भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा

आस्थाको आकाश
हिजो खसेकै थियो
टेकेको धरती धस्यो आज
घामपानी छेक्ने घरहरू पनि
भूकम्पसितै नाच्यो जब हामीमाथि
एक मूठी स्वास फेर्न नपाएर
उडे धेरै आत्माहरु कतै
अरू पनि ढले यसबेला
इतिहासका थुप्रै धरहराहरू
ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

अब, खण्डहरमा रुपान्तरित वस्तीमा
प्रेमपूर्वक खोस्रदा केटाकेटीले भेटुन्
तिनका कापीकिताब र कलमहरू
परदेशी सन्तान फर्की आउँदा
भेटुन् बाआमाका तस्वीर
आँशु ओभाउन् खुलुन् अवसरका आँखा
अनि मिलेर गरौं अब यस्तो संकल्प
हटाऔं जुटेर चुनौतीको भग्नावशेष
र ठडाऔं अब नयाँ घर
उठाऔं सिंगो आकाश
बनाऔं साझा देश
नबिर्सौं हाम्रा मनमा
अझै ढलेको छैनन्
स्वाभिमानका धरहराहरू
मुटुमा अझै हिलेको छैनन्
पौरख र गौरवका हिमालहरू
बिछोडिएका आत्माको शान्ति खातिर
हृदयमा श्रद्धाको दियो बालेर भन्छौं
हामी नेपाली जहाँ रहे पनि
ज्यूँदो छौं अवम्बरी भई
सदा ज्यूँदो रहनेछौं ।

Similar Posts

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…