलाए । यसरी आठराई क्षेत्रमा सक्रान्ति, चुहानडाँडापछि हाङपाङमा खुलेको हाइस्कुलले चाँगेउत्तरका गाउँहरुमा शिक्षाको प्रकाश फैलाउन ठूलो योगदान गरेको छ ।

यही हाङपाङ गाउँको विद्यालयमा चाँगे नेसुमका बमबहादुर आङबुहाङले शिक्षकको रुपमा सेवा दिनुभयो । उहाँले यो पङ्तिकारको पनि सिँगान पुछिदिनुभयो । म टुकुटुकु हिड्ने अवस्थाको त्यस्तै दुई तीन वर्षको सिँगाने बालक थिएँ । एकदिन दिउँसो हाल गाउँपालिका भवनको पुस्तकालय भवन बन्नअघि मैदानमा तत्कालीन हेडसर गणेशबहादुर राई र उनै बमबहादुर सर बेन्चमा क्यारेमबोर्ड खेलिरहनु भएको थियो । म पनि सायद खेलेको हेर्न त्यही क्यारेमबोर्डको छेउमा गएर उभिएँ । त्यहाँ म उभिँदा क्यारेमबोर्ड मेरो चिउँडोसम्म पुग्दथ्यो भन्ने अनुमान गर्दछु । कारण क्यारेमबोर्डको बोरिक पाउडर गोटी जोडले हान्दा उडेको धुलो मेरो नाकैमा पर्दथ्यो । एकछिन खेल हेरेपछि मलाई जोडले हाच्छिउँ आयो र बोर्डको बोरिक पाउडर र गोटी उडाइदियो । त्यत्ति मात्र होइन बोर्डभरि सिँगानैसिँगान छरियो । मलाई सम्झना यत्ति मात्र छ कि उनै बमबहादुर सरले “हैट यसले त खत्तम पार्यो हौ” भन्दै नजिकैको कालोझार टिप्न उठ्नुभयो, त्यत्ति मात्र याद छ । सायद म बालक डरले रुँदै घरतिर लागें होला । मेरो मानसपटलमा बमबहादुर सर बेञ्चबाट उठेको र झारतिर लम्केको बिम्व मात्र याद छ । मेरो बालसुलभ मानवीय घटनालाई उहाँहरुले तत्कालै क्षमादिएर आफ्नो क्यारेमबोर्ड सम्हालेर खेल चालु गर्नुभयो । उनै स्वर्गीय बमबहादुर सर र गणेशबहादुर सरलाई हार्दिकतापूर्वक सम्झना र सम्मान प्रकट गर्दछु । पछि उनै गुरुहरुले यो कलमलाई अक्षर घोट्न सिकाउनु भयो र यो कलम आज यहाँ आइपुगेको छ ।

त्यसबेला मेरो घरमा चियापसल थियो । मैले धेरै गुरुलाई चिया ओसारेर लगिदिएँ, सूर्ती सल्काउनलाई अगेँनाबाट बल्दै गरेको दाउरा लगिदिएँ । मैले गरेको सेवा त्यत्ति नै हो तर मैले गुरुबाट धेरै कुरा सिकें । एउटा पारिवारिक वातावरण जस्तो माहौल थियो गाउँमा । एकदिन हाङपाङको सरस्वती हाइस्कुलमा कुनै कार्यक्रमको लागि माइक जोड्न थालियो । म भुराभुरी मान्छे माइक बनाएको, तार जोडेको, माइकमा बोलेको देखेर खूब रमाइलो लाग्दथ्यो । उनै बमबहादुर सर, बेनु चुडाल सर आदि भएर दिनभरीमा पनि माइक चालु गर्नसक्नुभएन । अबेर भएकाले अपरान्हतिर बमबहादुर सर आफ्नो घर पारी नेसुम लाग्नुभयो । यता सरस्वती हाइस्कुल हाङपाङमा स्थानीय बेनुसरले साँझपख माइक बनाउनु भएछ । माइक बनेको खुसीयालीमा बेनुसरले त्यही माइक नेसुमतिर फर्काएर “माइक बन्यो है बमबहादुर सर” भनेर कराउँदा हामी भुराभुरीलाई कम मजा भएन । माइकमा ठूलो आवाज आएपछि त्यसै बेग्लै मजा आउँथ्यो । माइक टुइँ टुइँ चुइकिदाको आवाज सुन्नुपर्दा अहिले दिक्क लाग्छ, त्यही आवाज उसबेला सुन्दा आनन्द लाग्दथ्यो । उनै बमबहादुर सर र बेनु सरले पछि मित लगाउनु भयो र चाँगे स्कुलमा सरुवा भएर जानुभयो ।

