(साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता)

प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ?
उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत रहेको बेलामा भइरहने साहित्यिक प्रतियोगितामा निबन्ध, गीत, कवितातर्फ पुरस्कृत हुनुले पनि मलाई लेखनमा थप प्रोत्साहन मिल्यो ।

प्रश्नः साहित्य किन लेख्नु हुन्छ?
उत्तरः सकेसम्म जीवन र जगतलाई उज्यालो बनाउन, पाठकलाई खुशी पार्न, आत्मप्रकाशन गर्न र अभिलेखन गर्नलाई म साहित्य लेखिरहेछु । हुन त मभित्र चेतना पसेपछि नै साहित्यको सेवा गर्नुपर्छ भन्ने भावको बिजारोपण भएको थियो । अघि भनेझैं विद्यार्थीकाल देखि नै सिर्जना गरेता पनि आजसम्म म निरन्तर साहित्यको अध्ययन र सिर्जनामा अभ्यासरत छु । कहिलेकाहिँ छक्क पर्छु, फूर्सद नहुँदा अथवा इच्छा नहुँदा नहुँदै पनि बाध्यतावश सिर्जना गरिरहेछु ।

प्रश्नः साहित्य लेखेर के पाउनु भयो?
उत्तरः साहित्य लेखन मेरो पेशा होइन । त्यसैले मैले साहित्य क्षेत्रबाट केही पाउने आशा राखेको पनि छैन । मैले यो क्षेत्रलाई सकेको दिएको छु । तर यस क्षेत्रबाट मैले सोचेभन्दा धेरै पाएको छु । पाठकहरूबाट पाएको मायालाई नै मैले सर्वोत्कृष्ट पुरस्कारको रूपमा लिएको छु ।

प्रश्नः यहाँको लेखनको समय? कुन समयमा लेख्नु हुन्छ?
उत्तरः लेख्नलाई आफूभित्र र बाहिरको वातावरण शान्त हुनुपर्ने रहेछ । यसैले म प्रायः विहान लेख्ने गर्दछु ।

प्रश्नः आफ्नो लेखनयात्रामा कुनै अवरोध वा समस्या आएको छ कि छैन?
उत्तरः किन नआउनु नि ! प्रसस्तै आएका छन् । पहिलो कुरो त लेख्ने स्वतन्त्रता हुनुप¥यो । यसपछि रचना प्रकाशन गर्नलाई सम्पर्क चाहियो । अनि कृति प्रकाशन गर्नलाई आर्थिक स्वतन्त्रता हुनुप¥यो । अनि अर्को महत्वपूर्ण कुरो जुन कृति प्रकाशित गर्न लागिएको छ त्यो परिस्कृत हुनुप¥यो यसको लागि सर्जक स्वयम् ज्ञाता, अनुभवी र परिपक्व पनि हुनु प¥यो । यी कारणहरूले गर्दा म कृति प्रकाशन गर्न अलि ढिलो भएँ, अब भने ती समस्याहरूलाइ उछिनेर अघि बढ्ने प्रयत्न गर्दैछु ।

प्रश्नः आफूले लेखेको मध्ये सबैभन्दा मन परेको रचना र मनपर्ने कारण?
उत्तरः कतिपय रचना लेख्दा म स्वयम् आँशुमा डुबेको छु । ती रचनाले कतिपय पाठकलाई पनि भावविभोर बनाएका होलान् । हुन त मैले सबै राम्रै लेखें जस्तो लाग्दथ्यो तर मैले लेखेको एउटा रचना पढेर धेरै पाठकहरूले स्यावासी र हृदयदेखि नै आशिर्वाद पाएको छु । त्यो रचना हो— “श्रद्धाञ्जली एउटी लिम्बूनीलाई” निबन्ध । लाग्दछ, त्यो निबन्धकी पात्र आज यो लोकमा छैनन् र मैले दिएको श्रद्धाञ्जली खेर गएको पनि छैन । उनले मलाई बाल्यकालमा दिएको याङ्बेन, छ्यापी र रामभेंडाको अचार, दुम्सेकुखुराको प्वाँखको अचारको बदलामा एउटा रचनाले पैंचो तिरिन्दैन, तापनि यसको रचनागर्भ आज सम्झँदा निबन्ध पढ्ने पाठक जस्तै म पनि अझै एकसाथ भावबिभोर हुन्छु ।

