तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा)

म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं । वर्षेनी आठराइ सक्रान्तिमा एस.एल.सी. परीक्षा दिदै गरेका हामी सरस्वती मा.वि.का विद्यार्थीहरुले २०३३ सालमा ताप्लेजुङमा गएर एस.एल.सी. दियौं ।
म सम्झन्छु वि.स. २०३१ साल र स्व. तुलसी लामिछानेलाई जो जिल्ला पंचायत तेह्रथूमका सभापति हुनुहुन्थ्यो । जसले मलाई पूर्वाञ्चलव्यापी विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा विजयी हुँदा मलाई स्यावासीका साथमा पदक भिराइ दिनु भएको थियो । तत्कालीन जिल्ला पंचायत भवनको मास्तिर डाँडामा निर्मित स्थायी मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । पदक पाएपछि मैले म्याङलुङ बजार परिक्रमा गरें बेनु चुडालसर सँगै । पछि सभापति तुलसी लामिछाने एकपटक सरस्वती मा.वि. हाङपाङमा आउनुभो, हामी विद्यार्थीहरू पंक्तिवद्ध भएर हातमा फूल लिएर स्वागत गर्दै थियौं मेरो छेऊमा आएपछि मैले पनि वहाँलाई फूलका गुच्छा दिएर स्वागत गरें । विद्यार्थीको त्यत्रो हुलमा पनि उहाँले मलाई चिन्नुभो र नाम लिएर बोलाउनु भो । मलाई त्यसबेला अत्यन्तै गौरवको महसूस भयो । पछि रेडियोमा, पत्रपत्रिकामा र हल्ला सुनें- तुलसी लामिछानेले त खोरुङ्गा खोलामा हाम्फालेर आत्महत्या गरे रे । मलाई त्यसबेला देखि आजसम्म पनि त्यो कुरा पत्याउन मन मानिरहेको छैन आखिर किन उनले आत्महत्या गर्नुपर्‍यो । आज पनि तेह्रथूमका उनका समकालीनहरूलाई यस्तै जिज्ञासा राख्दै आएको छु ।
निबन्ध लेखेर विद्यालय स्तरमा रेडियो नेपालको बाल कार्यक्रममा पनि विजयी भएको थिएँ । यसरी मलाई निबन्ध लेख्न सिकाउने र हौसला दिने मेरा गुरु प्रल्हादकुमार प्रसाइ हुनुहुन्छ । वहाँसंगै तेह्रथूम म्याङलुङ बजारमा गएर सरस्वती मावि हाङपाङको प्रतिनिधित्व गर्दै निबन्ध प्रतियोगितामा लेख्न बसें र वादविवाद प्रतियोगितामा पनि सहभागी भएँ । अहिले सम्झन्छु, म निबन्ध लेख्न बस्दा सिंहवाहिनीमा अंग्रजी विषय पढाउने शिक्षक भरत दाहालसर मेरो छेऊमा आउनु भयो र मलाई धाप मार्दै कानमा खुसुक्क भन्नु भो- ‘तिमी नै हौ हाङपाङका फष्ट ब्याव’ भनेर । पछि सुने, उहाँको मानसिक सन्तुलन बिग्रियो रे । मलाई अझै जिज्ञासा उठ्छ जो त्यसबेला दार्जिलिङबाट अंग्रेजीमा स्नातक गरेका त्यस्ता होनहार अंग्रेजी शिक्षकलाई त्यस्तो के पर्‍यो र मानसिक सन्तुलन गुमाउनु पर्‍यो ? मेरो मनै मान्दैन त्यसैले सायद तेह्रथूमका जोकोही उनलाई चिन्ने मानिस भेट्दा यही सवाल अझै तेर्‍स्याउनु गर्दछु ।
म सम्झन्छु, नारायण सुबेदीलाई । वहाँ अत्यन्त सुरिला लोकगायक साब्ला निवासी शिक्षक हुनुहुन्थ्यो । ‘बाबा र ज्यूको नि हौ टाहारी खेत जोरजोरै समाहा चट्टै रानी रुमालमा…’ उहाँको गाएको यो गीत त्यसबेला रेडियो नेपालमा खूबै बज्दथ्यो । अनि वहाँले नै संकलन गरेको तिरीमा तिरी नी मुरली बज्यो, बज्यो मुरली झिरैले खोपेको बज्यो मुरली, कैलै र पनि बिर्सने छैन बज्यो मुरली हाँसेर बोलेको बज्यो मुरली’ यो गीत हामीले पनि विद्यालयमा गायौं, नाच्यौं । हामी विद्यार्थीहरू रेडियोमा त्यस्ता गीत गाउने मान्छे अर्थात् रेडियोमा नाम आउने मान्छे कस्ता होलान् भनेर अचम्म मान्दै उनको मुहार नियाल्थ्यौं । एकपटक उनै नारायण सुबेदीले हामीलाई दर्जीको दमाहा व्यवस्था गरिदिनु भयो । तेह्रथूम जिल्लास्तरीय पी.