कालान्तरमा चाँगेको निम्नमाद्यमिक विद्यालय पनि माध्यमिक विद्यालयमा स्तरोन्नतति भयो । म सात कक्षाबाट आठ कक्षामा चढ्दा सरस्वती मावि हाङपाङमा कक्षाको पहिलो विद्यार्थी थिएँ । चाँगेमा उनै बमबहादुर सरका कान्छा भाइ इन्द्रबहादुर आङ्बुहाङ सात कक्षा पास हुँदा पहिलो विद्यार्थी रहेछन् । तब आठ कक्षामा चाँगेबाट धेरै विद्यार्थी सरस्वती मावि हाङपाङ पढ्न आए । मेरा सहपाठीका रुपमा उनी लगायत जयन्द्र आङ्बुहाङ, गजेन्द्र आङबुहाङ, सुवास आङ्बुहाङ, ईश्वर आङ्बुहाङ, डम्बरबहादुर आङबुहाङ, विश्वराज आङबुहाङ, जर्मन आङबुहाङ, वीरेन्द्र तामाङ, गंगाराम दाहाल, तेजप्रसाद उप्रेति, टंक निरौला, अम्बिका चुडाल, लीला चुडाल आदि सरस्वती माद्यमिक विद्यालयमा भर्ना भएका थिए । यसै गरी फूलबारी मिडिल स्कुलमा सात कक्षा पास हुँदा पहिलो विद्यार्थी युवराज पौडेल, दोस्रो विद्यार्थी अग्नीप्रसाद सिटौला लगायत आठ कक्षामा भर्ना हुन सरस्वती माविमा आए । नवागन्तुक साथी पाएर एकातिर म खुशी खुशी थिएँ अर्कातिर उनीहरुले पढाइमा उछिन्लान कि भन्ने चुनौती थियो । दृढताकासाथ पढाइमा तल्लिन रहें । यता मेरा दोस्रो नम्बरका विद्यार्थी साथी निधिनाथ भण्डारी मलाई बेलाबेला तर्साउँथे । चाँगेबाट आउने ‘फस्ट ब्वाय’ ले तलाई अब जित्छ जित्छ, किनभने उसको अंग्रेजी राम्रो छ । नभन्दै इन्द्रबहादुरको अंग्रेजी बोलाइ, लेखाइ, अक्षर राम्रो थियो । युवराज पौडेल पनि घोक्नमा पोख्त थिए । मैले उनीहरुलाई पढाइमा उछिन्न दिइन र एस.एल.सी. सम्म अग्रता कायम राखें । जेहोस्, मैले त्यसबेला सबै सहपाठीको माया, सम्मान पाएँ । हाल उहाँहरु देशविदेशमा हुनुहुन्छ तर सम्झना भने मनमा ताजै छ ।

यतिञ्जेल मैले मेरा मनका सम्झना र भावना व्यक्त गरें । अब म चाँगे गाउँको इतिहास कोट्याउन चाहन्छु । मैले किरात लिम्बू इतिहास र संस्कृति तथा साँबाको वंशावली अध्ययन गर्ने क्रममा विविध ऐतिहासिक तथा मुन्धुम अध्ययन गरें । सोही आधारमा निष्कर्ष निकालें र थप जिज्ञासा र परिकल्पना जन्मिएका छन् । त्यसमध्ये सान्दर्भिक केही टिप्पणी यहाँ राख्न चाहन्छु । स्मरण रहोस्, यो कुनै आग्रह वा पूर्वाग्रहबश गरिएको टिप्पणी नभएर विशुद्ध प्राज्ञिक मूल्य र मान्यतामा आधारित भनाइ हो । जसलाई मैले पुस्तक र विभिन्न लेखमा सविस्तारपूर्वक उठाइसकेको छु ।