प्रश्नः नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ?
उत्तरः खेलको मैदानमा छु र म एउटा खेलाडी जस्तै हुँ । कुनै खेलाडीले खेलको र कुनै साहित्यकारले समग्र साहित्यको मूल्यांकन गर्नु त्यत्ति सहज र स्वभाविक होइन । तैपनि म आशावादी र सकारात्मक दृष्टिले हेर्ने मान्छे भएकाले समष्टिमा भन्छु— हिजो भन्दा आज र आजभन्दा भोली नेपाली साहित्यको श्रीवृद्धि भएको छ र भइरहनेछ । सिद्धान्तहरूका छाया, वादहरूका दाग, गुटवन्दीको मसी नेपाली साहित्यको विशेषता भएको छ । तर असली साहित्य र प्रतिभावान स्रष्टाहरूलाई कुनै दिन समय र इतिहासले उजागर गर्नेछ ।

प्रश्नः नेपाली गीत, कविता, गजल,निबन्धमा कलम चलाउनु हुन्छ, तपाईलाई के भनेर चिन्ने?
उत्तरः पाठकले मलाई जसरी चिन्छन् त्यही नै मेरो पहिचान हो ।

प्रश्नः हाल के लेख्दै हुनुहुन्छ?
उत्तरः जे फुर्छ उही दिप्दैछु– कहिले कविता, कहिले गीत अनि कहिले निबन्ध होला कि भन्दै ।

प्रश्नः साहित्यकारहरू अरूका कृति र रचना अध्ययन गर्दैनन् भन्ने आरोप छ नि?
उत्तरः सही कुरा हो । म पनि सबै साहित्यकारहरूका सबै कृति पढ्न भ्याउँदिन । संसार एउटा विश्वविद्यालय हो, किताव मात्र सबै कुरा पनि होइन, पढेर भन्दा परेर जानिन्छ भन्ने कुरामा पनि म उत्तिकै विश्वास राख्छु ।

प्रश्नः नयाँ कृतिको तयारी बारे केही बताइदिनु हुन्छ कि?
उत्तरः अब मेरो प्रकाशोन्मुख साहित्यिक कृति निबन्धसङ्ग्रह हुनेछ । मेरो बाल्यकाल, जन्मस्थानको बारेमा सम्झनास्वरुप लेखिएका संस्मरणात्मक निबन्धसङ्ग्रहलाई म मेरो जन्मस्थानमा अर्थात् हाङपाङ गाविस ताप्लेजुङमा नै विमोचन गर्न चाहन्छु । हेरौं मेरो त्योे रहर पुरा होला कि नहोला । साथै गीति एलवमको पनि तयारीमा छु ।

प्रश्नः कार्यालय प्रमुख भएकोमा सन्तुष्ट हुनुहुन्छ कि साहित्यकार?
उत्तरः म कर्म र सिर्जनामा विश्वास राख्दछु । मेरो पेशाले मलाई रोजीरोटी दियो, देशको सेवा गर्ने अवसर पनि दियो । कार्यालय प्रमुख भएर मैले सिकेका ज्ञान र अनुभव अनि प्राप्त गरेका कतिपय विशिष्ट अनूभूतिले मलाई साहित्य सिर्जना गर्न थप उर्जा दिएको पनि छ । धेरैजसो समय पेशागत कर्तव्यपालनमा बिते पनि यसले मलाई फराकिलो भएर सोच्न, लेख्न र हिंड्न पनि सिकाएको छ । त्यसैगरि साहित्य स्वयम् बृहद क्षेत्र हो जहाँ जोकोही अँटाउन सकिन्छ । यसरी यी दुवै क्षेत्र एकअर्काका परिपूरक भएकाले मलाई यी दुवै क्षेत्रबाट उत्तिकै सहयोग र सन्तुष्टि पनि मिलेको छ ।

प्रश्नः आगामी साहित्यिक योजना के छ?
उत्तरः मेरा केही कृति उपर अनुसन्धान भइसकेका छन् र कतिपय कृतिहरूको अनुसंधान भइरहेको छ, तिनलाई अभिलेखन गर्ने जिम्मेवारी पनि थपिएको छ । विभिन्न संचारमाध्यमबाट प्रशारित अन्तर्वार्ता र विचारहरू भएका सामग्रीहरूलाई एकिकृत पारेर अभिलेख तयार गर्ने काम पनि बाँकी नै छ । यसमा कौसलराज सुब्बाले काम गर्दै हुनुहुन्छ, जो समय आएपछि क्रमसः www.nrsubba.com.np बाट प्रकाशित हुनेछन् । यसै क्रममा कवितावाचन, टेलिभिजन अन्तर्वार्ता, म्यूजिक भिडियो आदि संग्रहित भएको भिडियो “नवराज सुब्बाको प्रतिबिम्ब भाग– २ श्रव्य–दृष्य अभिलेख” असोजमा विमोचन गर्ने योजना छ ।

Disagree with the Evaluation Process
मन

Leave a Comment