टी. प्रतियोगिताको लागि । अरु विद्यालयहरूले सीटी फुक्दै पी.टी. खेले । जब हाम्रो हाङपाङको टोलीको पालो आयो दमाहा ठोक्दै बेनुसरले पी.टी. सुरु गरेपछि हाम्रो पी.टी. हेर्न म्याङलुङबजार सोरसार टुँडिखेलमा ओर्लियो । हामी पहिलो भयौं । सायद यही दमाहाले गर्दा पनि पहिलो भयौं होला । स्टुडेण्ट सपदेखि अलि परतिर अजाको होटल थियो जहाँ हामी विद्यार्थीहरू खाना खाने तथा बास बस्दथ्यौं । अजा हारमोनियम बजाउँदै मीठो गाउनु हुन्थ्यौ । वहाँकी बुहारीले खानासित कागती, बयर, खल्पीको मीठो अचार दिनुहुन्थ्यो । किन हो किन सारै मीठो लाग्दथ्यो मलाई होटलको खाना, उसबेला मुखै फेरिन्थ्यो ।
यसरी म हाङपाङको सरस्वती मा.वि.को विद्यार्थी भए पनि विद्यालयको उठबस, हासखेल सबै तेह्रथूमको सिंहवाहिनी मा.वि., आठराइ सक्रान्तिको त्रिमोहन मा.वि. र आठर्राईकै मदन मेलामा आयोजित विभिन्न प्रतियोगिताहरूमा धाउँदा धाउँदै बित्यो । एकान्तमा विचार गर्दछु, आज मेरो नागरिकतामा जन्मस्थानमा हाङपाङ, ताप्लेजुङ लेखिएको भए पनि मेरो हृदयमा तेह्रथूमकै गहिरो छाया र माया छ । सायद यसैले पनि होला मैले तेह्रथूम जिल्लाका स्वास्थ्यसंस्थाहरूमा करिव ५/६ वर्ष सेवा पनि गरेको छु ।
आज म सहपाठी गोपालकृष्ण सिवाकोटी ‘चिन्तन’ लाई पनि सम्झन्छु । उनी त्रिमोहन मावि आठराइ सक्रान्तिका प्रतियोगी, म हाङपाङ सरस्वती माविको प्रतियोगी । हामी लगायतका विभिन्न विद्यालयका विद्यार्थीहरुले ‘गाउँले जीवन र सहरीया जीवन’ विषयमा वादविवाद प्रतियोगिता गर्‍यौं । त्यसबेला गोपालजीले भनेको एउटा कुरा म कहिल्यै भुल्दिन- ‘सहरियाहरु बाहिर बाहिर टाइफिटिङ भित्र भने जुम्राको मिटिङ’ । आज म पनि सहरिया भएको छु । बेलाबेला यही कुराले मलाई घोच्ने गर्दछ । केहि महिना अघि धेरै वर्षो अन्तरालमा वहाँसंग काठमाडौं एयरपोर्टमा भेट भएको थियो । त्यसबेला वहाँले भावुक बन्दै मसित भन्नु भो- ‘नवराजजी, हामीले सिक्ने कुरा विद्यालयमा नै सिकेछौं, पछि त त्यही कुरा विस्तारित मात्र गर्‍यौ’ । वास्तवमा मलाई उनको कुरा सही लाग्यो ।
ठिक अहिले त्यही तेह्रथूममा तेह्रथूम महोत्सव चलिरहेछ । त्यहाँबाट निम्तो नआएको पनि होइन । निम्तो नै नपाए पनि जान पर्ने हो । कति बाँधिएको छ जीवन, कति स्वार्थी भयो मन । निस्वार्थ कतै हिंड्नै मन नलाग्ने गरी जीवन कूँजो भएको छ मेरो पनि । मलाई धिक्कार लाग्छ कहिले काहिँ आफ्नै जीवन सम्झेर । आफू खेलेको हुर्केको ठाउँको दुःखमा त साथ दिइएन, सुखमा पनि साथ दिन सकिएन भनेर । तैपनि, तीनजुरे जस्तै अटल छ तेह्रथूम तिम्रो माया, लालीगुराँसको रङ्गझैं पवित्र छ म्याङलुङ ! तिम्रो मोह !

Similar Posts

  • |

    झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा

    डा. नवराज सुब्बा । परिचय नेपालको खस भाषालाई नेपाली भाषा भनिन्छ । यो भाषा नेपालको सम्पर्क भाषा हो । सुन्दा हिन्दीझैं लाग्‍ने यो भाषालाई कतिपयले पहाडी हिन्दी भाषा पनि भन्दछन् । यसरी नेपाली भाषालाई पहाडी हिन्दी भाषा भनेको नेपालका केही भाषाशास्त्रीलाई मन परेन । उनीहरुलाई थाहा थियो संस्कृत, उर्दु, हिन्दी, नेपाली खस आदि भाषा भारोपेली…

  • |

    आत्मासितको साक्षात्कार रहेछ कविता

    डा. नवराज सुब्बा । जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • सहिद सत्ता र स्वार्थ विरुद्ध

    डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

Leave a Reply