तुङदुङ्गे मुन्धुम तथा चङबाङ साँबा पोङ मुन्धुम अनुसार कोशीबराहक्षेत्र, धनकुटा, संखुवासभा अरुण बरुण क्षेत्र सभापोखरी, गोर्जाटार, मैवाखोला, मेवाखोला, तम्बरखोला, सोबुवाखोला, चुङ्वाखोला, खुवाखोला, खड्कुँडे पुल, नुबुघाट, सिम्राघाट साँबा पुर्खाका क्रिडास्थल हुन् । यसैले ती स्थलमा साँबा जातिको रक्तअनन्या गाँसिएको देखिन्छ । यस क्षेत्रको विशाल टार गोर्जाटार मुन्धुमी स्थल मात्र नभएर भौगोलिक विशेषतयायुक्त स्थल पनि हो । यही क्षेत्र भएर धनकुटा हुँदै ताप्लेजुङ बाटो जान्छ । यहाँ अघि ताप्लेजुङ सदरमुकाम नजिक सुकेटारमा विमानस्थल बन्नअघि ताप्लेजुङ, तेह्रथूम, मादी संखुवासभालाई पायक पर्ने गरी गोर्जाटार विमानस्थल बन्ने अरे भनेर हामी बाल्यकालमा हल्ला सुन्दथ्यौं । तर यस भौगोलिक विशिष्ठतालाई पैरवी गर्ने जनप्रतिनिधि नभएर वा कुरा बिक्ने मानिस नभएकाले गोर्जाटारको भाग्यमा विमानस्थल परेन । उता सुकेटारमा तत्कालीन राष्ट्रिय पंचायत सदस्य विष्णु मादेनको जग्गा पर्ने भएकाले तत्कालीन नोकरशाहीले पनि शक्तिकै तावेदारी गरेको तथा जिल्ला सदरमुकामवासीलाई पनि नजिक पर्ने जस्ता कारण देखाए । पछि सुकेटारको भित्तो खन्न वर्षौं लागे पनि त्यहाँ सानो विमानस्थल बनाइयो । जबकि गोर्जाटारमा विमानस्थल बनाइएको भए सम्याउने वा खार्ने त्यत्रो साधन स्रोत नलाग्ने थियो । प्राकृतिक रुपमा गोर्जाटारको मौसम सुकेटारमा जस्तो जहिलेसुकै कुहिरो नलाग्ने थियो । सुकेटारमा मौसम खराबीले उडान रद्द गर्नुपर्दैनथियो । दूरीकै कुरा गर्ने हो भने खोटाङ सदरमुकाममा एकदिनको दुरीमा लामिडाँडा विमानस्थल छ । स्थानीय इन्जिनियरको पहलमा त्यहाँ विमानस्थल बनेको रहेछ । हामीकहाँ त्यस्तो भाग्य रहेन । अहिले सुकेटार विमानस्थल फराकिलो पार्न उति नमिल्ने, भित्तो खारे पनि खर्चिलो हुने, कुहिरो लागेर प्रायः उडान रद्द भइरहने उक्त सुकेटार विमानस्थललाई ताप्लेजुङवासीको हवाइ भाग्य सुम्पन विवश छौं । चुहाण्डाँडामा बिमानस्थल बनाउने आठराईवासीको ६ दशकभन्दा पुरानो सपना त्यहीँ जन्मेका केपी ओलीको प्रधानमन्त्रीत्वकालमा हाल शिलान्यास भयो, र सपना साकार हुँदैछ । आखिर मानिसको चाहना र आवश्यकतालाई समयले पूरा गर्दो रहेछ ।

अब म चाँगे र हाङपाङका केही लिम्बू जातिको मुन्धुमी र ऐतिहासिक विश्लेषणतिर लाग्छु । चाँगे गाउँको दक्षिणमा सोबुवा खोलाको शिर छ । त्यो क्षेत्रमा हाल पनि साँबा र श्रेङ जातिका लिम्बू बसोबास गर्दछन् । यी जातिका लिम्बू सोबुवा खोलावारि हाङपाङमा पनि बसोबास गर्दछन् । अर्थात् सोबुवा खोलाको वारिपारि हालको हाङपाङ र चाँगे गाउँमा श्रेङ र साँबा लिम्बू बसेका छन् । किरात इतिहास अनुसार यी जातिका लिम्बू मैवाखोला, मेवाखोला, तम्बरखोला क्षेत्रमा दश लिम्बुवान गठनअघि अर्थात् छैटौ शताब्दीपूर्व मेवाखोला, तम्ब।खोला क्षेत्रमा बसोबास गर्दथे । त्यसबेला तम्बरखोला क्षेत्र आसपास क्षेत्रलाई लिम्बुवानको केन्द्र मानिन्थ्यो । यी किरात जाति अघि कोशीबराहक्षेत्र मार्गबाट तम्बरखोला हुँदै तम्बरखोला, मेवाखोला, मैवाखोला वा आठराई क्षेत्रमा आएको मुन्धुम र इतिहासले बताउँछ । तर यो क्षेत्रलाई उसबेला नून लगायत लत्ताकपडाका लागि पटना, बंगाल जानभन्दा खासा, ल्हासा तिब्बत जान सहज थियो । तराई क्षेत्रमा फैलने औलो रोगका कारण हिमालय क्षेत्र नेपाल भारतको गंगामैदानबीच आवतजावतमा धेरै व्यवधान थिए । त्यसबेला मानिस अहिले विहार, उत्तरप्रदेशमा रोटीबेटीको सम्बन्ध भनेझैं मध्यकालसम्म अत्यावश्यकीय सामग्री नून, लत्ताकपडा लिन तथा विहेवारीका लागि किरात लिम्बुवान र तिब्बतबीच रोटीबेटीकै सम्बन्ध देखिन्छ । ।

किरात इतिहासअनुसार सोबुवा शब्दले समूहको सरदार भन्ने जनाउँछ ।इतिहासकार इमानसिंह चेमजोङअनुसार यो शब्द अघि किरातका पूर्वज बर्मामा रहँदा प्रयोगमा थियो । किरात लिम्बू समुदायमा सबा साम्माङ मुन्धुम छ । सबा भनेको किरात लिम्बूका पुर्खा हुन् । यसैले सोबुवा, सबा शब्द किरात मुन्धुमसित गाँसिएका शब्द हुन् । साँबा चङबाङ पोङ मुन्धुमअनुसार श्रेङ साँबाका पुर्खा हुन् । हुन पनि श्रेङ, साँबा लिम्बू छैटौं शताब्दीपूर्व किरातकालीन रैथाने जाति हुन् । चङबाङ त्यसपछि उद्भव भएको उपथर हुन् । अग्ला अग्ला ठाउँमा घर बनाएर बस्ने जातिलाई चङबाङ भनिन्थ्यो । उनका दरसन्तान तथा यस्तै स्वभावका मानिसको समूह विभिन्न चङबाङ भएका हुन् । यी मध्येका एक चङबाङ र विभिन्न साँबाको उद्भव आजभन्दा करिव ५०० वर्षअघि मेवाखोला साँबामा भएको वंशावलीले बताउँछ ।

हामी भोट र भोटे शब्दलाई तिब्बतबोधक पराय शब्द देख्दछौं तर मुदेन, भोटको शाब्दिक अर्थ मातृभूमि हो अर्थात् उहिलेदेखि बसोबास गर्दै आएका आदिवासीलाई भोट–बर्मेली भाषामा मुदेन, मादेन वा भोट, भोटे भनिन्छ । उनीहरुलाई तिब्बती मूलका भनेर संस्कृत नजरले मात्र हेर्न मिल्दैन । यसैले मादेन विभिन्न थरका लिम्बूमा भेटिन्छन् । यो शब्दले आदिवासी जाति झल्काउँछ । हाङपाङ र चाँगे गाउँका सोवुवा वारिपारि मादेन थरका श्रेङको बसोबास छ । किरात लिम्बू इतिहास तथा वंशावली अध्ययनको अधारमा चाँगे सोबुवा (वारिपारि) क्षेत्रका श्रेङ, साँबा त्यस क्षेत्रमा रैथाने किरात जाति हुन् भन्ने बुझिन्छ ।

अब चाँगे गाउँमा आङबुहाङ थरका लिम्बूको आगमन कहिले भयो भनेर किरातकालीन इतिहासले प्रष्ट बोलेको छ । इतिहासकार इमानसिंह चेमजोङको किरातकालीन विजयपुरको इतिहासअनुसार विजयपुरका राजा कामदत्त सेनको शासनकाल (वि.स. १८१८– १८२६) मा सेच्छेने सेनेहाङ वंशका किरात योङहाङले याङरुपमा शासन गरिबसेका आङ्बोहाङका सुब्बा मुहाङ्गेपलाई हस्तपुर गढीमा आक्रमण गरी लडाईमा पराजित गरिदिए । उक्त लडाईमा बाँचेका आङ्बोहाङ कोही थेचम्बूमा गइबसे र त्यहाँ मेन्याङ्बो थरका लिम्बूमा उद्विकास भए । कोही आङ्बोहाङ आठराई थूमको चाँगेमा आएर बसे । मुहाङगेपहाङका टुहुरा बालक लाहाङ र हाङसामलाई कामदत्त सेनका रानी थाङ्सामाले विजयपुर दरवारमा लगि टुहुरा भदैहरुको संरक्षण गरिन् । पछि उनले हाङबाङबासीसित समन्वय गरी हाङसामाका भदै दुई भाइ आङबुहाङलाई हाङपाङमा पुनस्र्थापना गरिदिइन् । किरात इतिहासअनुसार चाँगे र हाङपाङमा आङबुहाङको पुनस्र्थापना १९ औं शताब्दीमा भएको हो ।

यसरी हाल चाँगे र हाङपाङमा बसोबास गर्ने आङबुहाङ १९ औं शताब्दीमा पाँचथर याङरुपबाट युद्धमा योङहाङद्वारा विस्थापित भइ हालको आठराई थूममा पुनःस्थापित भएका किरात लिम्बू जाति हुन् । संभवतः यही इतिहासको प्रभावले पनि यो परिवार हाल राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील देखिन्छन् । करिव अढाइ शय वर्ष पुरानो आङ्बुहाङ परिवारको चाँगे आगमनसम्बन्धी ऐतिहासिक प्रमाण चाँगेमा भेटिन्छन् ।

मैवादोभानबारे धेरैले सुने जानेका छन् । यो व्यापारिक केन्द्र तथा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको दोभान चाँगे गाउँमा पर्दछ । यही मैवादोभानमा नेवार जातिको बसोवास छ । त्यहाँका नेवारमध्ये ताल्चा भण्डेल भक्तपुरबाट आएका हुन् । ताल्चा भण्डेल वंशावली (२०७२) अनुसार भादगाउँ अर्थात् भक्तपुरको भोलाछें र याछें टोल निवासी ताल्चाभण्डेल अघि जयस्थिति मल्लको पाला (वि.सं. १४३७ देखि १५४२ सम्म) दरबारमा भण्डारे थिए । दरवारिया जागिरलाई पछि उनीहरुद्वारा थरको रुपमा धारण गरियो । शाहले मल्ल राजालाई हटाएपछि मल्ल दरवार चिल्लबिल्ल भयो । भक्तपुरमा शाहकालीन शासन आरम्भभएपछि रैथाने र आगन्तुकबीच भएका द्वन्द्वका कारण सन् १७९८ (वि.स. १८५५) मा ताल्चाभण्डेलको एक हाँगो उपत्यका नाघेर पूर्व लाग्यो । तिनीहरु घुम्दै सुदुर पूर्वको हिमाली जिल्लामा रहेको व्यापारिक केन्द्र मानिएको मैवादोभानमा पुनःस्थापित भए । यही मैवादोभान पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ (ताल्चा भण्डेल) र प्रजातान्त्रिक नेता लक्ष्मीप्रसाद श्रेष्ठ (ताल्चा भण्डेल) को जन्मस्थल हो ।

चाँगेमा खस, आर्य समुदायको पनि बाक्लो उपस्थिति छ । आदिवासी जनजाति र विभिन्न जातजाति मिलेर बनेको समाज छ । गाउँ, ठाउँ र समाजको विकासमा जनता जुटेका छन् । जिल्ला, प्रदेश र राष्ट्रको उन्नतिमा यो गाउँको भूमिका महत्वपूर्ण छ । आठराई त्रिवेणीमा पर्ने चाँगेले सदरमुकाम हाङपाङलगायत फूलबारी र निघुरादिनसित काँधमा काँध मिलाएको छ । संघियतासितै आएको नयाँ प्रशासनिक संरचना र व्यवस्थाले त्यहाँका जनतालाई नजिक ल्याएको छ ।

यति हुँदाहुँदै पनि आठराई चाँगेको आफ्नो मौलिक इतिहास र विशेषता छन् । चाँगेलाई किरात लिम्बू भाषामा चाङ्ग्या, चाँया भनिन्छ । किरात राई र लिम्बू शब्दकोशले चायुङ भनेको चामल छ भन्ने बुझाउँछ । किरात राई शब्दकोशअनुसार चायाङ्दिवा भनेको पितृस्थल हो । किरात लिम्बूको शब्दकोशले चाँया भनेको कपालमा पर्ने चाँया (तघेक्) जनाउँछ । यसरी भाषाशास्त्रले यो चाँगे गाउँलाई धान फल्ने स्थान, पितृस्थल तथा कपालमा चाँया परेझैं त्यहाँ विभिन्न कालखण्डमा जनसमुदाय आएर/पलाएर बसेको भूमि भनी सङ्केत गर्दछ । यसबारे थप अध्ययन गर्न सकिन्छ ।

जेहोस्, यसको विगत र वर्तमान सोबुवाखोला र तम्बरखोलाझैं गतिशील छन् । चाँगेको भूगोल हेर्दा जति सुन्दर छ, गाउँको भविश्य पनि उत्तिकै आशलाग्दो छ । मनको आकासमा सूर्यचन्द्रझैं झुल्किरहने चाँगे गाउँलाई मेरो धेरै श्रद्धा, माया र शुभकामना छ ।